मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिमी तिमीजस्तै हुनु

तिमी तिमीजस्तै हुनु


युवराज अधिकारी 


तिमी तिमीजस्तै हुनु 
म नि आफैँजस्तै हुन्छु
यात्रा हो जीवन साथी
हिँड्दा कहिल्यै नहराउनु 
हार्दा कहिल्यै नडराउनु 
प्रत्येक हारले जित जन्माउँछ
नभए नि सपना देखाउँछ 

हेर त 
पाइला शिखरमा पनि हराउँछ 
हो तिमी तिमीजस्तै हुनु
म नि आफूजस्तै हुन्छु 
आदर्शमा बहकिएर 
ऊजस्तै हुन नखोज्नु
तर मर्म, कर्म र धर्म राख्नु

असफलताका मोडहरूमा 
सफलताको बीज खोज्नु
जिन्दगी आफ्नै हो
आफैँ भएर बाँच्नु

हो, हाँस्दा सँगै हासिदेलान्
साथ सम्झेर ढुक्क नहुनु
आँसु पुछ्दै आँखा खोल्दा
एक्लो पाएर विचलित नहुनु

जिन्दगी अलिकति भाग्य र
धेरै कर्मको संयोजन ठान्नु
एउटै बतास र एउटै आकाश भए पनि 
श्वास आफ्नो आफ्नै ठान्नु

ईश्वर एउटै भए पनि 
संस्कार आफ्नो आफ्नै मान्नु
साथी तिमी तिमीजस्तै हुनु
म नि आफूजस्तै हुन्छु

युद्धको मैदानमा उभिएपछि
साहस र कर्तव्यलाई जान्नु
कहिले हुरी, कहिले बतास
घामपानीको जिन्दगी ठान्नु

र पनि साथी
एक जुनी न हो जिन्दगी
तिमी तिमीजस्तै हुनु 
म नि आफूजस्तै हुन्छु ।