मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेमध्वज दाइ, कहिल्यै नओइलाउने फूल

प्रेमध्वज दाइ, कहिल्यै नओइलाउने फूल


चैत २५ गते प्रेमध्वज प्रधान दाइसँग अन्तिम तस्बिर खिचेको रहेछु। अन्तिम भेट चैत २७ गते आयोजित एउटा सांगीतिक कार्यक्रममा भएको थियो। अब के गर्ने?

दिनेश अधिकारी : प्रेमध्वज दाइसँग मेरो दोहोरो चिनाजानी २०४०/४१ सालदेखि भएको हो। २०४५ सालदेखि उहाँ र मबीच सम्बन्ध निकट हुन थाल्यो। मैले ०४८ सालमा प्रेमध्वज दाइबारे एउटा लामो आलेख तयार पारें। त्यो आलेख ‘विदेशीको नुन खाएर स्वदेशको गुन गाइरहेका कलाकार– प्रेमध्वज प्रधान’ शीर्षकमा प्रकाशित भयो। त्यतिखेरको चर्चित सिने मासिक ‘श्री’ मा प्रकाशित सो शीर्षकको आसय उहाँको जागिर अमेरिकी दूतावासमा र उहाँले गरेको संगीतको सेवा भने देशका लागि भन्ने थियो।

प्रेमध्वज दाइसँग मेरो निरन्तर सम्पर्क र सम्बन्ध रह्यो। कतिपय कानुनी घरायसी अप्ठ्यारामा दाइले मसँग कानुनी सल्लाह लिनुहुन्थ्यो। हाम्रो एकखाले पारिवारिक सम्बन्ध थियो।

दाइले २०४५ सालमा मेरो पहिलो गीत गाउनुभयो। ‘नजाऊ–नजाऊ जुनकिरी…’ बोलको सो गीतमा नातिकाजीको संगीत थियो। त्यसपछि पनि उहाँले मेरो गीत गाउने कुरा हुन्थ्यो। तर कहिले के मिल्दैनथ्यो, कहिले के।

यसैबीच २०५१ सालमा युवराज लामाद्वारा निर्देशित सिनेमा ‘जीवन संघर्ष’ बन्यो। मैले उहाँका धेरै चलचित्रमा गीत लेखेको थिएँ। त्यसमा पनि गीत लेख्ने प्रस्ताव आयो। युवराजजी भुन्नुहुन्थ्यो- तपाईंले लेखेको गीत होस्, रञ्जित गजमेरको संगीत होस् र प्रेमध्वजको स्वर। आखिर युवराज लामाले आफ्नो रहर पूरा गरेर छोड्नुभयो। सिनेमामा पाँचवटा गीत थिए। ती सबै प्रेमध्वज दाइले गाउनुभएको हो।

मैले भेटेका नेपाली कलाकारमध्ये प्रेमध्वज प्रधान साह्रै शालीन, शिष्ट, भद्र र अनुशासित हुनुहुन्थ्यो। उहाँजस्तो गुणका धनी अरू कलाकारसँग मैले भेट्ने मौका पाएको छैन। समयक्रममा उहाँसँग मेरो बाक्लै उठबस भयो। अहिले म उहाँलाई केही विशेष आधारमा सम्झिन्छु।

प्रेमध्वज दाइले रेडियो नेपालमा २००९ सालदेखि नै गीत गाउन थाल्नुभएको हो। रेडियो नेपालमा गाउन स्वर परीक्षा दिँदा उहाँले ‘ये रात सुहानी रात नही’ बोलको गीत गाउनुभएको थियो। त्यही गीत गाएर उहाँले रेडियोमा स्वर परीक्षा पास गर्नुभएको हो।

नेपालमा हिन्दी गीतको प्रभाव थियो। रेडियोबाहेक अन्त प्रसारण हुने ठाउँ पनि थिएन। रेडियोको प्रसारण लाइभ हुन्थ्यो। रेकर्ड हुने चलन थिएन। प्रायः कार्यक्रममा हिन्दी गीत मात्रै गाइन्थ्यो। उहाँलाई हिन्दी गीत विस्थापित गर्दै नेपाली गीत स्थापित गर्नुपर्ने चुनौती थियो। नेपाली गीतलाई लोकप्रिय बनाउनु थियो।

निरन्तरको संघर्षले उहाँले त्यो उचाइ हासिल पनि गर्नुभयो। त्यसैले  नेपाली आधुनिक सुगम संगीतको विकासक्रमलाई समग्रमा हेर्नुपर्‍यो भने प्रेमध्वज प्रधानको जीवन आफैंमा एउटा इतिहास हो।

उहाँले नेपाली गीतसंगीतमा पुर्‍याएको योगदानको जति चर्चा गरे पनि कमै हुन्छ। त्यसैले उहाँको योगदान नेपाली सुगम संगीतको एउटा सिंगो किताबझैं लाग्छ।

साथै, प्रेमध्वज प्रधान राम्रो संगीतकार पनि हुनुहुन्थ्यो। उहाँका संगीतमा करिब एक सय गीत रेकर्ड भएका छन्।

‘घुम्तीमा नआऊ है, आँखा तिमी जुधाउन…’ बोलको गीत प्रेमध्वज प्रधानको मानक गीतमध्येको एक हो। त्यो उहाँकै संगीतमा रेकर्ड भएको हो।

रत्नशमशेर थापाले लेख्नुभएको ‘गारेटो त्यो गाउँको, लौन आज खोजीखोजी थाके नि, पहिल्याउन सकिन..’ उहाँको अर्को मानक गीत हो। गीतमा प्रेमध्वज प्रधान र माणिकरत्नले संयुक्त संगीत भर्नुभएको थियो। 

प्रेमध्वज दाइले ‘माइतीघर’ बाट नेपाली चलचित्रमा गाउन सुरु गर्नुभएको हो। उहाँले एक दर्जन नेपाली चलचित्रमा गीत गाउनुभएको छ। उहाँले गाएका सबै चलचित्रका गीत उत्कृष्ट छन्।

शृंगार रसका गीतमा प्रेमध्वज बढी खुल्नुभएको छ। त्यस्ता गीतमा अझ बढी रस भरिएको भेटिन्छ।

मैले एकपटक तारादेवी दिदीलाई तपाईं कहिलेदेखि रेडियो नेपालमा गाउन थाल्नुभएको हो भनेर सोधेको थिएँ। उहाँले भन्नुभएको थियो– खै मलाई त सम्झना छैन। प्रेमध्वज दाइलाई थाहा होला!

नारायण गोपालले २०१६ सालमा रेडियो नेपालमा स्वर परीक्षा पास गर्नुभएको थियो। स्वर परीक्षा दिँदा उहाँले गाउनुभएको ‘धर्तीको काखमा…’ बोलको गीतमा प्रेम–माणिककै संगीत छ। 

प्रेमध्वजको कहिले पनि खस्किँदो लोकप्रियता रहेन।

नारायण गोपालले इन्द्रराज्य लक्ष्मी पुरस्कार पाएपछि गोरखापत्रले उहाँको अन्तरवार्ता छापेको थियो। अन्तरवार्तामा नारायण दाइले कलेजमा प्रेमध्वज प्रधानको गायनको लोकप्रियता देखेर आफू गायनतर्फ आकर्षित भएको बताउनुभएको छ। त्यसैले पनि प्रेमध्वज प्रधान नेपाली संगीतको एउटा सिंगो इतिहास हो भन्ने पुष्टि हुन्छ।

नेपाली साहित्यका माधव घिमिरे, सिद्धिचरण श्रेष्ठ, लक्ष्मीप्रसाद देवकोटा पूर्ण कवि भए जस्नै प्रेमध्वजलाई म पूर्ण गायक भन्छु। जीवनको उत्तरार्धसम्म पनि उहाँ गायनमा सक्रिय रहनुभयो।

उहाँ ८० वर्ष पुग्नुहुँदा विन्दवासिनी म्युजिकले उहाँको एकल एल्बम निकाल्यो ‘प्रेम गीत’ शीर्षकमा। उहाँको जन्म वि.सं. १९९५ जेठ २८ मा भएको हो। ८३ वर्ष हुँदा पनि उहाँले सांगीतिक कार्यक्रममा भाग लिइरहनुभएको थियो।

प्रेमध्वज दाइ प्रतिलिपि अधिकाबारे साहै्र सचेत हुनुहुन्थ्यो। सबैलाई प्रोत्साहित गरिराख्नुहुन्थ्यो उहाँ।

२०७७ चैत २७ गते विन्दवासिनी म्युजिकको वार्षिकोत्सव कार्यक्रममा प्रेमध्वज दाइ उपस्थित हुनुहुन्थ्यो। उहाँसँगै किरण खरेल दाइ, मलगायत थुप्रै स्रष्टा थियौं। प्रेमध्वज दाइ, किरण दाइ र मैले बरन्डामा उभिएर केहीबेर कुरा पनि गरेका थियौं।

यसरी जीवनको अन्तिम घडीसम्म पनि संगीतमा समर्पित हुनु ठूलो कुरा हो। मलाई लाग्छ, निरन्तरताको अर्को नाम पनि हो प्रेमध्वज प्रधान।

प्रेमध्वज र नारायण गोपालको पारिवारिक मित्रता थियो। मानिसलाई यी दुई बीचको सम्बन्ध कस्तो थियो होला भन्ने उत्सुकता भएको म पाउँछु। मरो विचारमा र मैले थाहा पाएअनुसार उहाँहरूबीच सुमधुर सम्बन्ध थियो।

प्रेमदाइ साह्रै सरल र असल मान्छे हुनुहुन्थ्यो। मान्छेमा अरूको सफलता वा प्रसिद्धि पचाउन नसक्ने दुर्गण हुन्छ। तर यस विषयमा प्रेमध्वज दाइमा कुनै समस्या थिएन। उहाँमा कुनै महत्त्वाकांक्षा थिएन। उहाँ अरू रमाउँदा आफू पनि रमाउनुहुन्थ्यो।

उहाँकी आमा प्राणदेवी पनि संगीतमा साह्रै रुचि राख्नुहुन्थ्यो। नारायण गोपाल प्राणदेवीसँग निकै निकट हुनुहुन्थ्यो। प्रेमध्वजसँग साथीको सम्बन्ध भए पनि आमासँग नारायण गोपालको पनि आमाकै जस्तो सम्बन्ध थियो। प्रेमध्वज दाइलाई गुमाउनु भनेको एउटा इतिहास गुमाउनु हो। उहाँ कहिल्यै नओइलिने फूल हो। उहाँले छोडेर गएको सुगन्ध सधैं हामी माझमा मगमगाइरहनेछ। – नेपालसमय