मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुक्लाफाँटामा लुकेका कथाः ‘बाघ देख्दा राजा महेन्द्र भए बेहोस , रानी रत्नलाई लाग्यो गोली’

शुक्लाफाँटामा लुकेका कथाः ‘बाघ देख्दा राजा महेन्द्र भए बेहोस , रानी रत्नलाई लाग्यो गोली’


धनगढी:   यो २०२७ सालतिरको कुरा हो।  त्यतिबेला कञ्चनपुरमा रहेको अहिलेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज शाही शिकार आरक्षका रुपमा रहेको थियो।

२०२६ सालमा शिकार आरक्षका रुपमा स्थापित उक्त क्षेत्रमा तत्कालीन राजा महेन्द्र वीर विक्रम शाहको परिवार शिकारका लागि आउने गरेको भीमदत्त नगरपालिकाका बुढापाका बताउने गर्छन्। 

भीमदत्त नगरपालिका–१४ बनकट्टेका ७५ वर्षीय राम गिरीलाई अझै याद छ, २०२७ सालमा राजा महेन्द्र शिकार खेल्न आउँदा उनले चलाएको गोली लागेर रानी रत्न राज्य लक्ष्मी देवी शाह घाइते भएकी थिइन्।

‘त्यतिबेला राजपरिवारसँग शिकारी दल र शाही सेनाको टोली मात्रै जाने गथ्र्यो’ उनले भने, ‘ठ्याक्कै अहिलेको दुधिया क्याम्पनिर भएको घटना हो त्योे। तर पछि के भयो हामीले जानकारी पाउन सकेनौं।’

उनका अनुसार राजा महेन्द्रले चलाएको गोली बाह्रसिंगेको सिंगमा लागेर फर्केको भन्ने कथन छ। शुक्लाफाँटा निकुञ्जभित्र ज्ञान स्कट (वन रक्षक)को रुपमा काम गरेका गिरी अहिले वृद्ध अवस्थामा छन्। तर उनले आफुलाई सम्झना रहेको कुराहरु सबैलाई जानकारी दिँदै आएको शुक्लाफाँटा नेचर गाइड एशोसियसनका अध्यक्ष विरेन्द्र खातीले बताए। 

अध्यक्ष खातीका अनुसार निकुञ्ज आसपास रहेका बस्ती वनकट्टे, मझगाउँ र तितरियामा इतिहासमा भएका कुरा लुकेर बसेका छन्। २०२७ सालमै राजा महेन्द्र निकुञ्जभित्रको बर्कौला भन्ने स्थानमा पाटेबाघ देख्दा बेहोश भएको कुरा पनि त्यहाँका बस्तीमा चर्चित छ।

‘ठ्याक्कै अगाडी बाघ देख्दा राजा आत्तिएर बेहोश भएका थिए भन्ने सुनेको तर उनलाई अरु केही क्षति भएन’ वृद्ध राम गिरीले भने। 

त्यसबेलाको शाही शिकार आरक्षलाई २०३१ सालमा वन्यजन्तु आरक्षका रुपमा रुपान्तरण गरिएको थियो। पछि २०७३ पुष ७ गते मन्त्रिपरिषद् बैठकको निर्णयले आरक्षलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रुपमा स्तरोन्नति गरेको थियो। 

शुक्लाफाँटामा विश्वमा दुर्लभ बाह्रसिङ्गालाई २ हजारभन्दा बढीको झुन्डमा देख्न पाइन्छ। सबैभन्दा बढी बाघको जनघनत्व रहेको संरक्षित क्षेत्रका रुपमा चिनिने शुक्लाफाँटा ३०५ वर्ग किलोमिटरमा फैलिएको छ।

सङ्कटापन्न वन्यजन्तु तथा प्रजातिको संरक्षणमा उच्च प्राथमिकता दिइँदै आएको आरक्ष पर्यटकीय दृष्टिले आगामी दिनमा थप परिचित हुनेमा यहाँका पर्यटन व्यवसायी तथा नेचर गाइडको बुझाइ छ। 

विगतमा विदेशी पर्यटकलेमात्रै गाइड लिने गरेकोमा यो वर्षदेखि सबैका लागि गाइड अनिवार्य गरिएको छ। आफुहरुले पर्यटकलाई निकुञ्जभित्र रहेका वन्यजन्तु, स्थान लगायतकाबारेमा सम्पूर्ण जानकारी दिने गरेको गाइड विष्णु पनेरुले बताए। 

निकुञ्जमा ठूलो घाँसे मैदानसँगै स्तनधारी जीवजन्तु, थोरै क्षेत्रफलमा धेरै पाटे बाघको जनघनत्व, हात्ती, गैँडा, घस्रने जन्तु, उभयचर, माछा, पुतली र ४५० प्रजातिका चराहरु पाइन्छन्।

यस्तै निकुञ्ज नजिकै रहेका बस्तीको संस्कृति, परम्परा र चालचलन समेत त्यहाँ पुग्ने पर्यटकले देख्न सक्छन्। – दिनेशखबर

तस्बिरहरु सभार :
राजा महेन्द्र वीर विक्रम शाह
रानी रत्न राज्य लक्ष्मी देवी शाह
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज