मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मास्क प्रयोग गरेर यत्रतत्र फाल्ने बानी छ ? पर्नु होला सरकारको कारबाहीमा

मास्क प्रयोग गरेर यत्रतत्र फाल्ने बानी छ ? पर्नु होला सरकारको कारबाहीमा

सुदूर आज

काठमाडौं । मुलुकमा नयाँ लहरसहित कोरोना भाइरस संक्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । 
स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो ।  त्यसबाट सङ्क्रमण फैलने डर हुने भएकाले अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागु गरेको छ ।

मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ ।

अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्यरूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारवाही हुनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ ।

सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

सरकारी आदेशअनुसार काठमाडौं प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो ।

नयाँ भेरियन्टसहित कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा गृहमन्त्रालयबाट प्राप्त निर्देशनानुसार मंगलबार काठमाडौं प्रशासनले विशेष सूचना जारी गरी सावधानी अपनाउन भनिएको हो ।

काठमाडौं प्रशासनले सवारी साधन सञ्चालन गर्दा चालक र सहचालकले मास्क र भाइजर अनिवार्यरूपमा लगाउन भनेको छ ।

सवारी साधनलाई दैनिक निसङ्क्रमित गर्न, कुनै पनि यात्रुले मास्क नलगाई आएमा चालक तथा सहचालकले बढीमा रु १० लिई उपलब्ध गराउन पनि आज विशेष सूचना जारी गरी जनाएको छ ।

मास्क नलगाउने व्यक्तिलाई सवारीमा प्रवेश निशेष गरिने छ । लामो दूरीमा चल्ने सार्वजनिक यातायातका साधनले बीच बाटोमा यात्रु चढाउन पाउने छैन । शुरुको गन्तव्यदेखि हिँडेपछि मानिस नचढाइ अन्तिमसम्म जानुपर्नेछ ।

त्यस्तै यात्रुको विवरण जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र काठमाडौंलाई उपलब्ध गराउन भनिएको प्रजिअ पराजुलीले जानकारी दिए । 

सार्वजनिक यातायातका साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यात्रुमा मास्क अनिवार्य गर्न, सवारी साधनको ढोकामा र भित्र स्यानिटाइजरको व्यवस्था मिलाउन प्रशासनले भनेको छ ।

सूचनामा जिल्लाका महानगर र सबै नगरपालिकामा रहेको शैक्षिक संस्था भर्चुअल तथा वैकल्पिक शिक्षण सिकाइका विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरिएको छ ।

निर्धारित परीक्षा भने सुरक्षित साथ नियमित गर्न सकिने छ । सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी नाचघर, क्लब, जिमखाना, स्वीमिङ पुल, फुट्स सभा, जुलुस, हाटबजार, रङ्गशालामा हुने दर्शकसहितको खेलकूद र मानिसको भिडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गरिएको छ ।

एक पटकमा २५ जनाभन्दा बढी भेला नहुन भनिएको छ भने सपिङ मल डिपार्टमेन्टल स्टोर्सका सञ्चालक तथा व्यवस्थापकलाई जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी व्यवसाय सञ्चालन गर्न निर्देशन दिइएको छ ।

मेला महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मलामीलगायत अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलाप सञ्चालन गर्दा २५ जनाभन्दा बढी नहुने गरी र जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गरी कार्य सञ्चालन गर्न भनिएको छ ।

विवाह र व्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्नछ ।

त्यसका लागि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र २५ जना मात्र सहभागी हुने भनी प्रशासन कार्यालयमा निवेदनसहित उपस्थित भएमा अनुमति प्रदान गरिने छ तर २५ जनाभन्दा कम मानिस सहभागी भई आफ्नै घर कम्पाउण्डमा विवाह र व्रतबन्ध कार्य गर्न भने पाइने छ ।

मठ मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायत धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी वैशाख मसान्तसम्म नित्य पूजा ध्यान प्रार्थना मात्र गर्न भने पाइने छ ।

सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालीम, प्रशिक्षणजस्ता क्रियाकलाप भर्चुअलका माध्यमबाट गर्न भनिएको छ ।

कार्यालय पसलजस्ता सार्वजनिकस्थलमा स्यानिटाइज र मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने छ । कुनै व्यक्तिले मास्क नलगाई आएमा कार्यालय तथा पसलमा प्रवेश नदिन पनि सूचित गरिएको छ ।

होटल तथा रेष्टुराँ बिहान ८ देखि राति ८ सम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

कोभिड–१९ रोकथान तथा व्यवस्थापनका सन्दर्भमा सबै स्वास्थ्यका मापदण्ड अबलम्वन गर्नेपर्ने, घर बाहिर निस्किँदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भए पनि कम्तीमा १० दिन होमक्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ ।

पिसिआर परीक्षणको रिपोर्ट दिएपछि नतिजा नआएसम्म घरबाहिर हिँडडुल, भेटघाट, बैठक गर्न पाइने छैन। स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्न अनुरोध गरिएको छ ।

यसरी सरकारी आदेश र स्वास्थ्य मापदण्ड पालना नगरेमा स्थानीय तह, प्रशासन, स्वास्थ्य कार्यालय, स्वास्थ संस्था, टोलसुधार समिति र उपभोक्ता समितिलाई यथाशीघ्र जानकारी गराउन भनिएको छ ।

होम आइसोलेशनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्यमा कुनै समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जानकारी गराउन आग्रह गरिएको छ । रासस