मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप २०२२ को अन्तिम छनोट खेल खेल्दै नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था

विश्वकप २०२२ को अन्तिम छनोट खेल खेल्दै नेपाल, यस्तो छ अहिलेसम्मको अवस्था


काठमाडौं- फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को अन्तिम संयुक्त छनोट खेलमा आज नेपालले अष्ट्रेलियाको सामना गर्दैछ। कुवेतको जाबेर अल–अहमद रंगशालामा आज (शुक्रबार) राति पौने १० बजेबाट सुरु हुने खेलमा नेपालले अष्ट्रेलियासँग भिड्ने छ।

विश्वकप छनोटअन्तर्गत दोस्रो चरणमा प्रवेश गरेको नेपालको तेस्रो चरणमा पुग्ने सम्भावना भने अन्त्य भइसकेको छ। तर एसिया कपको तेस्रो चरणको छनोटको सम्भावना बाँकी छ।

त्यसका लागि नेपालले अष्ट्रेलियालाई हराउनु पर्छ। फिफा विश्व वरीयतामा समेत नेपालभन्दा धेरै अघि रहेको बलियो राष्ट्रलाई हराउन नेपाललाई धेरै ठूलो चुनौती हुनेछ।

त्यसैले कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्धको खेलमा अनुभवका लागि नेपालका युवा खेलाडीलाई मौका दिने बताएका छन्।

‘हो। सबै कुरा राम्रो रह्यो भने उनीहरूले (युवा खेलाडी) खेल्नेछन्,’ प्रशिक्षक अलमुताइरीले खेलअघि भने, ‘थाहा छ कि अष्ट्रेलियासँग खेल्नु चुनौतीपूर्ण हुनेछ तर उनीहरूले खेल्नु महत्त्वपूर्ण छ।’

उनले आफ्नो नेतृत्वमा नेपालले अर्को एउटा राम्रो खेल देखाउने पनि बताएका छन्। उनले नेपालको खेल्ने शैली सुधारिएको भन्दै अष्ट्रेलियाविरुद्धको खेलमा सबै समर्थकलाई खुसी बाँड्ने बताएका छन्।

अष्ट्रेलियाका प्रशिक्षक ग्राहाम अर्नोल्डले पनि मैदान उत्रने खेलाडीमा परिवर्तन ल्याउने बताएका छन्।

उनले भने, ‘हाम्रो स्क्वाडमा चार गोलकिपरसँगै २९ खेलाडी छन्। त्यसैले नेपालविरुद्धको खेलमा केही परिवर्तन हुनेछ।’

उनले नेपाली टिमले कडा अभ्यास गरेको बताउँदै आफ्नो टिमले नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने बताए।

‘नेपाली टिमले कडा मिहिनेत गरिरहेको छ र उसको खेल्ने शैली पनि परिवर्तन भएको छ। मैदानमा खेलाडीको रनिङ राम्रो छ,’ उनले भने, ‘नेपाल फुटबलमा विकासशील टिम हो। हामी पनि राम्रो प्रदर्शन गर्ने लक्ष्यमा हुनेछौं।’

नेपालले अष्ट्रेलियाविरुद्ध यसअघि मात्र एक खेल खेलेको छ। सो खेलमा नेपालले ५–० गोलअन्तरको हार बेहोरेको थियो। त्यसबाहेक अष्ट्रेलियासँग नेपाली टिमको कुनै इतिहास छैन।

विश्वकप २०२२ छनोटमा नेपाली टिमको अहिलेसम्मको अवस्था

नेपाल र कुवेत (पहिलो लेग ७-० र दोस्रो लेगमा १-० को हार)

नेपालले विश्वकप छनोटमा सबैभन्दा ठूलो हार पहिलो खेलमै बेहोरेको थियो। कुवेतमा भएको खेलमा नेपालले पहिलो हाफमा दुई गोल सामना गरे पनि दोस्रो हाफमा पाँच गोलको सामना गरेको थियो।

कुवेतका लागि युसुफ नासरले छैटौं र ५० औं मिनेटमा गोल गरेका थिए। त्यस्तै फहद अल हजारी, अब्दुल्लाह मावी, बदर अल–मुतवा, रेधा अबुजाबरह र हुसैन अल–मुसावीले गोल गरेका थिए।

त्यस्तै दोस्रो लेगका लागि नेपालमा रंगशाला तयार नभएपछि खेल भुटानमा आयोजना गरिएको थियो। र, नेपालले ०–१ गोलअन्तरको हार बेहोरेको थियो।

२०१९ नोभेम्बरको खेलमा कुवेतका बडर अल मुतवाले २८ औं मिनेटमा गोल गरेका थिए।

नेपाल र अष्ट्रेलिया (नेपाल ५-० गोलले पराजित)

अष्ट्रेलियासँगको अवे खेलमा ज्यामी म्याकलरेनले छैटौं, १९ औं र अन्तिम मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए।

त्यस्तै, नेपालविरुद्ध ह्यारी सुट्टरले २३ औं मिनेटमा गोल गरे। यता नेपालका दिनेश राजवंशीले ५९ औं मिनेटमा आत्मघाती गोल गरेपछि नेपालले हार बेहोरेको थियो।

नेपालले अष्ट्रेलियाविरुद्धको दोस्रो लेग आज खेल्दै छ। 

नेपाल र जोर्डन (दुवै लेगमा समान ३-० गोलले पराजित)

जोर्डनमै सम्पन्न पहिलो लेगमा खेलको ५६ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै जोर्डनका फिरास शिल्बयले सुरुआती अग्रता बनाएका थिए। ७८ मिनेटमा मोहम्मद अल डिमइराईको पासमा अहमद एर्सिनले दोस्रो गोल गरे।

अन्तिम मिनेटमा डिमराईकै पासमा ९ नम्बरे बाह फैजलले अन्तिम गोल गरे। नेपालको तर्फबाट कुनै प्रहार पोस्ट भित्र छिर्न सकेन।

दोस्रो लेगमा पनि जोर्डनले पेनाल्टीमै अग्रता बनायो। जोर्डनका लागि बाह फैजलले पहिलो हाफ र दोस्रो हाफमा एक–एक गोल गरे भने यजन अल–अरबले दोस्रो हाफमा गोल गर्दै जोर्डनले ३–० गोलअन्तरको जित निकाल्यो।

नेपाल र चाइनिज ताइपेइ (दुवै लेगमा २–० गोलको जित)

ताइपेइमै सम्पन्न पहिलो लेगको खेलमा तेस्रो मिनेटमै अन्जन विष्टले हेडमार्फत् गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले अघि रहेको नेपालले दोस्रो हाफमा पनि गोल गर्न सफल रह्यो। खेलको ६३ औं मिनेटमा विष्टले नै गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए।

यससँगै जारी छनोटमा नेपालले पहिलो जित निकालेको थियो। दोस्रो जित पनि ताइपेइसँगै निकाल्यो। पहिलो हाफमै पेनाल्टीको अवसर पाएको नेपालले तेस्रो मिनेटमा अग्रता बनाएको थियो। अग्रताका लागि अन्जन विष्टले गोल गरे। त्यस्तै, दोस्रो गोल भने अर्का फरवार्ड नवयुग श्रेष्ठले गरेका थिए .