मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु

सुदूर आज

काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ । 

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको तथ्यांक छ । 

कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् । 

विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ । 

खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोरोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ । 

५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउने तयारी अधिकांश जिल्लाले गरिरहेका छन् । केही जिल्लामा लकडाउन सुरु भइसकेको छ । 

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ छ । कोरोनाका कारण तीन हजार १७६ संक्रमितको मृत्यु भइसकेको छ । 

नेपालमा हालसम्म तीन लाख तीन हजार ५६१ जनामा कोरोना संक्रमण भइसकेको छ ।