मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘विन्डोज ११’ को सुरुवातसँगै सकिएको हो त ‘एपहरुको राजा’ को युग ?

‘विन्डोज ११’ को सुरुवातसँगै सकिएको हो त ‘एपहरुको राजा’ को युग ?


बीबीसी । माइक्रोसफ्टले सार्वजनिक रुपमा आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज ११’ को घोषणा गरिसकेको छ । यो सिस्टमले अहिलेका भर्जनलाई आगामी केही वर्षसम्म प्रतिस्थापन गर्नेछ । र, यसका नयाँ फिचरहरुमध्ये एक परम्परागत सेवामा वर्षौँपछि बदलाव ल्याउन लागिएको छ ।

त्यो हो, भिडियो कलिङ एप, ‘माइक्रोसफ्ट टिम्स’ जुन २०२० मा अचानक लोकप्रियताको उचाइमा पुग्यो । यसलाई विन्डोज ११ मा पहिले नै स्थायी रुपमा राखिएको हुनेछ । जसको अर्थ वर्षौँपछि पहिलोपटक नयाँ विन्डोजमा भिडियो कलिङ एव, ‘स्काइप’ हुनेछैन । 

यसले के स्पष्ट पार्दछ भने अहिलेको समयमा टिम्स नै सबैको मन पर्ने टुल बनेको छ जसले कुनैबेला ‘एपहरुको राजा’ नाम पाएको स्काइपको अन्त्यलाई संकेत गर्दछ । 

‘आइरिस एण्ड सन्डे इन्डिपेन्डेन्ट’ का प्राविधिक एडिटर एड्रियन रेक्लरले लेखेका छन्, “माइक्रोसफ्टले अन्ततः स्काइपलाई सदाका लागि बिदा गर्न लागे जस्तो देखिन्छ । बाइ बाइ स्काइप ।” उनको सो भनाइको तत्काल प्रतिक्रिया दिँदै भर्जका टम वारेनले ‘आरआइपी स्काइप’ लेखेका हुन् । तर स्काइपको आधिकारिक अन्त्य अहिले भइरहे जस्तो देखिए पनि यसले लामो समय अगाडि नै आफ्नो सबै लोकप्रियता गुमाइसकेको मानिन्छ । 

माइक्रोसफ्टले १० वर्ष अगाडि स्काइपलाई ८.५ अर्ब डलरमा खरिद गरेको थियो । त्यस समय यो माइक्रोसफ्ट कम्पनीको सबैभन्दा मूल्यवान् खरिद बनेको थियो र धेरैले यसका लागि आवश्यक भन्दा बढी नै खर्च गरिएको सम्बन्धी कम्पनीमाथि प्रश्न पनि उठाएका थिए । तर माइक्रोसफ्टले एक अर्ब पटक डाउनलोड भएको त्यस समयको वास्तवमै लोकप्रिय एप खरिद गरिरहेको थियो जसका लाखौँ करोडौँ प्रयोगकर्ता थिए । 

तत्कालीन माइक्रोसफ्ट प्रमुखले यसबारे प्रक्षेपण गर्दै भनेका थिए, “स्काइपसँग मिलेर हामीले प्रत्यक्ष अन्र्तक्रियाको नयाँ भविष्य सिर्जना गर्नेछौँ ।” र, केही समय उनको भनाइमाथि कसैले शंका गर्ने अवस्था पनि थिएन किनकी हरेक नयाँ कम्प्युटरमा स्काइप हुन्थ्यो जसले प्रयोगकर्ताको सङ्ख्या बलियो कायम राख्यो । 

तर दशकको मध्यतर्फ आइपुग्दा इन्टरनेट फोरम भरि ‘स्काइप किन यति धेरै खराब छ ?’ भन्ने जस्ता प्रश्न र गुनासो व्याप्त हुन थाल्यो । धेरैलाई यसको अपडेटसँग समस्या थियो । अधिकांश प्रयोगकर्ताले यसको कमजोर प्रस्तुती र डिजाइनका छनोटबारे प्रश्न उठाइरहेका थिए । यससँगै ‘मोबाइल मेसेजिङ एप’ जस्तै वाट्सएप, फेसबुक मेसेन्जर अचानक लोकप्रियताको चुलीमा पुगिरहेका थिए र यिनीहरुले केही समयमै भिडियो कलको सेवा पनि सुरु गरे जुन स्काइपको सबैभन्दा मुख्य र एकमात्र आकर्षण थियो । 

स्काइपको पहिलो भर्जन २००३ मा लन्च भएको थियो र निरन्तर अपडेटका वावजुद यसले पुरानो भइसकेको संकेत देखाउँदै आएको छ । अर्कोतर्फ माइक्रोसफ्ट अहिलेको आधुनिक प्रविधिमा आधारित व्यवसायिक च्याट एप, ‘टिम्स’ को निर्माणमा लागिरहेको थियो जसलाई २०१७ मा लन्च गरिएको हो । 

सिसिएस इन्साइटकी विश्लेषक, एन्जेला एसेनडेनले व्याख्या गर्दै भनिन्, “माइक्रोसफ्टले स्काइपलाई पछि छाडेको धेरै वर्ष भयो । अहिले यसले टिम्सलाई नै नयाँ युगको रणनीतिक भोइस र भिडियो प्रविधि बनाएको छ ।”

उनका अनुसार गुपचुप रुपमा टिम्सले पहिले स्काइपकै प्रविधि प्रयोग गरेको थियो । यसलाई वास्तवमा बिजनेस एप, ‘स्ल्याक’ सँग प्रतिस्पर्धा गर्नका लागि भनेर डिजाइन गरिएको थियो । तर त्यतिकैमा विश्व महामारी सुरु भयो जसले पहिले कमैलाई थाहा भएको नाम, ‘जुम’ अहिले सबैको घरमा साझा बन्न पुग्यो । यसको एक मात्र प्रतिस्पर्धी भनेको टिम्स नै थियो । 

यसरी गत वर्ष टिम्सको प्रयोग आकाशियो जसले माइक्रोसफ्टको सबैभन्दा साझा प्रविधिको स्थानबाट स्काइपलाई हटाइदियो । यस किसिमको अचानकको ठूलो सफलताले आगामी विन्डोजमा टिम्सको स्थायी उपस्थिति अपरिहार्य बनाइदियो ।

माइक्रोसफ्टको ‘प्रि–इन्स्टल्ड’ एपका रुपमा स्काइपलाई हटाएर टिमलाई राख्नु माइक्रोसफ्टको धारणामा ठूलो समाधान हो जसले लगानी कताबाट कता केन्द्रित गर्ने भन्नेमा विचार गरिरहेको थियो । 

गत सेप्टेम्बरमा मात्र माइक्रोसफ्टको स्वामित्वमा रहेको ‘लिंक्डइन’ एपले पनि भिडियो मिटिङ ल्याउने घोषणा गर्यो जसमा फेरि पनि स्काइप नभएर जुम, ब्लुजिन्स, टिम्स लगायत अन्य लोकप्रिय सिस्टमहरुको च्याट फिचर प्रयोग गरिने बताइएको छ ।  

गत अक्टोबरमा माइक्रोसफ्टका कार्यकारी जिम गेनोरले सिएनबीसीसँग कुरा गर्दै भनेका हुन्, “यदि स्काइप साँच्चै ठूलो हुन सक्थ्यो भने यो वर्ष सबैभन्दा उत्तम समय थियो । तर यस्तो बेला पनि यसमा कुनै उल्लेखनीय वृद्धि देखा परेन र उत्पादन प्रयोगमा ल्याउन धेरै ढिला भइसक्यो जसको अर्थ यसले फस्टाउने मौका गुमाएकै हो । ”

तर यी सबैका वावजुद महामारीमा स्काइपको वृद्धि शून्य रह्यो भन्ने चाहिँ होइन । गत वर्ष यसको प्रयोग ७० प्रतिशतले बढेर दैनिक ४ करोड प्रयोगकर्ता पुगेको थियो । तर यसका अन्य प्रतिस्पर्धीलाई हेरेर यसलाई धेरै ठूलो उपलब्धी मान्न नसकिने बताइएको छ । पूरै दुनियाँलाई कलिङ एपको आवश्यकता परेका बेलामा धेरैले स्काइप नभइ अरु नै विकल्प चुनेका हुन् । यति हुँदा हुँदै पनि स्काइप पूर्ण रुपमा हटिसकेको चाहिँ छैन । माइक्रोसफ्ट स्टोरमा हामीले कुनैपनि बेला यसलाई डाउनलोड गरेर चलाउन सक्छौँ ।