मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ विरुद्ध दोस्रो डोजकाे खोप लगाएपछि कति ढुक्क ?

कोभिड–१९ विरुद्ध दोस्रो डोजकाे खोप लगाएपछि कति ढुक्क ?


काठमाडौं । मुलुकभर आजदेखि कोभिड–१९ विरुद्धको दोस्रो डोज खोप लगाइँदैछ । पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका चार लाख २९ हजार ७०७ जनालाई लक्षित गरी सरकारकले दोस्रो डोज खोप दिन लागेको हो । कोभिड–१९ संक्रमण हुन नदिन खोपलाइ नै मुख्य रोकथामको उपाय मानिएको छ । नेपालमा अहिले प्रयोग भइरहेको कोभिसिल्ड खोपको प्रभावकारिताबारे गरिएका अध्ययनहरूको रिपोर्टले निम्न कुराहरू पत्ता लागेका छन् । 

कोभिसिल्ड खोपले कसरी रोग प्रतिरोधी क्षमता विकास गर्छ ?
खोपमार्फत विकास भएको रोग प्रतिरोधी क्षमता शरीरमा आफैँ उत्पादन भएको क्षमताजस्तै हुन्छ । विश्व स्वास्थ्य संगठनकाअनुसार लामो समय संक्रमण हुनसक्ने रोगका लागि बाहिरी माध्यमबाट प्रतिरोधी क्षमता विकास गर्न मानिसको शरीरलाई कहिलेकाहीँ धेरै समय लाग्नसक्छ । त्यसैले पनि कोभिड–१९ विरुद्धको अधिकांश खोपहरू दुई डोज लगाउनुपर्ने हिसाबले विकास भएका छन् । 

यसरी पहिलो र दोस्रो डोज खोप दिँदाको अन्तरालमा त्यसले शरीरमा परिरहेको प्रभाव मूल्यांकन गर्न समेत सजिलो हुन्छ । कोभिसिल्ड खोप भारत र अन्य देशहरूमा ८ देखि १२ हप्ताको अन्तरालमा दिइँदै आएको छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् “खोप दिएको केही समयपछि मानिसको शरीररले प्राकृतिक रूपमै प्रतिरोधी क्षमता विकास गर्न थाल्छ । कति समयमा उत्पादन गर्छ भन्ने कुरा व्यक्तिमा भर पर्दछ । अहिले प्रयोगमा आइरहेका कोभिड–१९ विरुद्धका खोपले कति समयसम्म काम गर्छन् भन्ने अहिलेसम्म कसैले यकिन गर्न सकिएको छैन । यद्यपि खोप लगाएपछि तत्कालै रोग लाग्नबाट भने बच्न सकिन्छ । तर खोप लगाइसकेपछि पनि संक्रमण हुनसक्ने संभावना नरहने भन्ने हुँदैन, त्यसैले मास्क लगाउने र जनस्वास्थ्यका मापदण्ड अपनाउन भने भुल्नु हुँदैन ।”

कोभिसिल्ड खोप प्रयोग भइरहेका विभिन्न मुलुकमा अक्स्फोर्ड अस्ट्राजेनिकाले गरेको अध्ययनमा पहिलो डोज दिएको २२ दिनभित्र कुनैपनि अस्पताल भर्ना हुने केस नभेटिएको पाइएको थियो । त्यस्तै पहिलो डोज खोप दिएकाहरूलाई पीसीआर पोजेटिभको सम्भावना ६७ प्रतिशत र दोस्रो डोजपछि ८२ प्रतिशत घटेको पाइएको थियो ।
 
दोस्रो डोज लगाएपछि पनि साइड इफेक्ट देखिन्छ ? 
बेलायतको किङस कलेजअन्तरगतको एक अनुसन्धान टोलीले दोस्रो डोज खोप लगाएका १० हजार जनामा गरेको अध्ययनमा पहिलो डोजपछि ३७ प्रतिशतमा सामान्य असर देखिएको पाइएको थियो । त्यस्तै दोस्रो डोज खोप लिएपछि २२ प्रतिशतलाई सामान्य ज्वरो, खोप लगाएको ठाउँ सुन्निनेजस्ता लक्षण देखिएको थियो । 

भारतको रोग नियन्त्रण तथा रोकथाम केन्द्रको रिपोर्टअुनसार व्यक्तिअनुसार खोपको साइड इफेक्ट फरक पर्दछ । सामान्य टाउको दुखाइ, हल्का ज्वरो, जिउ दुख्ने, थकाइ लाग्नजस्ता सामान्य लक्षण दोस्रो डोजमा पनि देखिन सक्छ  तर, यस्तो असर १ देखि ३ दिनभन्दा बढी नदेखिने केन्द्रले जनाएको छ । पहिलो डोजमा साइड इफेक्ट नदेखिएकालाई पनि दोस्रो डोजमा असर देखिनसक्ने तथा देखिने गति तीव्र हुने तर यस्ता असरहरू दीर्घकालीन भने नहुने केन्दले जनाएको छ ।  

कोभिसिल्ड खोपले युके भेरियन्टलाई रोक्नसक्छ ?
कोभिसिल्ड खोपले युके भेरियन्टविरुद्ध पनि प्रतिरोधीको काम गर्ने पुष्टि भइसकेको छ । भारतको ‘इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च’ ले ३० मार्चमा एक अध्ययन रिपोर्ट सार्वजनिक गर्दै भारतले उत्पादन गरेका दुवै कोभिसिल्ड र कोभ्याक्सिन खोपले युके भेरियन्टको संक्रमणबाट बचाउने पुष्टि गरेको थिया । तर अन्य भेरियन्टको हकमा भने  अहिले विकास भएका खोपहरूले कसरी काम गर्छन् भन्नेबारे विभिन्न देशहरूले अनुसन्धान गरिरहेका छन् । 

युकेपछि दक्षिण अफ्रिकी भेरियन्टलाई पनि घातक भाइरसको रूपमा लिइएको छ । यी भेरियन्टविरुद्ध कुन खोपले कसरी काम गर्छ भन्ने विषयमा विभिन्न देशमा अध्ययन भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

यसअघि ‘इन्फ्लुइन्जा’ को भाइरस पटक–पटक परिवर्तन हुन थालेपछि विश्व स्वास्थ्य संगठनले खोपमा हुने ‘कम्पोनेन्ट’ परिवर्तन गरेर विकास गर्ने गरेको डा. पुनको अनुभव छ । त्यसैले नयाँ भेरियन्टविरुद्ध खोप परिमार्जन भएर आउनसक्ने उनको तर्क छ ।