मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैको साथ भए नगरको समृद्धी टाढा छैन् : नगरप्रमुख कुवँर

सबैको साथ भए नगरको समृद्धी टाढा छैन् : नगरप्रमुख कुवँर

विभिन्न समस्याका बाबजुत पनि हामी सुशासन र पारर्दशी कायम गर्दै जनतालाई सेवा दिनमै केन्द्रित छौँ


विभिन्न समस्याका बाबजुत पनि हामी सुशासन र पारर्दशी कायम गर्दै जनतालाई सेवा दिनमै केन्द्रित छौँ

निम्न माध्यामिक तहसम्मको पढाई अछाममै सकेर २०३९ सालमा काठमाण्डौँ छिरेका साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुवँरले माध्यामिक स्तर देखि उच्च शिक्षा सम्म काठमाण्डौँ मै सके । २०४३ सालमा सिदार्थ बनस्थली साईन्स क्याम्पसमा आईएस्सी पढ्दै गर्दा उनले तत्कालिन अनेरास्ववियूको सदस्य हुदैँ आफ्नो राजनितिक यात्रा प्रारम्भ गरे । २०४७ साल पछि अछाम आउने र काठमाण्डौँ जाने क्रमलाई निरन्तरता दिएका कुवँर अछामको राजनितिसंग नजिक रहे । सोही क्रममा अछाम काठमाण्डौँ सम्पर्क समितिको संस्थापक सदस्य हुदैँ अध्यक्ष सम्म बन्ने अवसर कुवँरलाई मिल्यो । २०४९ सालमा अमृत साईन्स क्याम्पसबाट बिएएस्सी सम्मको अध्ययन पुरा गरेपछि कुवँर पूर्णतया अछाम फर्के । २०५० सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य बनेका कुवँरले २०५४ पार्टी जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हाले । २०५९ सालमा एमालेको सेती अञ्चल समन्वय सदस्य हुदैँ २०६७ मा राष्ट्रिय परिषद सदस्य सम्म पुगेका कुवँर देशमा संघियता आएपछि पार्टीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य बने । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट टिकट पाएका कुवँर नेपाली कांग्रेसका उम्मेद्धवार ध्वज बहादुर कुवँरलाई पराजित गर्दै साँफेबगर नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भए । कुवँरले साँफेबगर नगरपालिकाको नेतृत्व गरेसंगै यस नगरमा भएको विकासको गति प्रगती र भावी योजना लगायत समसामयिक बिषयमा सुदूरआजले गरेको कुराकानी ।

सुदूरआज डटकममा यहाँलाई स्वागत छ ।
धन्यवाद ।

मेयरसाप्, तपाई अछाम जिल्लाको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको साँफबेगर नगरपालिकाका नगर प्रमुखमा निर्वाचित भएपछि नगरमा भएका प्रमुख काम हरु के के हुन् ।
सड्कको क्षेत्रमा
: म आफु निर्वाचित भएर आउने बेलासम्म यस नगरका कतिपय वडामा सडक सञ्जाल जोडिएको थिएन् । अहिले नगरका सबै वडा सहित टोलमा पनि सड्क पुगेको छ । नगरको सबैभन्दा टाढा रहेका बाब्लाको वला र खप्तडको पुत्रुसम्म पनि हामीले सड्क पुरयाएका छौँ । अबको लक्ष्य भनेको यसको स्तर उन्नती गर्न तर्फ केन्द्रित हुनेछ । सड्क सुधार, विस्तार र नाली बनाउने हाम्रो योजना छ ।

बिद्युतको क्षेत्रमा : नगरका धेरै वडामा बिजुली पुगेको थिएन अहिले पातलकोट बाहेकका सबै वडामा बिजुली पुगेको छ । पातलमा पनि अबको केही समयमा पुग्नेछ । केही टोलमा छुट भएको छ हामी सबै क्षेत्रमा पुरयाउने लक्ष्य लिएका छौँ ।

शिक्षाको क्षेत्रमा : धेरै संरचना निर्माण संगै एउटा ओर्भसियर स्तरको कजेल, दूई वटा प्राविधिक शिक्षालय नगरमा स्थापना भएका छन् । हामी आईसकेपछि ३ वटा शिक्षालय थपिएका छन् । बिद्यालयमा शौचालय, संरचना मर्मत लगायतका सुधारका काम भएका छन् । शैक्षिक गुणस्तरका लागि शैक्षिक अनुदान सुरुका बर्ष देखि नै निरन्तर प्रदान गरिरहेका छौँ । दरबन्दी मिलानको काम पनि सुरुवात गर्दैछौँ । हाम्रो नगरमा ७० बढी बिद्यालय छन् ।

सुचना प्रविधिको क्षेत्रमा : स्थानिय तहहरु मध्ये यस जिल्लामा पहिलो सुचना प्रविधि केन्द्रको स्थापना हामीले गर्यौँ । हाम्रा सबै काम कारबाहीलाई पारर्दशी बनाउन वेभसाईट निर्माण गरेर अपडेट गरिहरेका छौँ । वडाका कामका बारेमा जनतालाई जानकारी दिन जनप्रतिनिधिसंग सुचना मैत्री रेडियो कार्यक्रममा गरिरहेका छौँ । नगरमा घरबाटै गुनासो तथा सुझाब दिन सकिने गरी गुनासो व्यावस्थापन प्रणाली स्थापना गरेका छौँ । नगरभरी भईरहेका पुर्वाधार विकासका कामहरु कसरी भईरहेका छन् भनेर जनताले हेर्न सक्ने गरी पूर्वाधार व्यावस्थापन प्रणाली पनि हामीले निर्माण गरेका छौँ भने सबै वडामा ईन्टरनेटको पुहँच पुर्याउने काम भईरहेको छ ।

रोजगारीको क्षेत्रमा : केही रोजगारी नगरपालिकाको तर्फबाट दिएका छौँ । धेरै मान्छेलाई रोजगारी दिन नसकेपनि बेरोजगार नागरिक स्वयम आत्मनिर्भर बनोस् भनेर विभिन्न रोगजारी सृजना गर्ने तालिम प्रदान गरेका छौँ । व्यावसायिक बनाउन कपाल देखि कम्प्युटर सम्मको तालिम प्रदान गरिरहेका छौँ । यस्ता तालिमलाई प्रभावकारी बनाउन सबैको सहयोगको खाँचो रहन्छ । नगरबाट दिएका तालिममा सहभागीहरुलाई व्यावसाय गरेर आत्म निर्भर बन्नका लागि ५ हजार देखि २५ हजार सम्म आर्थिक सहयोग पनि गरेका छौँ ।

स्वास्थ्यका क्षेत्रमा : देशकै नमुना बयालपाटा अस्पताल यसै नगरमा अवस्थित छ । अस्पतालले यस क्षेत्रका मात्र जनतालाई होईन छिमेकी जिल्लाका जनतालाई पनि निशुल्क सेवा प्रदान गरिरहेको छ । पछिल्लो समयमा बिदेशी दातृ निकाय बाट सहयोग रकम कम हुदैँ गएपछि केही आर्थिक समस्या देखिएको छ । हामीले अस्पतालको सेवा निरन्तरताका लागि नगरको तर्फबाट पनि सहयोग गरिरहेका छौँ । प्रदेश र अन्य स्थानिय निकायबाट पनि सहयोग भईरहेको छ । यसलाई हामीले जोगाएर थप सेवा सुबिधाहरु बढाउन आवश्यक छ । बयालपाटा अस्पताललाई अप्रत्यक्ष रुपमा भएपनि सहयोग होस् भनेर राष्ट्रिय स्वास्थ्य बिमालाई पनि अगाडी बढाएका छौँ । मैले हरेक कार्यक्रममा स्वास्थ्य बिमा गर्नुस् भनेर पहल गरिरहेको छु । तपाईकै मिडिया मार्फत पनि म सबै जनप्रतिनिधी, कर्मचारी र जनतालाई स्वास्थ्य बिमामा आवद्ध हुनुहोस् भनेर आग्रह गर्न चाहान्छु ।

यसका साथै हाम्रा नगरका सबै वडामा स्वास्थ्य चौकी छन् । १ शहरी क्लिनिक पनि छ । सरकारले स्वास्थ्य चौकीलाई ३३ वटा मात्र औषधी सरकारले उपलब्ध गराएपनि हामीले ७ थप गरेर ४० पुर्याएका छौँ । बयालपाटामा आयूवेर्दिक औषाधालयमा नगरको तर्फबाट ८ औषधी थप गरेर ३० वटा बनाएका छौँ ।

पर्यटन र कृषीको क्षेत्रमा : हाम्रो नगर कृषी र पर्यटनकै सम्भावना बोकेको नगर हो । हामीले सुरुमै नगरका १२ वटा गन्तव्यको बारेमा ब्रोसर प्रकाशित गरेका थियौँ । यसका साथै जिम्राडी, नेपालका ४ धाम मध्येको एक बैद्यनाथधाम, नैनी, खप्तड क्षेत्रको पनि प्रचार प्रसारका लागि ब्रोसर प्रकाशित गरेका थियौँ । बैद्यदनाथ क्षेत्रमा विभिन्न समयमा निर्माणको काम, जिम्राडीमा सिडी बनाउने काम भयो भने प्रतिक्षालय बनाउने काम भईरहेको छ । खप्तड जाने छोटो बाटोका लागि उनिसैन हुदैँ गणेशपाटा सम्म बाटो निर्माण भएको छ । नगरमा धार्मिक स्थहरुको अध्ययन गरेका छौँ । यस नगरमा विभिन्न ३ सय २४ धार्मिक, ऐतिहासिक तथा पुरातात्विक मन्दिर रहेका छन् । यसको प्रचार प्रसारका लागि हामीले काम गरिरहेका छौँ ।

कृषकहरुलाई उत्पादनसंग जोडेर राहत दिन खोजिरहेका छौँ । देविस्थानमा आलु जोन क्षेत्र स्थापना गर्यौँ । धेरै मात्रामा आलु उत्पादन भयो । अन्य ठाँउमा जुन किसिमले उत्पादन हुनुपर्ने हो त्यो भईरहेको छैन् । यद्यपी क्रमिक रुपमा यसको बृद्धि गर्न हामीले त्यो किसिमका कार्यक्रम ल्याउने तयारी गरिरहेका छौँ । जंगली जनावरले कृषिमा केही अप्ठेरो पारेको छ । रोजगारीको कारणले गाँउमा मान्छे कम पनि छन् भने अर्को तर्फ बसाई सरेर तराई झर्ने कारण पनि कृषीमा सोचे जस्तो प्रगती हुन सकेको छैन् ।

तपाई निर्वाचित भएपछिको नगर र त्यो भन्दा पहिलो अवस्थालाई मुल्यांकन गर्दा हामी अहिले कुन ठाँउमा छौँ जस्तो लाग्छ ? के कस्ता कुरामा परिर्वतन भए ?

मैले अघि पनि भने कुनै वडा सड्क सञ्जालसंग जोडिएका थिएनन् अहिले सबै वडामा सड्क पुगेको छ । शिक्षा क्षेत्रलाई व्यवस्थित बनाएका छौँ । विकास निर्माणका कामले गति लिएका छन् । बिमानस्थल निर्माणसँगै दैनिक उडानले आवतजावतमा सहजता आएको छ । तत्काल उपचारको लागि रेफर गर्नुपर्ने बिरामीका लागि यो निकै राहत हो । व्यापार व्यावसाय बृद्धि भएको छ । थोरै भएपनि रोजगारी मिलेको छ । बैँकिंग क्षेत्रले गति लिएको छ । स्वास्थ्यमा निकै सुधार आएको छ । यसरी समग्र रुपमा मुल्यांकन गर्दा हामी एक स्टेप अघि बढेका छौँ जस्तो लाग्छ । जति जनताले अपेक्षा गरेका थिए त्यी नभए पनि क्रमश विकासको गतिमा नगर अघि बढिरहेको छ ।

नगरमा काम गर्दै जाँदा तपाई सामु कस्ता किसिमका समस्या र चुनौती आए ?

त्यस्तो समस्या त खास्सै भएन । तर सुरुको २ बर्ष हामीलाई कर्मचारी व्यावस्थापन गर्न नै लाग्यो । एक सचिवले ३ वटा वडा सम्म हेर्नुपर्ने अवस्था आयो । तर गत बर्षबाट केही कर्मचारी थप भएपछि सहज भएको छ । समयमै ऐन नियम नबन्नुले पनि केही अप्ठोरो पार्यो । नगरमा एउटै मान्छे लेखा अधिकृतले निमित्त प्रमुख भएर कार्यालय संचालन गरिराख्नु भएको छ । उहाँलाई पनि धेरै लोड छ । तरपनि काम कारबाही नियमित नै संचालन भईरहेका छन् । सेवा प्रवाहमा समस्या आउन दिएका छैनौँ । समुदाय पनि कस्तो भयो भन्दा आफु अनुकुल भए राम्रो नत्र नराम्रो भन्ने भ्रम पर्यो । भन्न त हामी राजनितिक रुपमा भेदभाव गर्दैनौँ भन्छौँ तर त्यो क्रम रोकिएको देखिदैँन जसले गर्दा सम्रगतामा विकास प्रभावित भएको छ । त्यसका बाबजुत पनि हामी कसरी सुशासन कायम गर्न सकिन्छ, पारर्दशी बनाउन सकिन्छ, जनतालाई सेवा दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।

अब बाँकी रहेको समयमा नगरलाई समृद्ध बनाउन कस्तो योजना बनाउनु भएको छ ।

हामी विभिन्न जटिलताको बिचमा छौँ, तरपनि हाम्रो तर्फबाट हुने कामका लागि प्रत्यत्न जारी रहन्छ । बाँकी रहेका विकास निर्माणका कामहरुलाई निरन्तरता दिनेछौँ । खानेपानीको अभाव भएका ठाँउमा पानीको व्यावस्था गर्नेछौँ । अहिलेसम्म नगरमा ४१ वटा ऐन नियम कानुन बनाएका छौँ यो बिचमा अरु पनि बन्छ । कतिपयलाई संसोधन गर्नुपर्ने छ । पहिले देखिएका कम्जोरीहरुलाई अर्को पाली सुधार गर्दै गएका छौँ । सम्रगमा अधुरा रहेका कामहरुलाई पुरा गर्ने लक्ष्यका साथ अघि बढ्ने अबको योजना छ ।

अन्त्यमा, यो अवधिमा नगरबासीको साथ कत्तिको पाउनु भयो र नगरबासीलाई तपाईको सन्देश के हो ।

नगरमा क्रमिक रुपमा विकास भईरहेको छ । त्यसमा सबैको सहयोग र साथको आवश्यक्ता रहन्छ नै । सबैले सकरात्मक ढंगले सोच्नु पर्नेछ । काम गर्ने कुरा गफ गर्ने जति सजिलो छैन् । जनताको तर्फबाट आफ्नो किसिमले सहयोग हुदैँ आएको छ । यसलाई अझ बढाउदैँ जानुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु । विकास निर्माणका काममा अपनत्व देखाउनु पर्दछ । भएका कामहरुलाई समयमै प्रभावकारी ढंगले संचालन गर्यौँ, उपभोक्ता समितीमा राम्री छलफल गर्यौँ, काम सुरुवात गर्नु र सकिएपछि सार्वजनिक सुनुवाई गर्यौँ, राम्रोलाई राम्रो र नराम्रो कुरालाई नराम्रो भन्न सक्यौँ भने नगरको समृद्धी धेरै ढाटा छैन् । धन्यवाद ।