मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत

मध्यपहाडी राजमार्गको अछाम खण्ड क्षतविक्षत


कैलाशखोला–बयलपाटा सडक खण्ड। तस्बिर: योगेश रावल

अछाम : पहाडै पहाड जोड्ने पुष्पलाल (मध्यपहाडी) राजमार्ग अन्तर्गत अछाम खण्डमा निर्माण भएको सडक भत्किन थालेको छ। निर्माण सम्पन्न भएसँगै सडक भत्किन थालेपछि राज्यको करोडौं लगानी बालुवामा पानी सरह बनेको छ।  

कर्णाली नदी किनार बेलखेतदेखी बयलपाटासम्म निर्माण भएका तीन वटा सडक खण्डको अवस्था क्षतविक्षत छ। कतिपय ठाउँमा सडक भासिएको छ भने कतिपय ठाँउमा पहिरो गएर क्षति पुर्याएको छ। पिएस लामा कन्ट्रक्सनले तीन वर्षवर्ष अघि निर्माण गरेको कैलाशखोलादेखी बयलपाटासम्मको ११ किलोमिटर सडक मात्रै दर्जन बढी ठाउँमा भत्किएको छ।  

सोही राजमार्ग अन्र्तगत बेलखेतदेखी विनायकसम्मको १२ किलोमिटर सडकको अवस्था समेत उस्तै छ। सडकको अधिकांश ठाउँमा पहिरो गएको छ। सो सडक असिम निर्माण सेवाले गतवर्ष मात्रै निर्माण गरेको हो। त्यस्तै चन्द्रा एण्ड बसन्तले निर्माण गरेको सदरमुकाम मंगलसेनदेखी ठाँटीखादसम्मको १४ किलोमिटर सडकको अवस्था समेत उस्तै छ। 

कैलाशखोलादेखी बयलपाटा र मंगलसेनदेखी ठाँटीखादसम्मको सडक निर्माण कम्पनीले हस्तान्तरण गरिसकेका छन भने बेलखेतदेखी विनायकसम्मको सडक हस्तान्तरण हुन बाँकी छ। सडक निर्माण सम्पन्न भैसकेपछि लामो समयसम्म बेबारिसे जस्तै बनेका छन। केही समय निर्माण कम्पनीले रेखदेख गरेपनि हस्तान्तरण भैसकेपछि भने सडक बेबारिसे बनेका हुन। सरकारी पक्षले सडक मर्मत र रेखदेखमा चाँसो नदिएका कारण सडकको अवस्था वर्षेनी बिग्रिदै गएको हो।  

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख अर्जुन बमले सडक निर्माण भैसकेपछि मर्मत सम्भार र रेखदेखको व्यवस्था हुन नसक्नु कमजोरी भएको स्विकारे। उनका अनुसार सडक डिभिजन जस्तो योजना मार्फत निर्माण भएका सडकमा मर्मत सम्भार र रेखदेखको व्यवस्था छैन। ‘हाम्रोमा मर्मत र रेखदेखको व्यवस्था नै छैन’ उनले भने–‘आगामी वर्षदेखी त्यसतर्फ बजेट विनियोजन हुन्छ।’

उनले केही दिन अघि मात्रै सडकको स्थलगत अवलोकन गरेका छन। उनका अनुसार वर्षायाम सुरु भैसकेकाले तत्काल सडक मर्मतको सम्भावना छैन। उनले थप क्षति हुन नदिने तर्फ पहल भैरहेको जानकारी दिए। ‘एक महिनादेखी रोकथामको प्रयास भैरहेको छ’ उनले भने–‘आगामी असोजबाट मर्मतको काम सुरु हुन्छ।’

उनले केही ठाउँमा स्थानीय पालिकाले जथाभावी सडक निर्माण गरेकोले पनि मध्यपहाडी राजमार्गलाई असर पारिरहेको गुनासो गरे। उनका अनुसार मध्यपहाडी राजमार्गको संवेदनशीलतालाई ख्याल नगरेर स्थानीय पालिकाले जथाभावी सडक बनाएका छन। ‘हामीसँग कुनै समन्वय नै छैन’ उनले भने–‘जथाभावी डोजर प्रयोग गरेर सडक निर्माण भैरहेको छ।’

कतिपय ठाउँमा कार्यालय प्रमुख बमले भने जस्तै देखिए पनि केही ठाउँमा भने सडक भासिएको छ। कैलाशखोलादेखी जमालगाउँसम्मको उकालोमा कार्यालय प्रमुख बमले भने जस्तो स्थानीय पालिकाले निर्माण गरेका सडक छैनन्। न त त्यहाँ पानी थुनिएर पहिरो जाने अवस्था छ। तैपनि दर्जन बढी स्थानमा सडक भासिएको छ। उनले निर्माणका क्रममा कमि कमजोरी भएका कारण पनि सडक भासिएको हुनसक्ने स्विकारे। ‘तपाईले भने जस्तो कमि कमजोरी पनि भएको हुनसक्छ’ उनले भने–‘तर सबै ठाउँमा सडक कमजोर छैन।’

उनले सडकको डिपिआरकै क्रममा प्राविधिक रुपमा क्षतिको पूर्वानुमान नगर्नुले पनि समस्या भैरहेको बताए। ‘बेलखेतदेखी विनायकसम्मको सडकको समस्या यही हो’ उनले भने–‘एउटै पहिरोले सात ठाउँमा सडक भत्काएको छ।’ ठाउँ ठाउँमा सडक क्षतविक्षत भएका कारण यातायातका साधन सञ्चालनमा निकै समस्या भैरहेको छ।

स्थानीय बासिन्दा सडकको अवस्थाकै कारण दुर्घटना हुने गरेको बताउँछन। स्थानीय ध्वजबहादुर धामीले सडक धराप बनेको बताए। योजना कार्यालयले हाल मध्यपहाडका पाँच जिल्लाको सडक निर्माण गरिरहेको छ। प्रमुख बमका अनुसार रुकुम पूर्वदेखी पश्चिमतर्फको ४९० किलोमिटर मध्ये २०७ किलोमिटर राजमार्ग कालोपत्रे भैसकेको छ। अन्य ठाउँमा ट्राक खोल्ने र नाली निर्माणको काम भैरहेको छ। मध्यपहाडी राजमार्ग पूर्व पाँचथरको चियोभन्ज्यांग देखि सुरु भएर अन्तिमविन्दु बैतडीको झुलाघाट सम्म हो। – योगेश रावल / नागरिक