अन्तरवार्ता / विचार

बीपी कोइरालाको अर्थशास्त्र

व्यक्तित्व : वि.प्र. कोइरालाको बहुआयामिक व्यक्तित्वको चर्चा कुनै पनि नेपाली राजनीतिज्ञभन्दा बढी नै गरिएको छ र लेखिएको छ। पछि पनि लेखिंदै जाला तर ती विवेचनामा उनको व्यक्तित्वको सर्वांग पाटो राम्ररी खुलेको पाइँदैन। केही प्रशंसकहरू उनलाई त्रिकालदर्शी र महामानव भन्ने गर्छन्। अर्कोतिर एउटा समूह यस्तो पनि छ, जसले उनको व्यक्तित्वलाई त्यतिसाहो महत्त्व दिँदैन। त्यसमा राजनीतिक पूर्वाग्रह राख्ने केही वामपन्थी जडसूत्रवादीहरू पनि पर्छन्। त्यसैले ती दुवै थरी पूर्वाग्रहीलाई महत्त्व दिन आवश्यक छैन। वि.प्र. कोइरालाले आफ्नो व्यक्तित्वको निर्माणको पृष्ठभूमि के थियो र त्यसको विकास कसरी भयो भन्ने विषयमा आफैंले विभिन्न माध्यमबाट प्रस्तुत गरेका छन्।

पहिलो स्रोत- जेलमा बन्दी बनेर रहँदा लेखेको किशोर अवस्थासम्मको ‘आफ्नो कथा’ नै हो। त्यस आत्मकथामा उनको पारिवारिक पृष्ठभूमि र बाल्यकालको वृत्तान्त पढ्न पाइन्छ, जुन निकै रोचक छ। दोस्रो स्रोत- उनी २०१६ सालमा जननिर्वाचित प्रधानमन्त्री हुँदा भारतीय पत्रकार अनिरूद्ध गुप्तालाई दिएको अन्तर्वार्ता हो। तेस्रो स्रोत- भारतको निर्वासनबाट स्वदेश फर्किनुभन्दा केही अघि राजधानी दिल्लीस्थित नेहरू म्युजियम तथा पुस्तकालयका निर्देशक डा. हरि शर्मालाई सन् १९७५ मा दिएको अन्तर्वार्ता (केही अंश मात्र प्रदीप गिरिद्वारा सम्पादित ‘राजनीतिक अभिलेख’ नामक पुस्तकमा समावेश) मा आफ्नो राजनीतिक जीवनका केही पक्षलाई प्रस्ट पारेका छन्। चौथो स्रोत- मृत्युभन्दा डेढ-दुई वर्षअघि भारतीय पत्रकार एवं वि.प्र. का पुराना मित्र भोला चटर्जीसँग सन् १९७९ अक्टुबरदेखि नोभेम्बर १९८१ का बीचमा गरेको वार्तालापमा कोइरालाले आफ्नो व्यक्तित्वको समग्र पाटोलाई संक्षिप्तमा प्रस्ट पारेका छन्।

विश्वेश्वरप्रसाद कोइरालासित ख्यातिप्राप्त अधिवक्ता गणेशराज शर्माले २०३८ सालमा गरेको कुराकानी (आत्मवृत्तान्त) ले पनि उनको व्यक्तित्वका केही आयामलाई स्पष्ट पार्न मद्दत पुर्‍याउँछ तर आत्मवृत्तान्तमा भारतीय पत्रकारहरूलाई दिएका अन्तर्वार्ताका विषय धेरैजसो दोहोरिएका छन्।

२००३ सालदेखि उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र राजनीतिक विकासको केन्द्रको रूपमा रहँदै आए। दरबारको राजनीतिको समानान्तर वि.प्र. को राजनीतिले कहिले चुस्त र कहिले सुस्त गतिमा निरन्तता पाई नै रह्यो। 

यसबाहेक, वर्षौंअघिदेखि लेखेका डायरीहरू पनि उनको व्यक्तित्वलाई प्रकाश पार्ने थप आधार हुन सक्छन् तर काठमाडौंको सुन्दरीजलको कारागारमा दुईपटक रहँदा लेखेका पाँच वर्षजतिका डायरी मात्र प्रकाशित हुन पाएका छन्। त्यसका अतिरिक्त उनले २००३ सालदेखि २०३४ सालसम्म राजनीतिक, आर्थिक, सामाजिक साहित्यसम्बन्धी फरकफरक समयमा लेखेका लेखरप्रबन्धहरू सयौंको संख्यामा छन्। ती फुटकर लेखहरू उनले आफ्ना विचारलाई खुलस्त पार्ने गरी लेखेका थिए, जुन हामीसमक्ष प्रकाशित रूपमा छन्। समग्रमा, उनले समयसमयमा लेखेका प्रबन्धहरू, आत्मकथा, अन्तर्वार्ता र उनका साहित्यिक सृजनाहरू नै उनको व्यक्तित्वको विवेचना गर्ने हाम्रा आधारहरू हुन्, यो राम्रो कुरा हो। यहाँ तिनै अभिलेखहरूलाई प्रसंगअनुसार स्रोतको रूपमा प्रयोग गरिएको छ।

२००३ सालदेखि उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र राजनीतिक विकासको केन्द्रको रूपमा रहँदै आए। दरबारको राजनीतिको समानान्तर वि.प्र. को राजनीतिले कहिले चुस्त र कहिले सुस्त गतिमा निरन्तता पाई नै रह्यो। 

वि.प्र. को व्यक्तित्वका प्रमुख दुई पाटा राजनीति र साहित्य थिए। यो कुनै नयाँ जानकारी होइन, सर्वविदितै छ। उनको व्यक्तित्वको शुरूआत किशोर अवस्थादेखि साहित्यबाट भएको थियो। त्यसपछि मात्र उनले राजनीतिलाई अँगालेका हुन्। पारिवारिक र त्यतिखेरको वनारसको राजनीतिक वातावरणले उनलाई प्रभाव त पारेकै थियो तर किशोर वयको राजनीति रोमान्स र रहरको हुन्छ। त्यो उनले पनि अल्पसमयका लागि गरेका थिए।

सन् १९३०/४० को दशकमा ब्रिटिसराजको विरूद्ध गान्धीको नेतृत्वमा स्वाधीनताको आन्दोलन उचाइमा थियो। कलेजमा पढ्दै गर्दा सहपाठी राजेश्वर प्रसादमार्फत् उनका दाजु जयप्रकाश नारायणको सान्निध्यमा पुगे। सन् १९३७ मा वि.प्र. कोइराला भारतीय समाजवादी कांग्रेसमा आबद्ध भए पनि सन् १९३९/४० डेढ वर्षजति दार्जिलिङमा बसेर वकालतको पेशामा कार्यरत रहे। तर वकालत पेसा अपेक्षा गरेअनुअनुरुप नचलेर हो वा अन्य कुनै कारणले उनी त्यसमा रमाउन सकेनन्। द्वितीय विश्वयुद्ध सुरु भइसकेको थियो। बनारस फर्केर उनी आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, डा‍. राममनोहर लोहियाहरूको नेतृत्वको समाजवादी पार्टीमा पूर्ण रूपमा आबद्ध भएर काम गर्न थाले।

सन् १९४२ मा ‘अंग्रेज भारत छोड’ भन्ने नाराका साथ गान्धीले नेतृत्व गरेको आन्दोलनमा संलग्न भएकाले तीन वर्षभन्दा बढी अवधि वि.प्र. जेलमा बसे। विश्वयुद्ध समाप्तिसँगै जेलबाट मुक्त भएपछि सन् १९४६ अक्टुबर (२००३ कार्तिक) मा भारतमा रहेका नेपालीहरूलाई संगठित गरेर एउटा राजनीतिक पार्टी खोल्ने सार्वजनिक आह्वान गरे। त्यस पार्टीले भारतको स्वतन्त्रताका लागि काम गर्ने र नेपालमा रहेको राणाशासनलाई समाप्त गरेर नागरिक अधिकारसहितको जनउत्तरदायी सरकार बनाउने उद्देश्य राखेको थियो। २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको गठन गरेर उनी नेपाली राजनीतिमा प्रत्यक्ष संलग्न भए। त्यस समयदेखि अनेक उतारचढावका बीच ३६ वर्ष उनी नेपाली राजनीतिमा दरबारपछिको दोस्रो शक्तिको रूपमा निरन्तरजसो मियो बनेर बसे। २०३९ सालमा उनको देहावसान भयो।

वि.प्र. कोइरालाको राजनीतिक चिन्तन त्यति स्पष्ट थिएन। उनी सुरुमा भारतीय समाजवादी नेताहरू आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, राममनोहर लोहियाहरूबाट प्रभावित थिए। उनी सुरुमा आफूलाई गान्धीको पक्का अनुयायी मान्थे तर महात्मा गान्धीको राजनीतिक चिन्तन र विचारप्रति कुनै निश्चित धारणा बनाएको देखिँदैन।

वि.प्र. कोइरालाको राजनीतिक चिन्तन त्यति स्पष्ट थिएन। उनी सुरुमा भारतीय समाजवादी नेताहरू आचार्य नरेन्द्रदेव, जयप्रकाश नारायण, राममनोहर लोहियाहरूबाट प्रभावित थिए। उनी सुरुमा आफूलाई गान्धीको पक्का अनुयायी मान्थे तर महात्मा गान्धीको राजनीतिक चिन्तन र विचारप्रति कुनै निश्चित धारणा बनाएको देखिँदैन। उनी कहिले गान्धीविचारको कटु आलोचक पनि बनेको देखिन्थ्यो। पछिल्लो कालमा फेरि गान्धीको विचारको अनुयायीका रूपमा आफूलाई चिनाए। यो वैचारिक दृढताको कमी उनमा रहेको हामी पाउँछौं।

वि.प्र. को राजनीतिक-आर्थिक चिन्तनको आलोचनात्मक विवेचना जति हुनुपर्ने हो, त्यो भएको पाइँदैन। नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरि भन्छन्- ‘बीपीको विचारमाथि अलिकति पनि विवेचना भएको छैन। हाम्रो समाजमा अचम्मको व्यक्तिवाद छ। जे पनि मान्छेका नाममा खडा गरिदिने पुजारी वर्ग जसले कुनै सम्यक आलोचना गर्दैन।’ 

विश्वेश्वरप्रसाद कोइरालाको आर्थिक चिन्तन र समाजवाद

नेपालको परिप्रेक्ष्यमा समाजवादलाई प्रजातन्त्रसँग जोडेर केही फुटकर लेखहरू लेख्नुबाहेक कोइरालाले समाजवादी दर्शन बारेमा कुनै स्वतन्त्र ग्रन्थ लेखेनन्। २०१२ सालमा वीरगञ्जमा भएको अधिवेशनमा पार्टीको लक्ष्य समाजवाद निरूपित गरेको देखिन्छ तर त्यस समाजवादको चरित्र परिभाषित गरेको देखिंदैन। खासमा समाजवादबारे उनको कुनै निश्चित खाका वा मार्गचित्र थिएन तर आफूलाई ‘बौद्धिक दाबी गर्ने एउटा पुजारीवर्ग त्यस कुरालाई स्वीकार गर्न तयार छैन। उनीहरू वि.प्र. मा सम्पूर्णता छ भन्ने भ्रम पालेर बसेका छन्।

तात्पर्य के थियो भने योजना बनाउँदा हलो जोतिरहेको कृषकलाई देखेर ग्रामीण परिवेशको बोध हुन सकोस्। तर त्यस सुझावमा रमाइलो कुरा के थियो भने त्यो उनको मौलिक विचार नभएर गान्धीको विचारलाई अहिलेको भाषामा ‘कपी पेस्ट’ गरेका थिए।

वि.प्र. कोइराला प्रधानमन्त्री हुँदा उनले विकासको आर्थिक ‘मोडेल’ को चर्चा गरेका छन् तर आर्थिक विकासका लागि कहिले नेहरू मोडेलको औद्योगीकरण गर्नुपर्छ भनेर जिकिर गर्छन् अनि लगत्तै कुनै अर्को मञ्चमा महात्मा गान्धीको श्रम केन्द्रित (लेबर इन्टेन्सिभ) अर्थात् ग्रामीण अर्थतन्त्रको मोडेलमा विकास गर्नुपर्ने तर्क राख्छन्। आफू प्रधानमन्त्री हुँदा एउटा प्रसंगको चर्चा गर्दै उनी भन्छन्-एकपटक योजना आयोगको बैठकमा जाँदा भित्तामा पहिलेदेखि राजाको फोटो राखिएको, सँगै एउटा हलो जोतिरहेको कृषकको फोटो पनि राख्नुपर्ने कुरा त्यहाँ क्याम्ब्रिज र हार्डिबाट पढेर आएका विद्वान्हरूसमक्ष राखेका थिए (द्रष्टव्य : त्यस समयमा क्याम्ब्रिज र हार्वार्ड पढेका विद्वान् योजना आयोगमा कोही थिएनन्)। त्यसको तात्पर्य के थियो भने योजना बनाउँदा हलो जोतिरहेको कृषकलाई देखेर ग्रामीण परिवेशको बोध हुन सकोस्। तर त्यस सुझावमा रमाइलो कुरा के थियो भने त्यो उनको मौलिक विचार नभएर गान्धीको विचारलाई अहिलेको भाषामा ‘कपी पेस्ट’ गरेका थिए।

प्रसंगमै, नेपालको विकास प्रश्नमा योजना आयोगका सदस्यहरूलाई उनको के सुझाव थियो भने हाम्रा कृषकले खेत जोत्ने गरेको हलोमा केही सामान्य सुधार गर्ने हो, जसलाई उनीहरूले सजिलै चलाउन सकून्। ठूलो ट्रयाक्टर, ठूला मेशिन, ठूला डोजर, जेट इन्जिन आदि आयात गर्ने होइन। ठूला सडक बनाउने होइन। त्यो बनाउनु भनेको आयात गरिएका गाडीहरूका लागि आयातित इन्धनको खर्च बढाउने कुरा हुन्छ र त्यसलाई चलाउन विदेशमा प्रशिक्षित प्राविधिकबाट मर्मत सम्भार गरिनुपर्ने हुन्छ। विकास निर्माणका लागि सिमेन्ट, फलाम आदिको प्रयोग गर्ने होइन। अर्थात् विदेशी निर्भरता सकेसम्म नबढाउने हो। 

गान्धीले सन् बीसको दशकमा ब्रिटिशको अर्थतन्त्रलाई शिथिल बनाएर उसको शासनलाई समाप्त गर्ने एउटा हतियारको रूपमा विदेशी वस्तु बहिष्कार गर्ने आन्दोलन चलाएका थिए। जुन त्यस कालको प्रयोजनलाई हेरेर ज्यादै प्रभावकारी बनेको थियो तर नेपालको परिवेशमा त्यो कतैबाट पनि उपयुक्त हुनसक्छ भन्ने आधार थिएन किनभने नेपाललाई तीव्र आर्थिक विकासमा अघि बढाउनु थियो, त्यो गान्धीको पारम्परिक प्रविधिको कृषि विकास मात्रैले पुग्दैनथ्यो।

आफू प्रधानमन्त्री रहेकै समय एक अर्को मञ्चमा गान्धीको ग्रामीण कृषि मोडेललाई आधुनिक विकासको अवरोधक मान्दै स्वदेशी र विदेशी पुँजीसमेतको लगानी बढाएर औद्योगिक क्रान्तिको वकालत गरेका थिए। उनी भन्छन- ‘हामीले अहिले नै समाजवादको निर्माण गर्ने भनेको होइन। यो लक्ष्यलाई केही वर्षका लागि त्यागेका छौं। देशको स्रोतलाई योजनाबद्ध तरिकाबाट उपयोग गर्नु र केही समय हरेक क्षेत्रमा पुँजी वृद्धि गर्नु छ। अहिलेको परिप्रेक्ष्यमा निजी पुँजी आवश्यकता हामी विदेशी लगानी भित्र्याउन पनि काम गर्नेछौं- (कांग्रेस सरकारको कार्यक्रम ६ जून १९६०, भारतीय पत्रकार अनिरूद्ध गुप्ताले लिएको अन्तर्वार्ता : राजनीतिक अभिलेख, २०६६ साल)। 

वि.प्र. कोइराला समाजवादप्रति प्रतिबद्ध थिए भन्ने हामीले जानेकै कुरो हो। उनी त्यसको प्रखर वकालत गर्थे। उनले नेपालका लागि आफूले खोजेको समाजवादका बारेमा दुई ठाउँमा लिखित धारणा राखेका छन्। त्यसबाहेक, अरू केही अवसरमा मौखिक भाषण वा लिखितमा समाजवादको उल्लेख गरे पनि विवेचना गरेको भने पाइँदैन।

कोइराला अर्को ठाउँमा आर्थिक नीतिबारे थप्छन्- ‘समाजवादका परिमाणमा आर्थिक उन्नतिको आवश्यकता पर्छ, त्यो कृषिसम्बन्धी विशुद्ध सुधारले मात्रै सम्भव छैन। त्यसका लागि औद्योगिक विकासको पनि आवश्यकता पर्दछ। आर्थिक विकास विभिन्न उद्योगधन्दा स्थापित नगरी ग्रामीण आधारमा मात्र सम्भव छैन आज हामीले देशलाई दरिद्रताबाट मुक्त गर्न तथा विकासको बाटोमा लैजानका लागि औद्योगिक कान्तिलाई ग्रहण गर्नु परेको छ।’ उनी भन्छन् – ‘समाजवाद समृद्धिमा ल्याउने हो, गरीबी बाँढ्ने होइन।’

वि.प्र. कोइराला समाजवादप्रति प्रतिबद्ध थिए भन्ने हामीले जानेकै कुरो हो। उनी त्यसको प्रखर वकालत गर्थे। उनले नेपालका लागि आफूले खोजेको समाजवादका बारेमा दुई ठाउँमा लिखित धारणा राखेका छन्। त्यसबाहेक, अरू केही अवसरमा मौखिक भाषण वा लिखितमा समाजवादको उल्लेख गरे पनि विवेचना गरेको भने पाइँदैन।

वि.प्र. को समाजवादले प्रजातन्त्रसँग गाँसिएर पूर्णता पाउँथ्यो। उनी समाजवादलाई राजनीतिक अर्थमा प्रजातन्त्र नै हो भन्ने गर्थे (राजनीतिक अभिलेख, पृष्ठ २९४)। सन् १९७९ को फरवरीमा अष्ट्रेलियामा ‘एसियन प्यासेफिक सोसलिस्ट अर्गनाइजेसन’ को सम्मेलन भएको थियो। त्यहाँ वि.प्र.ले ‘नेपालको परिप्रेक्ष्यमा समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। भारतीय लेखक-पत्रकार भोला चटर्जीलाई दिएको अन्तर्वार्तामा प्रजातान्त्रिक समाजवादबारे सिड्नी सम्मेलनमा प्रस्तुत गरेको उल्लिखित कार्यपत्रको सारांशलाई उनले पाँचवटा बुँदामा राखेका थिए। ती पाँच बुँदा निम्नलिखित छन्- 

क. समाजवादको पहिलो तत्त्व प्रजातन्त्र हो। जनताको स्वार्थसँग जोडिएको राजनीतिक संस्था अर्थात् दलीय प्रजातन्त्र चाहिन्छ। त्यसको अभावमा आर्थिक विकास पनि सम्भव हुँदैन।

ख. हाम्रोजस्तो अल्पविकसित देशको विकास प्रक्रियालाई विदेशी सहयोगले मद्दत गर्नुको साटो एउटा समृद्ध नयाँ वर्गलाई जन्माउँछ। त्यो भुइँफुट्टा वर्गको सान्दर्भिकता विकासका लागि अर्थ राख्दैन, सरोकारहीन हुने गर्छ। मुलुकमा त्यस वर्गको आर्थिक आधार पनि हुँदैन र विदेशीद्वारा परिचालित भएर भ्रष्टाचार तथा अवैध व्यापारमा टिकेको हुन्छ।

ग. पश्चिमी समाजको विकास ‘मोडेल’ हाम्रो जस्तो देशका लागि उपयुक्त छैन। उच्च विकसित प्रविधिको आयात हामीलाई अनुकूल हुँदैन पनि। हाम्रा लागि त परम्परागत उपकरणलाई नै केही सुधार गरेर प्रयोगमा ल्याउनु ठीक हुन्छ। पश्चिमी मोडेलको विकासले हाम्रो परिस्थितिमा धनी झन् धनी र गरीब झन् गरीब हुँदैजाने अवस्थाको सृजना गर्छ।

घ. मैले भन्ने गरेको प्रजातन्त्रको तात्पर्य उदार प्रजातन्त्र हो। केही समाजवादी साथीहरू प्रजातन्त्रलाई गौण रूपमा लिने र आर्थिक पक्षलाई बढी महत्त्व दिने गर्छन्, त्यो ठीक होइन।

ङ. समाजवाद भविष्यको मूलधारा हो, तेस्रो विश्वका लागि प्राकृतिक रूपले मित्र हो र यो शक्ति राष्ट्रको गठबन्धनभन्दा अलग्गै पनि छ।
सन् १९७९ फरवरी अर्थात् २०३५ सालमा सम्पन्न सिड्नी सम्मेलनमा  प्रजातान्त्रिक समाजवादलाई बुझाउन प्रस्तुत गरिएका ती पाँचै बुँदामा  समाजवादको व्यवस्थागत ढाँचाको कुनै सूत्र भेटिंदैन। हाम्रो जस्तो अल्पविकसित देशले दु्रततर विकासका लागि विदेशी सहायता लिन हुँदैन र उन्नत पश्चिमी समाजको प्रविधि पनि आयात गर्न हुँदैन भन्ने मान्यता २०१६ सालमा योजना आयोगमा दिएको सुझावकै पुनर्पुष्टि २०३७ सालमा पनि ती पाँच बुँदाहरूमा गर्न पुग्छन् तर त्यस १९ वर्षको अन्तरालपछि अर्थात् २०३५ सालपछि कृषिमा आधारित कुटीर उद्योगले समृद्धि ल्याउँदैन भनेर पनि भन्दै गरेको पाइन्छ। त्यसअघि उनलाई व्यापक औद्योगीकरणबाट आर्थिक विकासको वकालत गरिसकेको हामी पाउँछौं। उनका ती दुवै अभिव्यक्ति परस्परमा मेल खाँदैनन्। कुनचाहिँ भनाइ सही हो,  कसरी छुट्याउने?

हुन त उनले आफ्नो कमजोरी लुकाएका पनि छैनन्। पत्रकार भोला चटर्जीले लिएको अन्तर्वार्ताका क्रममा ‘नेपालमा कस्तो प्रकारको आर्थिक नीति ल्याउने सोच्नुभएको छ, जुन विकासका लागि उपयुक्त हुन्छ र? भन्ने प्रश्नमा कोइरालाले भनेका छन्, ‘यस विषयमा मेरो प्रस्ट धारणा बनिसकेको छैन र परिभाषित पनि गरेको छैन। हामी नेपालीले उनलाई ठूलो अर्थविज्ञ र योजनाकार मानेका थियौं। त्यतिखेर उनी नेपालीका लागि ‘लिजेन्ड्री’ बनिसकेका थिए। त्यसैले चटर्जीको प्रश्नको त्यस्तो उत्तर हाम्रा लागि अनपेक्षित थियो।

‘हाम्रो ध्येय’ शीर्षकको लेखमा उनी भन्छन्- ‘हामी जनताजनार्दनको बलमा नेपालमा कोही पनि भोका, नांगा वा अशिक्षित नरहुन्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराहरूको अभाव नरहोस्, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौं।’

यसो त विकासको चाहना र त्यसको काल्पनिक चित्र सबैजसो देशवासीले कोरेका हुन्छन्। कोइरालाले पनि एउटा त्यस्तो आदर्श समाजको कल्पना गरेका थिए। ‘हाम्रो ध्येय’ शीर्षकको लेखमा उनी भन्छन्- ‘हामी जनताजनार्दनको बलमा नेपालमा कोही पनि भोका, नांगा वा अशिक्षित नरहुन्, देशमा सडक, बाटोघाटो, अस्पताललगायत जीवनलाई सुन्दर र सुखी बनाउने अरू कुनै कुराहरूको अभाव नरहोस्, त्यस्तो व्यवस्था ल्याउने प्रयत्नमा छौं।’

यस्ता आदर्शका चाहना वैदिककालदेखिकै सबै धर्म र सम्प्रदायमा र सम्पूर्ण मानवजातिमा रहँदै आएको हामीलाई अवगत नै छ तर आदर्शको प्राप्तिका लागि प्रजातन्त्र र समाजवादको अमूर्त नारा दिएर मात्रै पुग्दैन। त्यसका लागि ठोस कार्यकमको खाँचो पर्छ तर ती प्रश्नहरूलाई सम्बोधन गर्न उनको स्थिर र सुसंगत सोच खोइ रु उनी यहाँको भूमिव्यवस्थाको सुधार गरेर देशलाई उन्नत बनाउन सकिन्छ भन्ने उद्घोष गर्छन्।

ल, एकछिनलाई यसै नीतिलाई स्वीकार गरौंस्  तर फेरि केही महीना बित्न नपाउँदै कुनै अर्को मञ्चमा नेपालको आर्थिक उन्नति भूमिव्यवस्थाको सुधारले मात्रै हुने होइन, त्यसका लागि बृहत् आर्थिक योजना र औद्योगीकरण, शिक्षा, स्वास्थ्यको व्यापक विस्तार चाहिने कुरा राख्छन्। त्यसैले जतिसुकै कटु लागे पनि भन्नै पर्छ, आर्थिक नीतिमा उनको सुसंगत चेत थिएन।

वि.प्र. कोइराला वेलाबखत आफूलाई मार्क्सवादी भन्ने गर्थे। मार्क्सवादको सम्बन्धमा पनि उनको कुनै निश्चित र स्थिर दृष्टिकोण पाइँदैन। यस विषयलाई स्थानाभावको कारणले विस्तार गरिन्न।

माथि वि.प्र. कोइरालाको ‘समाजवादी चिन्तन’ को विवेचना संक्षेपमा गरियो। बीसौं/एकाइसौं शताब्दीको आधुनिक प्रविधिको प्रयोगले आर्थिक विकासलाई प्रतिस्पर्धी बनाएको छ। आजको विकास अंकगणितीय भन्दा ज्यामितीय गतिको अपेक्षा राख्छ र उत्पादन उपभोगमुखीमा सीमित नरहेर व्यवसायमुखी हुने किसिमको अधिक उत्पादनमा जाने गरी उद्योगको विकास हुनुपर्ने मान्यता राख्छ। २०३३ सालको पुसमा भारतको निर्वासनबाट स्वदेश आगमनपछि उनी पुनः गान्धीकै विकास मोडेलमा फर्किन्छन् तर यसपटक उनले ‘गान्धी मोडेल’ लाई ब्रिटिस अर्थशास्त्री फ्रेड्रिक सुमाखरको ‘सानो हुन्छ सुन्दर’ (स्मल इज ब्युटिफुल) को तर्कमा खडा गरेका छन्।

सुमाखरअनुसार हाम्रो आर्थिक नीति समुदायको आवश्यकतालाई लक्षित गरेर बनाउने हो, कर्पोरेट हाउसका लागि होइन। नेपालको सन्दर्भमा सुमाखरको विकास मोडेलको व्यावहारिक रूप र परिभाषा प्रस्तुत गर्न नपाउँदै कोइरालाको देहान्त भयो। त्यसो त आर्थिक विकासको मोडेलको परिभाषा पहिले पनि गरेका थिएनन्।

राजा महेन्द्रले २०२२ सालमा लागू गरेको भूमिसुधार वि.प्र. कोइरालाको सरकारले बनाएको भूमिसुधारको नक्कल हो भनेर उनका केही पुजारीहरू भन्ने गर्छन्। यस प्रसंगमा स्वयं वि.प्र. कोइराला भन्छन् – बिर्ता उन्मूलन र नयाँ कर व्यवस्था नूतन व्यवस्थाका प्राथमिक चरण हुन्। हाम्रो अधमरा समाजले प्रगतिशील सामाजिक शक्तिहरूको संगठनको बलमा बिस्तारै-बिस्तारै अझै बढी क्रान्तिकारी कदम चाल्नपर्नेछ।’ १०

वि.प्र. कोइरालाको यस स्पष्टीकरणले उनको भूमिसुधारको लक्ष्य त्यतिखेर उक्त दुई कार्यक्रममा सीमित थियो। राजा महेन्द्रले ल्याएको भूमिसुधार वि.प्र. कोइरालाले गर्दै नगरेको कथित भूमिसुधारको नक्कल थिएन भनेर पुष्टि गर्छ। यस कुराले पुजारी वर्गको दाबीलाई गलत प्रमाणित गर्छ।

२०१७ सालमा उनको सरकारले बिर्ता उन्मूलन र भूमिमा प्रगतिशील कर प्रणाली लागू गरेको कार्य सामन्तीय व्यवस्थालाई समाप्त गर्ने महत्त्वपूर्ण र राम्रो कदम थियो। यद्यपि प्रगतिशील कर प्रणाली पुँजीवादी देशहरूमा प्रचलित नै छ र नेपालमा पनि केही क्षेत्रमा यो लागू अवस्थामा छ।

उनी आर्थिक कार्यक्रममा पुरानो सामन्तीय भूमिव्यवस्थाको ठाउँमा जोताहा किसानहरूको भूमिमाथि अधिकार हुने पद्धति ल्याउने कुरा गर्थे। ‘जसको जोत उसको पोत’ यो भूमि व्यवस्था सामन्तीय पद्धतिको अर्को रूप हुने हो। यसले उपभोगमुखी अर्थतन्त्रलाई सघाउने हो। २०१७ सालमा उनको सरकारले बिर्ता उन्मूलन र भूमिमा प्रगतिशील कर प्रणाली लागू गरेको कार्य सामन्तीय व्यवस्थालाई समाप्त गर्ने महत्त्वपूर्ण र राम्रो कदम थियो। यद्यपि प्रगतिशील कर प्रणाली पुँजीवादी देशहरूमा प्रचलित नै छ र नेपालमा पनि केही क्षेत्रमा यो लागू अवस्थामा छ। सामाजिक न्यायको समस्यालाई केही सम्बोधन गरे पनि ‘जसको जोत उसको पोत’ को नीतिले औद्योगीकरणलाई पनि सघाउँदैन।

अन्त्यमा, कोइरालाको समाजवाद र आर्थिक नीतिको सैद्धान्तिक र दार्शनिक अवधारणा प्रस्ट छैन। परस्परमा बेमेल देखिएको यथार्थलाई उनैको कथनी र लेखनी दुवैले पुष्टि गरेको माथि विवेचना गरियो। उनी समाजवादी थिए वा थिएनन भन्ने कुरामा बहस गर्नुभन्दा पनि पूर्णरूपेण प्रजातन्त्रवादी थिए र २००३ सालदेखि नेपालको प्रजातान्त्रिक संघर्षमा अनेक हण्डर, सास्ती र यन्त्रणा बेहोरेर जीवनको आखिरी क्षणसम्म प्रजातन्त्रप्रतिको एकलव्य निष्ठामा अटल रहे।

साहित्यको सन्दर्भमा उनी आफूलाई सारसंग्रहवादी (इक्लेक्टिक) भन्न रूचाउँथे (अनिरूद्ध गुप्तालाई दिएको अन्तर्वार्ता, राजनीतिक अभिलेख, पृष्ठ १३६) तर यो अभिव्यक्ति उनको आर्थिक, राजनीतिक विचारमा अझ बढी लागू हुने देखिन्छ। उनको व्यक्तित्व आकर्षक थियो। उनी तार्किक थिए र आफ्नो कुरालाई प्रखर रूपमा राख्ने गर्थे। नेपाली साहित्यमा आधुनिक शैली र धारा प्रवेश गराउने पुरस्कर्ता पनि उनै हुन्। उनको राजनीति सफल थिएन तर साहित्यमा उनी चिरञ्जीवी छन्।

फुटनोट
१. चटर्जी, भोला, पोर्टेट अफ अ रेभोल्युसनरी : विप्र कोइराला, सन् १९८२ (२०३६ असोजदेखि  ०३८ कार्तिकसम्म्म लिइएको अन्तर्वार्ता) 
२. चटर्जी, भोला, उपर्युक्त पुस्तक, पृष्ठ ७५ 
३. गिरि, प्रदीप, कान्तिपुर कोसेली, ३ साउन २०७१ 
४. चटर्जी, भोला, पोट्रेट अफ अ रिभोल्युसनरी  विप्र कोइराला, पृष्ठ १६३,१६४, ई १९८२
५. चटर्जी, भोला, उपर्युक्त पुस्तक, पृष्ठ १६४ 
६. राजनीतिक अभिलेख, पृष्ठ १३७ 
७. चटर्जी, भोला, त्यही पुस्तक, पृष्ठ १६३ 
८. विश्वेश्वरप्रसादका राजनीतिक अभिलेख, ‘हाम्रो ध्येय’ पृष्ठ ३, सन् १९४८ अक्टुबर 
९. ‘राजनीतिक अभिलेख, पृष्ठ १५, नेपाली कांग्रेसको घोषणापत्र’, १९५० 
१०. राजनीतिक अभिलेख, पृष्ठ १४०, तरूण दलको सम्मेलनमा उद्घाटन भाषण, सन् १९६० दिसेम्बर १५

(पोखरेलको यो आलेख भृकुटी बुक्सद्वारा प्रकाशित उनको कृति  विचार मीमांसाबाट साभार गरिएको हो।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वेबसाइट नोटिफिकेसनबाट दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्
चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजबाट सुरु
सही तरिकाले व्रत कसरी बस्ने? व्रतको फाइदाहरु के–के छन्?
प्रदेश सदस्य कुँवरले जन्म दिनमा हुने खर्चलाई सामाजिक कार्यमा लगाए