मुख्य समाचार

सरकारले त लास मात्रै गनिरहेछ…

देश कोरोनाले आक्रान्त छ। अस्पतालका शय्या संक्रमितले भरिएका छन्। बिरामी अक्सिजन नपाएर छटपटाइरहेका छन्। कतिपयचाहिँ अस्पतालको आँगनमै अक्सिजन! अक्सिजन!! भन्दै प्राण त्यागिरहेका छन्।

कोरोनाको ‘मेन्यु’ मा बालक, वृद्ध, युवा सबै छन्। त्यसैले सबैतिर भयावह अवस्था छ। नेपालीले अहिलेसम्म नभोगेको संकट भोगिरहेका छन्। एउटा उखान छ, ‘अनिकालमा बिउ जोगाउनु अप्ठ्यारोमा जिउ’। त्यसैले यो जिउ जोगाउने बेला हो। ज्यान जोगिए अन्य काम त जीवनभर गर्नु नै छ। त्यसैले यो संयम हुने बेला हो। एक जनाको सावधानीले परिवार हुँदै समाज जोगिन सक्छ।

देशका अधिकांश स्थानमा निषेध आदेश जारी छ। यसको पालना गर्नु हाम्रै जीवनरक्षाका लागि हो। कसैले प्रहरीको आँखा छलेर निषेध आदेश उल्लंघन गर्नु बहादुरी ठान्छ भने त्यो उसकै लागि हानिकारक हुन्छ। 

सबैले विश्व स्वाथ्य संगठनबाट जारी भएका स्वास्थ्य मापदण्ड पालना गर्नु नै बुद्धिमता हुन जान्छ। सेनिटाइजर र मास्कको प्रयोग, भौतिक दूरी कायम गर्नु, सरसफाइ गर्नु र तातो पानी पिउनु नै कोरोनाबाट बच्ने अचुक औषधि हुन्। यत्ति गर्दा हामीले पाएको सुन्दर जीवन जोगिन्छ भने किन नगर्ने?

विश्वले यसअघि इबोला, इपेनिस फ्लू जस्ता थुप्रै महामारी झेलिसकेको छ। अवस्था सधैं यस्तै रहने होइन। तर, विषम परिस्थितिसँग जुध्न सक्नुपर्छ। नेपालकै अवस्था हेर्ने हो भने दैनिक मृत्युदर बढिरहेको छ। स्वास्थ्यकर्मीले कुनै गम्भीर समस्या नभएका युवाले ज्यान गुमाइरहेका छन् भन्दै चिन्ता व्यक्त गरिरहेका छन्। तर, पनि हामी सजग हुन सकिरहेका छैनौं। 

यस्तो महामारीमा लापरबाही गर्नु हाम्रो अज्ञानता र मुख्र्याइँको पराकाष्ठा हो। हामी हाम्रो जीवनप्रति नै संवेदनशील हुँदैनौं भने अन्य  केमा संवेदनशील हौंला? शब्दमा सबैले चिन्ता व्यक्त गरिरहेका हुन्छौं। तर, व्यवहारमा लागू गर्दैनौं। हाम्रो व्यवहार नसुध्रिएसम्म यही अवस्थाको  सामना गरिरहनुपर्ने हुन्छ।

बाँकेको नेपालगन्ज कोरोना महामारीको हटस्पट बनेको छ। बेड नपाएर बिरामी भुइँमै लडिरहेका छन्। एक मृत्युको कामना गर्दै अर्को जीवन आईसीयूको प्रतीक्षामा छ। डाक्टरहरू बिरामीको चीत्कार सुन्नै नसक्ने अवस्थामा छन्। संक्रमित नर्स आफैंलाई लगाएको स्लाइन बोकेर बिरामीको उपचार गरिरहेका तस्बिर सार्वजनिक भइरहेका छन्। यति कारुणिक दृश्य छरपस्ट भइरहँदा पनि सरकार गम्भीर बन्न सकेको छैन।

निषेध आदेश मात्रै कोरोना रोक्नका लागि पर्याप्त हुँदैन। यो त महामारीको ‘चेन ब्रेक’ गर्न सहायक मात्र बन्ला। महामारी नियन्त्रण गर्न हाम्रो आनीबानीदेखि सरकारको कार्यशैलीमा सुधार हुन आवश्यक छ।

नेपालमा पहिलो चरणको कोरोना महामारी फैलिँदा तीन महिला लकडाउन भएकै हो। सोही समयमा स्वास्थ्य क्षेत्रका विज्ञले दोस्रो लहर भयावह रुपमा फैलिने चेतावनी दिएकै हुन्। सरकारलाई काम गर्न   पर्याप्त समय थियो। तर, स्वास्थ्य क्षेत्रमा कुनै ठोस काम गरेको देखिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै स्थानीय तहमा अस्पताल निर्माणको घोषणा गर्दै चर्चा बटुल्ने हतार मात्रै गरे। ओलीले कुर्सीमा बसेर ‘समृद्ध नेपाल सुखी नेपाली’ को भाषण गरिरहे। भाषणमा मात्रै समृद्धिका कुरा गरे समृद्ध हुने भए आज नेपाल स्वर्गको टुक्राजस्तो बनिसक्थ्यो।

उसो त सरकारमा बस्नेको ध्यान जनजीविकामा भन्दा पदीय लोलुपतामा केन्द्रित हुनुको परिणाम हो यो। दुई तिहाइ बहुमत प्राप्त दल नेकपा नै अस्थिरताको कारण बन्यो। एमाले र माओवादी केन्द्र एक भएपछि बनेको नेकपा मुलुककै शक्तिशाली दल थियो। बहुमत प्राप्त कम्युनिस्ट सरकार थियो। पार्टीभित्र द्वन्द्व हुँदा त्यो संसद्सम्म पुग्यो। 

१० वर्ष लामो जनयुद्ध हुँदै अस्थिर सरकारको चपेटामा परेका जनताले बहुमत प्राप्त सरकार हुँदा मुलुकले काँचुली फेर्ने परिकल्पना गरेका थिए। थिलथिलो बनेको अर्थतन्त्रले गति लिने विश्वास थियो। 

मुलुकले लामो संघर्षपछि संविधान पाएपछि नागरिकमा आशाको सञ्चार भएको थियो। स्थानीय तहसम्मै सरकार पुगेको थियो। तर, पछिल्ला राजनीतिक घटनाक्रमले जनताको त्यो आशा निराशामा परिणत हुन पुगेको छ। राजनीतिक दल र नेताप्रति जनताको वितृष्णा चुलिएको छ।

आफ्नै पार्टीको झगडा मिलाउन नसकेर तत्कालीन सत्तासीन नेकपा सडकमा उत्रियो। सरकार ढाल्न सडकमा नाराबाजी लागे। राजधानीका सडकमा पूर्वप्रधानन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल र प्रधानमन्त्री ओलीले तमासा देखाए। त्यस्तो तमासा प्रदेश हुँदै जिल्लासम्म देखियो। नेताहरूको उद्दण्डता र अपरिपक्व व्यवहारले सडक मात्रै तातेन त्यही भीडमा कोरोना पनि बल्झियो।  जसले गर्दा अहिलको यो दुःखद स्थिति सिर्जना भएको हो। अब यसको जिम्मेवारी लिने कसले?

भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीकै क्याबिनेट मन्त्रीहरू भ्रष्टाचारी साबित भए। देशमा अराजकता मात्रै मौलाएन, भ्रष्टाचारले पनि सीमा नाघेको छ। गरिखाने वर्ग मारमा छ। 

कोरोनाको पहिलो लहरपछि अस्थिर राजनीतिको खेलमा लागेको ओली नेतृत्वको सरकार स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तनमा लागेको भए जनता यति धेरै पीडामा पर्नुपर्ने थिएन। 

सरकार जनताको अभिभावक हो। मुलुकमा लोकतन्त्र छ। जनताले नै चुनेका प्रतिनिधिले देशको बागडोर सम्हालिरहेका छन्। जनप्रतिनिधि जनताको अभिभावक हो। जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ। सरकार चाहिने भनेकै अप्ठ्यारोमा हो। अहिले नागरिकले सरकार छ भनेर महसुस गरिरहेका छैनौं। सरकार त भाषणमा सीमित छ। 

कोरोनाले भयावह रुप लिँदा जनताका पक्षमा सरकारको कुनै ठोस निर्णय आएको छैन। दिनहुँ जसो मन्त्रिपरिषद् बैठक बस्छ। मन्त्रिपरिषद्ले प्रदेश प्रमुख र सरकारका मन्त्री फेर्ने निर्णय मात्र गर्छ। प्रधानमन्त्री ओलीले सोमबार देशवासीका नाममा गरेको सम्बोधनमा पनि जनताको स्वास्थ्य र दैनिक जीवन निर्वाहसँग सम्बन्धित विषयमा खासै केही कुरा समेटिएको पाइएन।

प्रमुख प्रतिपक्षी कांग्रेसदेखि मधेस केन्द्रित दलहरूको अवस्था पनि उस्तै छ। कांग्रेस कतिखेर सरकार ढल्ला र कुर्सीमा जाऔंला भनेर च्याँखे थापिरहेको छ। कुन दलसँग मिलेर बढी फाइदा लिन सकिएला भन्ने दाउमा मधेसी नेताहरू छन्। यस्तो बेलामा प्रमुख प्रतिपक्षी दलले दबाब दिइरहेन हो भने पनि सरकार जनताका पक्षमा निर्णय गर्न बाध्य हुने थियो। जनताको स्वास्थ्य सुरक्षाप्रति उनीहरु पनि संवेदनशील देखिएनन्।

कार्यकर्ता पनि उस्तै छन्। आफूले मन पराएको नेताले गल्ती गर्दा पनि ताली बजाइदिने। नराम्रोलाई पनि राम्रै देख्ने। जनता, जनता कम दलका कार्यकर्ता बढी भइदिएकै कारण पनि उनीहरूले जनतामाथि रजाइँ गरिरहेका छन्। 

अचेल सबैको ध्यान दैनिक ४ बजे स्वास्थ्य मन्त्रालयको बुलेटिनमा आज यति कोरोना संक्रमित थपिए, यतिको मृत्यु भयो भन्ने खबरमा केन्द्रित छ। 

सामान्य जनताको जीवन रक्षा भगवान् भरोसामा छ। यस्तो अवस्था देख्दा लाग्छ, देशको अभिभावक सरकार त लास मात्रै गनेर बसिरहेको छ। – यज्ञराज जोशी, नेपाल समय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

फरवार्डको कम्बिनेसन मिल्दा लिग जित्यौँ : विकेश कुथु
यसरी तानियो रातो मच्छिन्द्रनाथको रथ [फाेटाे फिचर]
‘सास माग्दामाग्दै अस्ताइजान्छन् कलकलाउँदा नौजवान’
कोरोनाबाट कुन उमेरका कति जनाको मृत्यु?