मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरीको प्रयोगशालामा परीक्षण गरिका मध्ये ९२ प्रतिशतमा कोरोना पोजिटिभ, आइसियु भरिए

भेरीको प्रयोगशालामा परीक्षण गरिका मध्ये ९२ प्रतिशतमा कोरोना पोजिटिभ, आइसियु भरिए


नेपालगंज – बाँके र बर्दियामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ।  भेरीको प्रयोगशालामा गत २४ घण्टामा ८१ जनामा कोरोना परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण देखिएको छ। यो तथ्यांकले कुल परीक्षणको ९२ दशमलब ६  प्रतिशत व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको देखाउछ।

श्वासप्रश्वास सम्बन्धि समस्या, ज्वरो वा अन्य लक्षणसहित अस्पतालमा आएका व्यक्तिहरूमा पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। परीक्षणका क्रममा संक्रमण पुष्टि हुनेमा ७ वर्षीया बालिकादेखि ८३ वर्षीया वृद्धासम्म छन्। 

अस्पतालका निर्देशक डा प्रकाश थापाले बाँके र बर्दियामा समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परीक्षण गर्नु आवश्यक भएको चिकित्सकहरुले बताएका छन्।

समुदायस्तरमा कोरोना परीक्षण गर्न सरकारले तुरुन्त रिएजेन्ट तथा आवश्यक सामाग्रीहरु पठाउनुपर्ने डा प्रकाश थापाको भनाइ छ।

भेरी अस्पतालमा कोरोना संक्रमितका लागि हाल १४२ क्षमताको शय्या व्यवस्थापन गरिएको छ। ती मध्ये १०२ शय्या आइसोलेसन र ४० शय्या  शंकास्पद बिरामीलाई राख्ने गरिएको छ। यस्तै १५ शय्याको कोभिड आइसियु बेड रहेको छ।

बाँकेमा कोरोना संक्रमण फैलिसकेकाले अस्पतालको आइसियु लगायतका शय्याहरु भरिएको अस्पतालले जनाएको छ।

संक्रमण फैलिन नदिन सावधानी नअपनाए अस्पतालहरूले बिरामीको चाप थेग्न नसक्ने चिकित्सकहरुको भनाइ छ।

कोरोना संक्रमण न्युनिकरणका लागि भिडभाड नगर्न, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दुरी कामय गर्न तथा रुघा÷खोकी, ज्वरोका लक्षण देखा परेमा  क्वारेन्टाइनमा बस्न चिकित्सकको सुझाव छ। 

यस्तै, घरमै रहेका कोरोना संक्रमितहरुले घरमै पर्याप्त आराम गरी थर्मोमिटरको प्रयोग गरि तापक्रमको अभिलेख राख्ने, सामान्य जरो आएमा सिटामोल आवश्यकता अनुसार प्रयोग गर्न पनि डा थापाको सुझाव छ।

यसैगरी, रगतमा अक्सिजनको मात्रा नाप्न पल्स अक्सिमिटरको व्यवस्था गरी समय–समयमा नाप्ने, स्वासप्रस्वासमा समस्या आएमा, ज्वरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४ प्रतिशतभन्दा कम भएमा अस्पताल आउन पनि डा थापाले आग्रह गरेका छन्।