मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महामारीले बढायो मानसिक समस्या, यसरी गरौं व्यवस्थापन

महामारीले बढायो मानसिक समस्या, यसरी गरौं व्यवस्थापन


काठमाडौं– जुनसुकै महामारीले स्वास्थ्यसँगै अनेक समस्या लिएर आउँछ। पछिल्लो पटक देखा परेको कोरोना महामारीले त झन् बहुआयामिक र दीर्घकालीन समस्याहरु निम्त्याएको छ। 

डेढ वर्षअघि सुरु भएको महामारी अहिलेसम्म साम्य हुन सकेको छैन। यस अवधिमा कोरोना एउटा सरुवा रोगको महामारीको रुपमा मात्रै सीमित छैन, अन्य विभिन्न समस्या पनि निम्त्याएको छ।

कोरोना संक्रमित भएर ठिक भएकाहरुमा पोस्ट कोभिड समस्या चुनौतीको रुपमा देखिएको छ। संक्रमण नभएकाहरुमा पनि मानसिक समस्या बढ्न थालेको पाइएको छ। मानसिक स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरूमा आफ्नो समस्या सुनाउने र समाधान खोज्नेहरूको संख्या बढिरहेको छ। 

निन्द्रा नलाग्ने, चिन्ता (एन्जाइटी), छटपटी, मुटुको चाल बढ्ने, उकुसमुकुस हुने, एकाग्र हुन नसक्ने, स्मरणशक्ति घट्ने आदि समस्या लिएर अस्पताल तथा परामर्शदाताकहाँ पुग्ने धेरै छन्।

दुई साता अगाडिमात्रै २८ वर्षीया युवती मनिषा रिजाल परामर्शका लािग मानसिक अस्ताल पुगिन्। निकै आत्तिने, डराउने, राति निन्द्रा नपर्ने, पछि केही दुर्घटना हुन्छ कि भन्ने सोचले उनको मनमा डेरा जमाएको थियो। मनिषालाई एक पटक कोरोना संक्रमण पुष्टि भइसकेको थियो। कोरोना संक्रमण पुष्टि हुँदा उनमा शरीरिक रुपमा धेरै समस्या देखिएन, तर मानसिक रुपमा निकै कमजोर भइन्।

केही दिनमा कोरोना संक्रमण मुक्त त भइन् तर मानसिक डरले उनलाई कहिल्यै छोडेन। सास फर्न गाह्रो भएको जस्तो हुने, मरिहाल्छु कि जस्तो हुने आदि समस्या भइरहे। त्यसैमाथि सामाजिक सञ्जालमा कोरोनाको विषयमा देखिने दृष्य, तस्बिर र समाचारले उनलाई सधैं सताइरह्यो। कुनै काममा ध्यान नजाने, खानामा पनि रुचि नहुने जस्ता समस्या देखिए। अस्पतालमा परामर्शको बेला पुग्दा पनि आफूलाई बेलाबेला मरौंमरौं लागेको पनि उनले सुनाइन्। चिकित्सकले उनलाई पेनिक एन्जाइटी भएको निर्क्योल गरे। परामर्श दिए र उपचार गरे। अझै पनि मनिषा पूर्ण रुपमा ठिक हुन सकेकी छैनन्। 

गत सोमबारमात्रै मनोशास्त्र काउन्सिल सेन्टरमा मनोविद् उमेश श्रेष्ठकहाँ १७ वर्षिया एक किशोरीलाई परामर्शका लागि उनका अभिभावकले लिएर गएका थिए। उनलाई पनि डर लाग्ने, निन्द्रा नलाग्ने, कोही मानिससँग बोल्न मन नलाग्ने जस्ता समस्या देखिएको थियो। किशोरीलाई हालसम्म कोरोना संक्रमण पुष्टि त भएको छैन तर उनी धेरै समय सामाजिक सञ्जालमा कोरोनाका समाचार हेरिरहन्थिन्। कोरोनाको डरलाग्दो तथ्यांक र मृत्युका दृष्यहरु आमालाई पनि देखाउँथिन्। तर अभिभावकले त्यतिबेला धेरै ध्यान दिएनन्।

जब छोरीको व्यवहार फरक हुँदै गयो, अभिभावकले परामर्शका लागि मनोविद्कहाँ लिएर गए। उनलाई पनि प्यानिक एन्जाइटी भएको रहेछ। मनोविद् श्रेष्ठका अनुसार बालबालिकाले सामाजिक सञ्जालमा देखिएका भयानाक दृष्यलाई धेरै ध्यान दिँदा, लामो समयसम्म एउटै विषयलाई हेरिरहँदा र त्यसैको बारेमा सोचिरहँदा मानसिक समस्या देखिएको छ।

ललितपुरकी ३५ वर्षीया एक महिला यस्तै समस्या लिएर केही समयअघि अस्पताल पुगेकी थिइन्। एक्कासि सास फेर्न गाह्रो हुने, मुटु छिटोछिटो चलेको जस्तो हुने र डराउने समस्या उनमा देखिएको थियो। कोरोनाको शंका लागेर उनी पीसीआर परीक्षणका लागि पाटन अस्पताल पुगिन्। कोरोना नभएको पुष्टि भयो, तर पनि समस्या उस्तै रह्यो। उनले अन्य परीक्षण पनि गराइन् तर सबै सामान्य थियो। अन्ततः उनलाई कोरानाको डरका कारण पेनिक एन्जाइटी भएको निदान गरियो। चिकित्सकहरुले आवश्यक परामर्श गरेपछि उनी विस्तारै ठिक हुँदैछिन्। 

पछिल्लो समय यस्ता समस्या लिएर अस्पताल पुग्नेको संख्या बढेको छ। वरिष्ठ चिकित्सा मनोविद् तृष्णा घोष क्षेत्रीका अनुसार पाटन मानसिक अस्पतालमा पछिल्लो समय मानसिक समस्या लिएर पुग्ने मानिसहरु बढिरहेका छन्। विशेषगरी एन्जाइटी डिसअर्डर, प्यानिक एपिसोड, डिप्रेसन लगायत समस्या बढेकोे उनी बताउँछिन्। एन्जाइटी डिसअर्डर भनेको एक किसिमको डर हो। अनपेक्षित रुपमा कुनै दुर्घटना हुन्छ कि ठूलो समस्या आइलाग्छ कि भनेर डराउनु र त्यहीअनुसारको मानसिक तथा शारीरिक समस्या देखिनु एन्जाइटी डिसअर्डर हो।  

मनोविद् क्षेत्री भन्छिन्, ‘सामाजिक सञ्जाल र समाचारमा देखिने भयावह तथ्यांक र दृष्यहरुले मानसिक समस्या बढिरहेको छ। समाचार हेर्दा पनि भूतको फिल्म हेरेको जस्तो लाग्छ, रातभर निन्द्रा लाग्दैन। सानो कुरामा पनि आत्तिएर केही नराम्रो हुन्छ कि भन्दै डराएर मानिसहरु अस्पताल आइपुग्छन्।’ उनका अनुसार कोरोनाको समयभन्दा अगाडि पनि यस्ता समस्या नदेखिएका होइनन् तर पछिल्लो समय यस्ता समस्या बढ्दै गइरहेका छन्। कतिपय संक्रमितमा शारीरिकभन्दा मानसिक समस्या बढी रहेको पाइएको छ।

चिकित्सकका अनुसार मानसिक समस्यालाई चाँडोभन्दा चाँडो निर्क्योल गर्न सक्नुपर्छ। ‘मानिसहरूमा छटपटी, अत्तालिने, अनिद्रा, तनाव, अनिद्रा, बेचैनी बढिरहेको छ। यस्तो अवस्थामा आफ्नो मानसिक स्वास्थ्यको अवस्थाबारे आफंैले निगरानी गर्नुपर्छ,’ मनोविद् करुणा कुँवर भन्छिन्। उनका अनुसार मानिसहरु आत्तिने, डराउने, छटपटी हुने, धेरै खुसी हुने, धेरै रिसाउने, झर्किने, निराश हुने, निद्रामा गडबडी, रातमा निद्रा नपर्ने अथवा धेरै सुत्ने जस्ता समस्या देखिएमा मानसिक रुपमा समस्या देखियो भनी बुझ्नुपर्छ। यस्ता समस्या देखिएमा परामर्श गरिहाल्नुपर्ने उनको सुझाव छ। 

लामो समय तनाव लुकाएर राख्दा मुटुरोग, उच्च रक्तचाप, मधुमेह, ब्रेन ह्यामरेजजस्ता शारीरिक समस्या देखिन सक्छन्। मानसिक रूपमा डिप्रेसन, एन्जाइटी, अनिद्रा, झर्किने, डराउने, चिडचिडाहट हुनेजस्ता रोग देखिने चिकित्सकहरु बताउँछन्।

निद्रा कम हुने, राति झसंग हुँदै ब्युँझने, बिनाकारण थाकेजस्तो हुने, चिडचिडाहट हुने, झर्को लाग्ने, नैराश्यता बढ्ने, यत्तिकै अत्तालिने, डर लाग्नेजस्ता लक्षण देखियो भने त्यो तनावको कारण हुन सक्छ।

मनोविद् अनन्त प्रसाद अधिकारीका अनुसार कोभिड निको भएपछि कैयौं व्यक्तिमा शारीरिक रूपमा खासै केही नभए पनि मानसिक समस्या पाइने गरेको छ। डर लाग्ने, चिन्ता हुने र निद्रा नलाग्ने समस्या धेरैमा देखिने गरेको उनी बताउँछन्। ‘मानिसलाई दैनिकीमा असर पर्ने, शारीरिक रुपमा पनि फरकपन आउन थाल्यो वा त्यही कुरामा बढी ध्यान दिन थालेमा मानसिक समस्या देखिन्छ। त्यस्तो अवस्थामा चिकित्सकहरूले उचित परामर्श दिनुपर्छ,’ अधिकारी भन्छन्। कोभिडपछिका मानसिक समस्या लिएर अस्पताल पुग्नेलाई चिकित्सकहरुले मनोविद् वा मानसिक स्वास्थ्यविज्ञकहाँ जान सुझाउनुपर्ने उनी बताउँछन्।

मनोविद् तृष्णाका अनुसार महामारीले सिर्जना गरेको आर्थिक–सामाजिक समस्याका कारण आत्महत्या गर्नेको संख्या पनि बढेको छ। ‘सानोे कुरामा पनि मानिसहरु धेरै सोच्ने भएका छन्। अर्को डरलाग्दो अवस्था के छ भने अहिलेको समयमा विशेषगरी युवावस्थाका मानिसहरुमा मानसिक समस्या देखिएको छ। २५–४० वर्ष भनेको मानिसको कमाउने उमेर हो। तर लकडाउनका कारण कतिपयको रोजगारी गुम्यो, रोजगारी भएकाहरुले पनि पूरा तलब पाएनन्। त्यसैले आर्थिक अभावका कारण उनीहरुमा मानसिक समस्या देखिएको छ। यसले गर्दा कामप्रति ध्यान दिन नसक्ने, ऊर्जाशील समय नै चिन्तामा बिताउनुपरेको छ,’ तृष्णा भन्छिन्।

उनका अनुसार मानिसहरु प्यानिक एपिसोड लिएर अस्पताल पुग्छन्, डिप्रेसन देखिएको छ, धेरैजसो मानिसहरु निन्द्रा गुमाएर अस्पताल पुग्ने गरेका छन्। उनीहरुमा छटपटी छ, तर समाधानको कुनै विकल्प पाएका छैनन्। त्यसमाथि जब समस्याको हल थाहा हुन्न र त्यो हाम्रो हातमा पनि हुँदैन, तनाव झनै बढ्छ। आफ्नो नियमित दिनचर्यामा अभ्यस्त मान्छे महिनौंदेखि घरमा थुनिएर बस्नुपरेपछि तनाव हुने नै भयो।

समाधान के त? 

मनोविद्हरुका अनुसार धेरै मानिसलाई शारीरिक र मानसिक स्वास्थ्य फरक कुरा हो भन्ने थाहा छैन। मानसिक समस्याको बारेमा खुलेर कुरा गर्ने चलन पनि हामीकहाँ छैन। मानिसक समस्या लुकाउने प्रवृत्ति छ, जसका कारण यस्तो समस्या भुसको आगोझैं फैलिरहेको छ।

मनोविद् अधिकारी भन्छन्, ‘यतिबेला मानिसहरु आफन्त र साथीभाइसँग पनि टाढिएका छन्, एक्लो महसुुस गरेका छन्। महामारीसँग ड्दिा मानसिक रुपमा पनि थाकेका छन्। कोभिड भएर तंग्रिन खोजेका मानिसहरुलाई मानसिक समस्याले सताएको छ। तर मानसिक समस्यालाई त्यति प्राथमिकतामा राखेको पाइँदैन। शारीरिक समस्यालाई जित्न जति आवश्यक छ, त्यति नै मानसिक रुपमा पनि स्वस्थ्य हुन जरुरी छ। गम्भीर बनेपछि मात्र अस्पताल आइपुग्नेचलन छ। अरुले के भन्लान् भन्ने डरले पनि मानिसहरु मानसिक समस्याका बारेमा खुलेर कुरा गर्न चाहँदैनन्।’ शारीरिक वा मानसिक दुवै समस्यालाई समस्याकै रुपमा लिएर तत्काल अस्पताल जान चिकित्सकहरुको सुझाव छ। 

मनोविद् कुँवर भन्छिन्, ‘मानसिक समस्यालाई समयमै व्यवस्थापन नगरे रोगको रूप लिन सक्छ। त्यसैले तनावका कारण शारीरिक तथा मानसिक स्वास्थ्य र सोचमा आउन सक्ने परिवर्तनको ख्याल गर्नु जरूरी छ। धेरै समय स्क्रिनमा बिताउँदा त्यसले आफूभित्र चालै नपाउने गरी एक्लोपन विकास गरिदिन सक्छ। एक्लोपन र असुरक्षाको भावना महसुस गरिरहेका मानिसले सकेसम्म सामाजिक सञ्जाल र मोबाइलमा धेरै समय बिताउन हुँदैन।’

उनका अनुसार कतिपयले तनाव भयो भनेर आफ्नो दैनिकी नै खल्बल्याउने गर्छन्। यस्तो समयमा आफ्नो दैनिकी, खानपान, निन्द्रालाई निकै ध्यान दिनुपर्छ। तनावका कारण डर, एन्जाइटी, बेचैनी नियन्त्रणभन्दा बाहिर जाँदै छ भन्ने महसुस भएमा स्वास्थ्यकर्मी, मनोचिकित्सक वा परामर्शदातासँग सम्पर्क गर्नुपर्छ।

कोभिड–१९ महामारीमा धेरैले रोजगारी गुमाए। कतिपयले तलब समयमा पाएनन्। व्यापार–व्यवसाय ठप्पजस्तै भयो। भेटघाट र घुमघामका लागि बाहिर निस्कन पाइएन। आफ्नो कुरा सेयर गर्ने मौका मिलेन। कतिपय अवस्थामा पारिवारजनसँगै पनि भेटघाट हुन सकेन। यसले पनि मानसिक समस्या बढाएको हुनसक्ने विज्ञहरू बताउँछन्। 

मानसिक स्वास्थ्यसम्बन्धी समस्या हेर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा मानसिक स्वास्थ्य शाखा पनि छ। शाखाका प्रमुख डा. फणिन्द्रप्रसाद बरालका नेपालमा मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्या भनेर कार्यक्रम सुरु गरेको चार वर्ष भएको छ। तर पनि समुदायस्तरमा मानसिक स्वास्थ्य कार्यक्रम पुगेको छैन। उनका अनुसार अबको केही वर्षमा नै सबै जिल्लामा मानसिक स्वास्थ्य कार्यक्रम लैजाने लक्ष्य छ। प्रत्येक जिल्लामा कम्तीमा एक जना मनोविज्ञ र एउटा पालिकामा एकजना काउन्सिलरको दरबन्दी सिर्जना गर्ने लक्ष्य छ। विभिन्न संघसंस्थासँग सहकार्य गरेर मानसिक स्वास्थ्यसम्बन्धी काम गरिरहेको डा. बराल बताउँछन्। 

कोभिड–१९ र लकडाउनले पार्ने मनोवैज्ञानिक असर न्यूनीकरण, उपचार तथा परामर्शका लागि ईडीसीडीले १११५ मार्फत गुनासो सुन्ने र परामर्श दिने गरेको छ। यस्तै, मानसिक अस्पताल पाटनको ११६६ मार्फत सुसाइड प्रिभेन्सन हेल्पलाइन सञ्चालनमा छ। डा. बराल भनछन्, ‘सरकारले काम नगरेको होइन, तर पनि अपेक्षित उपलब्धी भएको छैन।’