अन्तरवार्ता / विचार

डाक्टर पुरुषोत्तम : जो आफू ढल्दा–ढल्दै दिन–रात संक्रमितको उपचारमा खटिन्छन्

काठमाडौं । बाँके अर्थात् कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायत अभाव छ । बाँकेमै छ, नेपालगन्ज मेडिकल कलेज ।

केही दिनअघि पीपीई सेटसहित कुर्सीमा बसेर आफ्नै हातमा ‘इन्जेक्सन’ दिएर काम गरिरहेका एक चिकित्सकको तस्बिर सार्वजनिक भयो । देब्रे हातमा क्यानुला जडान गरेर स्ट्यान्डमा झुन्ड्याइएको बोतलमार्फत स्लाइन पानी चढिरहेको त्यो तस्बिरले धेरैको ध्यान तानेको छ ।

कोरोना महामारीमा आफ्नै स्वास्थ्य जोखिममा पर्दा समेत सेवामा तल्लिन ती चिकित्सक थिए, नेपालगन्ज मेडिकल कलेजका मेडिकल अफिसर डा. पुरुषोत्तम बर्मा । उनी मेडिकल कलेजको कोरोना वार्डमा कार्यरत छन् ।

टेबुलमा बिरामीको रेकर्ड फाइल हेर्दै गरेका उनको तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । तर, नियोजित रुपमा भने त्यो तस्बिर नखिचिएको डा. बर्मा बताउँछन् । बर्मासँगै काम गर्ने तीनजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भइसकेको थियो । यस्तोमा बर्मामा जिम्मेवारी थपियो ।

उनी भन्छन्, “२४ सै घण्टा पनि ड्युटी गर्दै आएका छौँ । एक चिकित्सक भइसकेपछि बिरामी देख्दा–देख्दै आराम गर्न मन लाग्दैन । यो महामारीविरुद्धको लडाईं हामीले जसरी पनि जित्नैपर्छ ।”

कोरोना संक्रमितको उपचारमा खटिएकै बेला उनको स्वास्थ्यमा समस्या आयो । पेट दुख्ने, झाडापखला लाग्ने समस्या भएपछि शरीर निकै गल्योे । उनी भन्छन्, “अस्पतालमा उपचारको पर्खाइमा रहेका कोरोना संक्रमितलाई छाडेर आराम गर्न मनले मानेन । मलाई पनि कोरोनासँग मिल्दो–जुल्दो पूरै लक्षण देखियो । आफ्नोभन्दा अरुको जीवन बचाउँदा आनन्द ठूलो हुन्छ । त्यसैले केही खप्न नसकेपछि मैले आफैँ सिस्टरलाई इन्जेक्सन लगाउन भनेको हुँ ।”

यस्तो छ डा. बर्माको अनुभव
म नेपालगन्ज मेडिकल कलेजमा डेढ वर्षदेखि कार्यरत छु । गत वर्ष पनि कोरोना महामारीकै समयमा मैले ड्युटी गरेको थिएँ । अघिल्लोपालि खासै समस्या भएन । तर, योपालि ड्युटी गर्दा कोरोनाको लक्षण टाउको दुख्ने, झाडापखाला लाग्ने, सास फुल्ने भइराख्थ्यो ।

मसंगै काम गर्ने डाक्टर साथीहरुलाई कोरोना पोजेटिभ आइसकेको थियो । तर उहाँहरुमा लक्षण देखिएको थिएन । उहाँहरु घरमा होम आइसोलेसनमा बस्नुभयो । त्यस्तो अवस्थामा ड्युटी गर्दा समस्या गम्भीर हुनसक्छ भनेर आइसोलेसनमा बस्नुभयो ।

मैले पनि पीसीआर जाँच गरेको छु । रिपोर्ट आइसकेको छैन । लक्षण सबै कोरोनाकै देखिएको छ । मेनपावर कम छ । बिरामी बढी छन् । जे भए पनि ड्युटी गर्नैपर्छ । हाम्रो पेसाको ‘इथिक्स’ले पनि मान्दैन कि घर बस्ने । मै घरमा बसिदिएँ भने बिरामीलाई कसले हेर्छ । सिस्टरहरु पनि निरन्तर खटिरहनुभएको छ । अर्को कुरा के हो भने, म बिरामी भएर घर आए पनि आखिर जानु त अस्पताल नै पर्छ । त्योभन्दा त ड्युटी गर्दै मेडिसन गर्‍यो ।

कस्तो भयो भने, साथीहरु बिरामी भएर घर बस्नुभयो । त्यसकारण मैले २४ घण्टा नै ड्युटी गर्नुपर्‍यो । ४८ जना बिरामी हेर्नलाई गाह्रै हुन्छ । काम गर्दा–गर्दै बिरामी भएकाले मलाई गाह्रो भयो । सहन नसकेपछि सिस्टरलाई क्यानला लगाइदिन भनेँ । अनि, मैले यो–यो मेडिसिन चलाउनुस् भनेँ । त्यो गर्दै सबै बिरामीको फाइल हेर्दै मेडिसिन भन्दै थिएँ । त्यही बेला एकजना सिस्टर भेट्न आउनुभएको थियो । उहाँले नै त्यो फोटो लिनुभएको रहेछ । त्यो फोटोचाहिँ एकजना डाक्टर हाम्रो इन्जार्च हुनुहुन्छ, उहाँले त्यो फोटो आफ्नो फेसबुकमा हाल्नुभएको रहेछ । मलाई त थाहा थिएन मैले त राति ११/१२ बजे मात्रै फोटोले चर्चा पाएको जानकारी पाएँ ।

गत वर्षको भन्दा यो वर्षको कोरोना गम्भीर देखिएको छ । नेपागन्जमा  स्टेबल पेसेन्ट हुँदै हुँदैनन् । जति आईसीयूमा भर्ना हुन्छन्, सबै पोजिटिभ सँगसँगै गम्भीर पनि हुन्छन् । प्रायःजसोको अक्सिजन लेवल एकदम कम हुन्छ । कोही कोही त सानै उमेरमा पनि मृत्युवरण गर्छन् । त्यो देख्दा निकै दुःख लाग्छ । युवा उमेर ३३/३५ वर्षकै उमेरका पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हामी नागरिकलाई, जनतालाई आग्रह गर्छौँ कि घरमा आइसोलेट भएर बस्नुस् । काम परेको बेला मात्रै सुरक्षित भएर बाहिर निस्किनुस् । मास्क, स्याटिटाइजर निरन्तर प्रयोग गर्नुपर्‍यो ।

नेपालगन्जमा एक महिनादेखि कोरोना संक्रमित एकदमै आउन थालेका छन् । संक्रमितको मृत्युदर बढेको छ । यस्तो देख्दा आफूलाई पनि मनमा बेला–बेला डर त लाग्छ । हामी पनि मान्छे त हौँ । हाम्रो पनि परिवार हुन्छ । तर, डरभन्दा पनि बिरामीलाई हेर्ने हाम्रो धर्म हो । डराएर बसेर मात्रै हुँदैन ।

हामीले हाम्रो शतप्रतिशत दिँदा पनि कतिपय गम्भीर प्रकृतिलाई बिरामीलाई बचाउन सक्दैनौँ । त्यस्तो हुँदा एकदमै दुःख पनि लाग्छ । हाम्रो प्रयास सधैँ बिरामी निको भएर जाऊन् भन्नेमै हुन्छ ।

हामी सबै एक भएर काम गर्छौँ । यस्तो कठिन समयमा सेवामा खटिने नर्स, सरसफाइ कर्मचारी सबैलाई सकारात्मक ऊर्जा दिने कोसिस गर्छौँ । उहाँहरुको मनोबल सधैँ उच्च भइरहोस् भन्नेतर्फ हामी लागिरहन्छौँ ।

एक–दुईजना गम्भीर प्रकृतिको बिरामी हुनुहुन्थ्यो । उहाँ बाँचेपछि उहाँको आमा एकदमै खुसी हुनुभयो । उहाँ एकदमै सानो उमेरको हुनुहुन्थ्यो । आमाको मुस्कान देखेर हामी निकै खुसी भयौँ ।

मेरो सबैलाई आग्रह के छ भने यसलाई गम्भीर रुपमा लिइदिनुस् । कोरोना कुनै मजाक होइन । यसले धेरै मानिसको ज्यान लिइसकेको छ । सकेसम्म आफ्नो तर्फबाट आफूलाई सुरक्षित राख्ने कोसिस गर्नुहोस् । काम परेको बेला मात्रै निस्कनुहोस् । सन्तुलित र स्वास्थ्यवद्र्धक खाना खानुहोस् ।

बालबालिका र वृद्धवृद्धासँग घरमै पनि भौतिक दूरी कायम गर्नुहोस् । किनभने, उहाँहरुको प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । सबै कुरा डाक्टरको हातमा पनि छैन । नेपालगन्जको कुरा गर्ने हो भने सबैजसो बेड भरिएका छन् । बिरामीलाई बेड छैन भन्नुपर्दा हामीलाई पनि दुःख लाग्छ । त्यसैले घरमै सुरक्षित रहनुहोस् ता कि अस्पताल नै आउन नपरोस् । – केशबराज जोशीले लेखेको यो लेख बाह्रखरीबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

अछाममा ब्लड बैँक नहुदाँ रगत अभाव कायमै, रक्तदानमा दारी ग्याङ अछाम सक्रिय
…अनि कहिल्यै फाइट खेलिन आमा
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले गर्नैपर्ने कुरा
यसरी ढलेको थियो देउवा सरकार