मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदरमुकाम भएकै पालिकाको एक गाउँ १४ बर्ष देखि अन्धकारमा

सदरमुकाम भएकै पालिकाको एक गाउँ १४ बर्ष देखि अन्धकारमा


अछाम- अछाम सदरमुकाम मंगलसेनकै एउटा गाउँमा बिजुली बत्तीको सुविधा छैन भन्दा आश्चर्य लाग्न सक्छ ।  २०५८ सम्म जिल्ला सदरमुकाम मंगलसेनमै भरपर्दो बिजुली बत्ती थिएन । पछिल्लो समय विद्युत् सेवाको पहुँचमा छ । तर, ५८ सालमै झिलीमिली बिजुली चम्किने मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीको डाँडीगडे गाउँ भने १४ वर्षदेखि अन्धकारमा छ ।

ग्रामीण ऊर्जा कार्यक्रमअन्तर्गत चाइराखोला लघु जलविद्युत् आयोजनामार्फत निर्माण भएको १२ किलोवाट क्षमताको विद्युत्बाट डाँडीगडे गाउँका २ सय घरधुरीले ८ वर्षसम्म बिजुली बत्तीको सेवा लिए । तर, २०६४ मा विद्युत्को पावर हाउसमा रहेको मेसिनमा सामान्य खराबी आउँदा अवरुद्ध बनेको विद्युत् सेवा अहिलेसम्म सुरु हुन नसकेको हो । 

‘२०६४ मा अवरुद्ध बनेको विद्युुत् सेवालाई सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले चासो दिएनन् । विद्युत्का लागि विकल्प पनि छैन’, स्थानीय भवानीप्रसाद ढुंगानाले भने । ग्रामीण ऊर्जा विकास परियोजनामार्फत १२ लाख अनुदान र ७ लाख रुपैयाँको जनश्रमदानबाट बनेको उक्त विद्युत्को पावरहाउसमा रहेको मुख्य मेसिनमा २०६४ मा सामान्य खराबी आएको थियो ।

मेसिन मर्मतका लागि अपरेटर नपाउँदा तत्कालीन अवस्थामा मर्मत गर्न नसक्दा अहिले आयोजना ध्वस्त भइसकेको स्थानीय हिक्मत बोगटीले बताए ।  अब उक्त योजना मर्मतभन्दा पनि आयोजनालाई नयाँ तरिकाले निर्माण गर्नुपर्ने अवस्था रहेको अर्का स्थानीय दुर्गा जैसी सुनाउँछन् ।

साँफेबगरसम्म मात्रै सडक पुगेका बेला डाँडीगडेका नागरिकले सिमेन्टदेखि मेसिन र विद्युत्का लागि आवश्यक पर्ने अन्य सबै पार्टपुर्जा श्रमदानमा बोकेर ल्याएको स्थानीय रामबहादुर मिझारले स्मरण गरे । उनले भने, ‘आयोजना सामान्य मर्मतसमेत हुन नसक्दा गाउँ नै अन्धकार भयो ।’ अहिले गाउँलेले श्रमदानमै गाडेका सालका पोल भाँचिएका र विद्युत् तार पनि चुँडिएको अवस्थामा छन् । विद्युत् अभावका कारण स्थानीय बालबालिकालाई पढ्न, मिल सञ्चालनलगायतमा अप्ठेरो पर्दै आएको छ ।

बेलाबेलामा उक्त विद्युत् आयोजना मर्मत स्टिमेट तयार पारिए पनि कुनै निकायबाट पहल हुन नसकेको शिशुकल्याण आधारभूत विद्यालयका शिक्षक मीनबहादुर बोगटीले जानकारी दिए । ऊर्जाले त्यतिबेला विद्युुत् बाले पनि त्यसपछि चासो नदिँदा आयोजना लथालिंग भएको मंगलसेन नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष प्रेमबहादुर थापाले बताए ।

उनका अनुसार उक्त आयोजनाका पार्टपुर्जा खिया लागेर काम नलाग्ने भइसकेका छन् । राष्ट्रिय प्रसारण लाइनका लागि पहल भइरहेको उनले जानकारी दिए ।  ‘उक्त गाउँमा बिजुली बत्तीका लागि टेन्डर भइसकेको छ । आउँदो भदौबाट काम सुरु हुनेछ’, वडाध्यक्ष थापाले भने, आवश्यक पर्ने ७८ वटा पोलको ठेक्का भइसकेको छ ।’ 

मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले उक्त गाउँका लागि पटक-पटक ठेक्का भएर पनि काम हुन नसकेको स्वीकोर । ‘१ वर्षदेखि निरन्तर पहल गरिरहेका छाैँ । तर, ठेक्काको काम हुन नसक्दा ढिलाइ भएको हो ।’