बिबिध

‘कर्णाली आऊ डाक्टर बनेर जाऊ’

नरेश भण्डारी

आकाश रोएझैं देखिन्थ्यो, ठूलै शोकमा ! लाग्थ्यो, जुम्लाले भारतको चेरापुन्जीलाई माथ गर्न खोज्दैछ ! पोस्टमोर्टम विना दाहसंस्कार गर्न पाइएको थिएन । शव सडेर दुर्गन्धित भएको थियो । यो कारुणिक दृश्यले उपस्थित सबको मन रुवायो ।

यो पहिलो हृदयविदारक दृश्य थिएन । सामान्य उपचार समेतको अभावमा बिरामी छट्पटाइरहन्थे । जहाजको टिकट अभावमा कतिपय बिरामीको एअरपोर्टमा नै मृत्यु हुन्थ्यो भने कतिपयको डोकामा बोक्दा बोक्दै । निष्कर्षमा पुगें, असाधारण कदम विना कर्णालीको दयनीय स्वास्थ्य समस्याको समाधान सम्भव छैन । प्राविधिक विषयको उच्च शिक्षाको ढोकासम्म सीमित कर्णालीवासीको पहुँच थियो भने उच्च स्वास्थ्य शिक्षाको अवसर करीब करीब बन्द थियो ।

बिरामीहरू जिल्ला अस्पताल यस अर्थमा पुग्थे कि जसले सिफारिश गरेमा हवाईजहाजको टिकट पाउन सहज हुन्थ्यो । नयाँ जीवन पाइने आशले होइन । एमबीबीएस डाक्टर समेत जिल्लामा बस्दैनथे । विशेषज्ञ डाक्टर त कल्पनामा मात्र !

सोचें, यसको विकल्प किन नखोज्ने ? त्यसपछि सम्भावनाको गर्भमा हुर्कन थाल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानरूपी अण्डा ! भरोसा गरेका केही राजनीतिज्ञ तथा विज्ञहरूले सम्भव हुँदैन भन्ने राय दिए । म अलिकति हच्किएँ । तर, विचलित भइनँ । मेरो सङ्कल्पलाई झिनामसिना बाधाले रोक्न सक्दैनथे । लक्ष्यमा पुग्न कहाँ पो सजिलो हुन्छ र !

मेरै नेतृत्वमा प्रतिष्ठान स्थापना पहल समिति बन्यो । सम्बद्ध पक्षको अनुमति तथा परामर्श पश्चात अन्ततः व्यवस्थापिका संसद सचिवालयमा विधेयक दर्ता गरें ! एक जना डाक्टर नबस्ने कर्णालीमा विश्वविद्यालयस्तरको संरचनाको प्रयत्न हुनुलाई थुप्रैले ठट्टा ठाने । प्रतिष्ठान स्थापना भएमा आत्मदाह गरिदिने घोषणा गरियो । सस्तो लोकपि्रयताको संज्ञा दिइयो । बकबास भनेर खिल्ली उडाइयो । तर उत्साहको दियोमा पानी खन्याउने मात्र नभई तेल थप्ने पनि भेटिए ।

बलबहादुर महत र मैले विधेयक पारित नभएमा आत्मदाह गर्ने उद्घोष गर्यौं  । पहल समितिका सदस्यहरूको भूमिका सकारात्मक रहृयो । यही विधेयकलाई नै सरकारी विधेयकका रूपमा अगाडि बढाउन सरकार मञ्जुर भयो । प्रतिष्ठानको जीवनमा यो अर्को फड्को थियो ।

असीमित खुशी भएँ । त्यस रात मस्त निदाएँ । सोच्न थालें- उडान त भरियो ! अवतरण कसरी हुन्छ ?

स्वास्थ्य मन्त्रालयको पत्र बोकेर शिक्षा मन्त्रालयतर्फ उत्साहका पाइला लम्काएँ । बाटो टुङ्गएिको हेक्का नै भएन । पत्र दौड कानून, अर्थ, शिक्षा मन्त्रालयमा निरन्तर चलिरहृयो । एकपटक होइन, पटक-पटक । कागजका खुट्टा हुँदैनन् भनिन्थ्यो, भोगाइले सत्य सावित गर्‍यो ।

परिस्थितिले कहिले रातो कार्पेट बिछ्यायो त कहिले रातो कार्ड देखायो । कहिले बेचैनीमा कोठा फर्कें, कहिले चरम उत्साहित भएर । अर्थ मन्त्रालयले फाइल बन्दी बनाएपछि सङ्घर्षको स्केल बढाउने सोच बन्यो । जुम्लाको डेलिगेसन टोलीले अर्थ मन्त्रालयमा दबाब दियो । अर्थको सहमति प्राप्त भयो ।

अन्ततः मन्त्रिपरिषद्बाट विधेयकले सैद्धान्तिक स्वीकृति पायो, १८ जेठ २०६८ मा  । प्रतिष्ठानको जीवनमा यो कदम ऐतिहासिक कोसेढुङ्गा साबित भयो ।

मन्त्रीहरूको फेरबदलसँगै चिन्ताको ग्राफ बढ्थ्यो । संविधानसभाको आयु घाँटीसम्म आइसकेको थियो । संविधानसभाको आयु हरेक तीन महीनाको किस्तामा थपिन्थ्यो । मिनेट-मिनेटलाई सदुपयोग गर्नै पथ्र्यो । पारित नहुँदा विधेयकको हविगत लुँडो खेले जस्तो हुन्थ्यो ।

राणा प्रधानमन्त्री देवशमशेरले तोकेको १०-५ को कार्यालय समय काफी अपुग लाग्न थाल्यो । शनिवारले विधेयकलाई स्थिर बनाइदिन्थ्यो । घडीको सुईले फन्को माथ्र्यो तर विधेयक भने जहाँको त्यहीं । शनिवार पनि त्रासदीका रूपमा आउन थाल्यो । लाग्थ्यो, शनिवार नआइदिए हुन्थ्यो !

स्वास्थ्य, शिक्षा, कानून र अर्थ मन्त्रालयको सहमति पश्चात मन्त्रिपरिषद्ले विधेयकलाई संसदमा पेश गर्ने निर्णय गर्‍यो । प्रस्तुत विधेयक उपर संशोधन प्रस्ताव दर्ता भएमा विधेयकको प्रक्रिया लम्बिन्थ्यो । विधेयकलाई समितिमा पठाउनु पर्थ्यो । जहाँ ४५ वटा विधेयक समितिमा थन्किएका थिए । तीमध्ये अधिकांश विधेयक तुहिएका थिए ।

तसर्थ, छोटो बाटोबाट विधेयक पारित गर्न संशोधन प्रस्ताव दर्ता नगर्ने विकल्पमा जान जरूरी थियो । सांसदहरूलाई अनुरोध गरेर संशोधन प्रस्तावलाई रोक्न संशोधन अवधिको (७२ घण्टा) कार्यालय समय विधेयक शाखा कुरेरै बसें । सफल पनि भइयो ।

अन्ततः विधेयक छोटो बाटोबाट संसदमा पेश भयो । मुटुको धड्कन बेजोडले बढ्यो । परीक्षाको नतिजा कुरेझैंको मनोदशामा थिएँ । आफैंलाई प्रश्न गरें, प्रयत्न कतै बालुवाको महल हुने त होइन ? संसदबाट विधेयक पारित भयो । पिछडिएको क्षेत्रका बासिन्दाका लागि व्यग्र प्रतीक्षित महान् ऐतिहासिक दिन थियो त्यो ।

मेरो सार्वजनिक जीवनको महान् उत्सव पनि । सेतै हिउँमा सेतै अप्रोनधारी चिकित्सक उत्पादन हुने कल्पनाले चरम रोमाञ्चित हुँदै विद्युतीय वेगमा कोठामा पुगें । संसदीय इतिहासमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पहिलो त्यस्तो विधेयक बन्यो जुन विधेयक सांसदले दर्ता गरेर त्यही विधेयकलाई सरकारले अपनत्व लिएर पारित गर्‍यो ।

उपकुलपति लगायत पदाधिकारीहरूको नियुक्ति भयो । देशकै विश्वविद्यालयस्तरका चार ठुला स्वास्थ्य प्रतिष्ठान मध्ये एक बन्यो कर्णाली प्रतिष्ठान ! कल्पें, कुनै दिन ‘कर्णाली जाऊ डाक्टर बनेर आऊ, कर्णाली जाऊ स्वस्थ बनेर आऊ’ को मान्यता स्थापित हुनेछ ।

१५ कात्तिक २०६९ मा प्रतिष्ठानको सेवा शुभारम्भ भयो । सहभागीहरूको मुहारमा छचल्किएको खुशीले आनन्दित बनायो ।

‘गरे हुन्छ’ भन्ने उदाहरण बनिदियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) !

स्थापनापश्चात् पनि मुलुकका अधिकांश उच्च पदस्थहरूले पत्याएनन् । मलजल गर्नमा विभेद गरिरहे । जसरी यसको जन्म असाधारण थियो, त्यसरी नै असाधारण संघर्षको प्रतिफलस्वरुप आजको अवस्थामा फड्को मारेको छ ।

स्थापनको झण्डै दशकपश्चात प्रतिष्ठान कर्णालीको भरोसा र मुलुकको आशा बनेको छ । यो संस्था परम्परागत विकास मोडलको विकल्प समेत बन्न सफल भएको छ । कोभिड-१९ विरुद्धको लडाइँमा नेपालका सीमित अब्बल संस्थाको पंक्तिमा आफूलाई उभ्यायो । शहरमा बिरामी पठाउने कर्णालीले डाक्टर पठायो । भन्यो, कोभिड विरुद्धको लडाइँमा हामी सुसज्जित छौं ! जीवन रक्षा गर्न सक्छौं ! प्रतिष्ठानले यो सन्देश शहरलाई पनि दियो ।

गर्वानुभुति हुन्छ, प्रतिष्ठानसँग अहिले ३०० शय्याको अत्याधुनिक शिक्षण अस्पताल छ । कम शुल्कमा जटिल शल्यक्रिया हुन्छ । १०० भन्दा ज्यादा डाक्टर प्रतिष्ठानमा कार्यरत छन् । दुर्गममा डाक्टर बस्दैनन् भन्ने मान्यताका विरुद्ध यसले घन बजार्‍यो ।

तीन विधामा विशेषज्ञ डाक्टर उत्पादन गराइरहेको छ । स्वास्थ्य विज्ञानका विभिन्न विधामा स्नातक र स्नातकोत्तर अध्यापन भइरहेको छ । हालै २० सिट एमबीबीएससहित विभिन्न पाँच विधामा स्नातकोत्तर र स्नातक तहमा १०० सिटमा चिकित्सा आयोगबाट अध्यापन अनुमति प्राप्त भएको छ ।

औधी खुशीको यो क्षणमा, प्रतिष्ठान स्थापनाको अभियानमा योगदान गर्ने प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, प्रतिष्ठान पदाधिकारी, कर्मचारी, चिकित्सक, विज्ञ, पहल समितिका सदस्य, कर्णालीवासी बुद्धिजीवी, स्थानीय बासिन्दाहरू स्मृतिमा ताजै हुनुहुन्छ । यो सानो आलेखमा उहाँहरूलाई समेट्न सम्भव भएन ।

सेतो हिउँमा सेतै अप्रोनधारी डाक्टरहरू उत्पादन गर्ने सपना सार्थक हुँदैछ ! आगामी दिनमा पनि प्रतिष्ठानलाई अब्बल बनाउन सम्बद्ध पक्षको योगदान रहिरहेमा सगौरव भन्न सकिनेछ, ‘कर्णाली आऊ डाक्टर बनेर जाऊ, कर्णाली आऊ स्वस्थ बनेर जाऊ !’ – अनलाइनखबर

(प्रतिष्ठानको परिकल्पनाकार भण्डारी नेकपा माओवादीबाट कर्णाली प्रदेशसभा सदस्य छन् ।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

देउवाले नै माफी मागेको गठबन्धन बैठकमा के भयो त्यस्तो कुराकानी?
साउनमा पनि कुखुराको मासुको मूल्य अचाक्ली महँगो
नेपालमा १३ लाख बढीले लगाए कोभिडविरुद्धको पूर्ण खोप (कुन प्रदेशमा कति)
सुदूरपश्चिममा आत्महत्याको डरलाग्दो अवस्था, ५ वर्षमा २६४५ जनाले देह त्यागे