मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

क्रिकेट करिअरमा कुशलको कमाल

क्रिकेट करिअरमा कुशलको कमाल


विनय सापकोटा

काठमाडौं– सन् २०२१ लाग्दै गर्दा नेपाली क्रिकेटमा लकडाउनले पारेको असर त थियो नै, एउटा खुसीको समाचार पनि थियो। एसोसिएटतर्फ नेपालका पूर्वकप्तान पारस खड्का ‘प्लेयर अफ दि डिकेड’ (दशककै उत्कृष्ट खेलाडी) को मनोनयनमा पर्न सफल भएका थिए।

आईसीसीले दश वर्षको सर्वोत्कृष्ट खेलाडी सार्वजनिक गर्ने क्रममा खड्का त्यसको मनोनयनमा परे। भलै त्यो अवार्ड खड्काले जित्न सकेनन्। तर नेपाली खेलाडीको विश्वस्तरमा पहिचान स्थापित गर्ने त्यो एउटा खुड्किलो अवश्य बन्यो।

आईपीएल, बीबीएल, पीएसएललगायत विश्वस्तरीय प्रतियोगिता खेल्दै प्रतिष्ठा बटुल्ने अर्का क्रिकेटर हुन् सन्दीप लामिछाने। साथै टी–२० र एक दिवसीय क्रिकेटमा अर्धशतक हानेर युवा स्टार कुशल मल्लले पनि विश्व कीर्तिमान राखेकै छन्। त्यसैले भन्न सकिन्छ– नेपाली खेलाडीको अन्तर्राष्ट्रिय छविको ग्राफ उकालो लागिरहेको छ।

यस्तैमा अर्का खेलाडी कुशल भुर्तेल पछिल्लो समय नेपाली खेलप्रेमीबीच ‘हिरो’ बनेका छन्। उनी अप्रिल महिनाको बेस्ट प्लेयर अफ दि मन्थका लागि मनोनयनमा परे। बेस्ट प्लेयर अफ दि मन्थको मनोनयनमा परेका कुशल नेपालका पहिलो क्रिकेटर पनि हुन्। उनी प्लेयर अफ द मन्थ त बन्न सकेनन् तर उनको चर्चा भने ह्वात्तै चुलियो। कुशल र पाकिस्तानका फखर जमानलाई पछि पार्दै पाकिस्तानका खेलाडी बाबर अजाम अप्रिल महिनाका बेस्ट प्लेयर अफ दि मन्थ बनेका छन्। 

कुशल हालै नेपालमा आयोजित त्रिदेशीय सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै पाँच खेलमा चार अर्धशतक बनाएर चर्चित बनेका हुन्। उनले प्रतियोगिताको क्रममा २८६ रन जोडे। 

‘बाबर अजाम, फखर रहमानलाई म पहिलेबाटै फलो गर्र्थेँ। उनीहरुको गेम हेर्थेँ, राम्रो इनिङ दोहोर्याएर पनि हेर्थेँ। आज उनीहरुसँग एउटै लिस्टमा हुँदा गौरव लागेको छ। अझ भनौँ मलाई त एउटा सपना जस्तो लागिरहेको छ,’ आईसीसीको मनोनयनमा परेपछि कुशलले खुसी साटेका थिए।

राष्ट्रिय टिमबाट राम्रो प्रदर्शन गरेका कुशल मल्ल, करण केसी, सोमपाल कामीलगायत खेलाडीले केही अन्तराष्ट्रिय फ्रेन्चाइज खेलिसकेका छन्। त्यसले भुर्तेललाई पनि केही हदसम्म बाटो देखाएको छ। त्यसका लागि अझै मेहनत आवश्यक रहेको उनी बताउँछन्। भन्छन्, ‘देशबाट जति राम्रो गर्न सकिन्छ, त्यसले फ्रेन्चाइजको बाटो खोल्ने हो। प्रतियोगिता आइरहेको हुन्छ तर त्यसमा जानका लागि अझै धेरै अभ्यास गर्नुपर्छ। भर्खरैमात्र करियर सुरु भएकाले त्यसबारे धेरै सोचेको छैन।’

अब आउने खेलहरुमा राम्रो गर्न सके त्यो अवसर टाढा नभएको उनी बताउँछन्। ‘अर्को खेलका लागि यो एक प्रेरणा बन्न सक्छ। अवश्य नै यस्तैयस्तै कुराहरु नै खेलाडीका प्रेरणाका स्रोत हुन्,’ कुशल भन्छन्।

कुशलले अन्तर्राष्ट्रिय क्रिकेटमा आजको उचाइसम्म पुग्न कस्तो प्रदर्शन गरे, त्यो आज छर्लङ्गै छ। नेपालले सन् २०१४ मा आईसीसी टी–२० विश्वकप खेलेको इतिहास र २०१८ को भ्यालेन्टाइन डेको दिन करण केसीले गरेको प्रदर्शन अविस्मरणीय छ खेलप्रेमीका लागि। त्यसरी नै कुशलको लगातार तीन हाफ सेन्चुरीको कीर्तिमान पनि नेपाली क्रिकेट समर्थकले मनमा राखिरहने पल बनेको छ।

त्रिदेशीय सिरिज जितेपछि नेपालकाे राष्ट्रिय टाेली

कुशलका लागि पछिल्लो समय सम्पन्न नेपाल–नेदरल्यान्ड्स–मलेसिया सम्मिलित त्रिदेशीय टी–२० शृंखला स्मरणीय रह्यो। उनले डेब्युसँगै लगातार तीन अन्तर्राष्ट्रियमा हाफ सेन्चुरीको कीर्तिमान राखे। र, खड्किएको नेपाली ओपनिङ ब्याटिङमा नवयुगको सुरुवात गरे।

उनी खेल सम्झँदै भन्छन्, ‘पहिले जसरी खेलिरहेको छु, त्यसलाई नै निरन्तरता दिनेछु भन्ने सोचिरहेको थिएँ। डेब्युमै फिफ्टी नाघ्यो। त्यसपछि दायित्व बढेको जस्तो लाग्यो। समर्थकको पनि मप्रति आशा बढेको जस्तो लाग्यो। त्यसपछि सबै खेलमा सक्दो गर्नुपर्छ भन्ने अठोट लिएँ। पछि तीन खेलमै फिफ्टी नाघ्यो।’

उनले थपे, ‘तीन रेकर्ड बनिसकेपछि चाहिँ फाइनलमा अझै केही गर्छु भन्ने लाग्यो। नेपालले ११ वर्षदेखि घरेलु मैदानमा कुनै सिरिज जितेको थिएन। एकपटक जित्नुपर्छ भन्ने पनि लागेको थियो। त्यसैले फाइनलमा केही नर्भस त थिएँ। खासमा म सिरिज रेकर्ड बनाउन खेलेको थिइनँ। फाइनल जित्छु भनेर खेलेको थिएँ। तर दुवै भयो।’

उनको त्यो प्रदर्शनबाटै बलिङले धेरै प्रंशसा पाउने नेपाली क्रिकेट माहोल अहिले ब्याटिङतिर मोडिएको छ। समर्थकले पत्याउनै नसक्ने गरी त्रिविको मैदानमा जुन चौका र छक्का बन्यो, त्यसले धेरैलाई लोभ्यायो।

प्यारापिटमा बस्न नपाएर के भयो त? कोभिडलाई बेवास्ता गर्दै फाइनल हेर्न समर्थक मैदानमा पुगेरै छोडे। त्यही खेलमा त हो कुशलले तीन छक्कासहित ११ बाउन्ड्री प्रहार गरेका।

नेपालले १४२ रनको जित निकाल्दा त्यसका नायक थिए कुशल। फाइनलमा उनको अर्धशतक भन्दा पनि त्यसअघिका खेलमा उनले देखाएको प्रदर्शनले नै कुशललाई नेपाली क्रिकेटमा स्थापित गरेको थियो।

‘सिरिजमा डेब्यु गर्दै थिएँ। खुसी र दायित्व बराबरी नै थियो। क्रिकेट र देशलाई माया गर्नेहरुको प्रेरणाले मोटिभेसन मिलेको थियो,’ कुशलले सम्झिए, ‘यतिले मात्र त पुग्दैन, थप धेरै गर्नुपर्ने छ। त्यो नै सपना छ।’

पीपीएलकाे ट्रफीका साथमा कुशल

उनले नेदरल्यान्डविरुद्धको पहिलो खेलमा ६२, मलेसियाविरुद्ध अविजित ६१ र फेरि नेदरल्यान्डविरुद्ध नै प्रहार गरेको ६२ रनले नेपाली ओपनिङ ब्याटिङमा देखिएको समस्या समाधन गर्यो। एसीसी इस्टर्न रिजन खेल्दा होस् वा त्यसअघिको प्रतियोगितामा, नेपालको ब्याटिङ लय धरमराएको विश्लेषण गरिएको थियो। बिग्रिएको क्षेत्रको जिम्मेवारी लिन जहिल्यै चुनौती नै हुने गर्छ।

खेल सुरु हुनुपूर्व यो कुराले कति दबाब दियो त कुशललाई? उनी भन्छन्, ‘झन्डै एक वर्षपछि पहिलो सिरिज खेल्दै थियौँ। हामीले पहिलेको ब्याटिङ रेस्पोन्सिबिलिटी क्यारी गर्नैपर्ने थियो। र, हामी सक्षम छौं भनेर प्रमाणित गर्नुपर्ने थियो। टिममा र प्रशिक्षकमा परिवर्तन थियो। त्यो परिवर्तन पनि नेपालको खेलको परिवर्तन भएको जस्तो लाग्छ। यी परिवर्तनहरु नेपाली क्रिकेटमा राम्रो हुने समय आएको जस्तो भयो।’

गएको जनवरीबाट नेपाली टिम हेरिरहेका प्रशिक्षक डेव वाटमोरले ब्याटिङ र बलिङको राम्रो विश्लेषण गरिदिएपछि नेपाली खेल सुध्रिएको भुर्तेल स्वीकार गर्छन्। भन्छन्, ‘नेपाली ब्याटिङ जहिल्यै धरमराउँछ भन्ने मानसिकता भत्काउनु थियो। त्यो इख पनि थियो। सल्लाह पनि त्यही थियो कि नेदरल्यान्ड र मलेसियालाई दबाबमा राखेर खेल्ने।’

त्यसका लागि विश्वास नै सबैभन्दा ठूलो कडी थियो। ज्ञानेन्द्र मल्ल आफैं ओपनर थिए। आशिफ शेख र कुशल भुर्तेललाई उनले ओपनिङमा पठाउन उनीहरुप्रति कप्तानको विश्वास त्यसको कारक तत्व थियो। फलस्वरुप खेल पनि हाइ स्कोरिङ र सोचेजस्तै बन्यो।
एउटा कुरा केचाहिँ स्वीकार्नुपर्छ भने नेपालले घरेलु मैदानमा सफलता हात पारेको हो। ब्याटिङका लागि उपयुक्त र चिनेको पिच थियो।

त्यसैकारण ‘हाइ स्कोरिङ’ खेल भयो। तर सबै समय ब्याटिङमैत्री विकेट हुँदैन। आउँदो खेलको पिच ‘बलिङ फेबरेबल’ भएमा नेपालको लय पहिलेकै स्तरको हुने र फेरि आलोचित बन्ने अवस्था टाढा भने छैन। यसलाई कुशल पनि स्वीकार्छन्।

‘हो, यो खेल हाइस्कोरिङ थियो, घरेलु पिच पनि। तर अब यो लय कायम राख्ने एउटा टिम स्पिरिट छ। पिच ब्याटिङ फेबरेबल नभए पनि त्यसलाई हामीले समयअनुसार बलिङबाट फाइदा लिन सक्ने बनाउनु पर्छ,’ उनी जित निकाल्नेमा विश्वस्त हुँदै भन्छन्।

त्यसो त कुशलको करिअरमा धेरै अवरोह पनि आए। त्रिदेशीय सिरिजअघि सम्पन्न घरेलु एक दिवसीयमा उनले क्रमशः २, १०, १, ३४ र १५ रनमात्र बनाएका थिए। यता त्रिदेशीयमा समग्र २७८ को उच्च रन बनाए। जुन आफैंमा ठूलो उपलब्धि हो। यो चमत्कार कसरी भयो त? 

उनी यो सफलता लगातारको अभ्यास र प्रशिक्षकको अनुभवबाट सम्भव रहेको बताउँछन्। भन्छन्, ‘लकडाउनपछि गौतमबुद्ध कप, पीएम कप र मेयर कप गरी लगातार तीन प्रतियोगिता खेल्यौँ। त्यहाँ लगातार रन बनेन। एउटा गेममा रन लिन्थ्यौंं। अनि प्रतियोगिता भर लाग्दैनथ्यो। यो कुरा चाहिँ डेव सरले समाधान गरिदिनु भयो।’ मेयर कपपछिको राष्ट्रिय टिमको क्याम्प उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो। 

उमेर समूहबाट सिनियर टिममा पुग्न पाँच वर्ष लाग्यो। तर ढिलै भए पनि उनले त्यो सफलता हात पारे। उनले कीर्तिमान बनाइसकेपछि सामाजिक सञ्जालमा उनले आठ वर्षअघि लेखेको एक स्टाटसले खुबै चर्चा पाएको थियो। उनले लेखेका थिए, ‘जिल्लाको टिममा त छनोट भयो, अब सिनियर राष्ट्रिय टिममा पर्नका लागि मेहनत गर्नु छ।’

आज उनलाई ती दिन सम्झँदा निकै रमाइलो लाग्छ। ‘२०१४ को विश्वकपदेखि मलाई क्रिकेट नै खेल्नुपर्छ भन्ने लागेको थियो। खेलेपछि राष्ट्रिय टिममै पर्ने गरी त खेल्ने हो नि। अनि मलाई पनि विश्वकपमा खेल्न मन लागेर आयो। विश्वकपमा आफ्नो देशको प्रतिनिधित्व गर्ने सोच जागृत भयो। त्यही कुराको भोक थियो सायद त्यो पनि,’ उनले सम्झिए।

नभन्दै उनको राष्ट्रिय टिममा परेर खेल्ने सपना साकार बन्यो। त्यसका लागि आफ्ना बुबा दीपकले गरेको योगदानको उनी निकै कदर गर्छन्। ‘बाबा त कोरियामा हुनुहुन्थ्यो। पछि फर्किएपछि उहाँले नै स्कुलका प्रतियोगिता आयोजना गर्नुहुन्थ्यो,’ कुशलले सुनाए।

त्यसो त कुशलले एकपटक क्रिकेट प्रतियोगिता खेल्नकै लागि आफ्नो परीक्षा नै छोडेका थिए। मनले जे भन्छ, त्यही गरे उनले। परीक्षै माया मारेर खेलेको प्रतियोगिता त्यति धेरै सम्झनलायक त बनेन तर त्यसले क्रिकेटप्रतिको प्रेममा मलजल भने गरिरह्यो। परीक्षा त अर्को वर्ष दिएर पास पनि भइहाले। एक दशकको क्रिकेट करिअरमा कुशलले देशका सबैजसो फ्रेन्चाइज र घरेलु क्रिकेट खेलिसकेका छन्। 

खेलका क्रममा खेलाडी घाइते हुनु सामान्य हो। कहिलेकाहीँ चेटपटक लागेको समयमा उनी पढाइलगायतमा सक्रिय हुन्छन्। अहिले चाहिँ उनी क्रिकेटकै पिक फर्ममा छन्। तर कोभिड महामारीका कारण खेल छैन। निषेध आदेशका कारण अभ्यास पनि छैन। उनी आफ्नो गेम विश्लेषण गर्दै यो समयलाई सदुपयोग गरिरहेका छन्।

भन्छन्, ‘घरमा सामान्य अभ्यास गरिहेको छु। गएको सिरिजमा कस्तो खेलेँ, त्यसको रिभ्यु गरिरहेको छु। त्यसमा कस्तो गल्ती गरेँ र आउँदो सिरिजमा त्यसलाई नदोहोर्याउने भनेर गल्ती पहिचानमा छु।’