मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०७८ सालमा तीन वटा दशैँ : पञ्चाङ्ग निर्णायक समिति

२०७८ सालमा तीन वटा दशैँ : पञ्चाङ्ग निर्णायक समिति


काठमाण्डौ – २०७८ सालमा तीन दशैँ परेको छ । 

यो वर्ष चैत्रशुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलवार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ । 

यसैगरी २०७८ सालको चैत २६ गते शनिवार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । वडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आउँदाे वर्ष असोज २१ गते बिहीवार घटस्थापना गरेर सुरु हुने भएको छ । असोज २७ गते बुधवार महाअष्टमी, असोज २८ गते बिहीवार महानवमी र असोज २९ गते शुक्रवार विजयादशमी पर्व परेको छ । 

कार्तिककृष्ण पक्षमा सुरु भएर शुक्लपक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलवारदेखि सुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीवार र भाइटीका कात्तिक २० गते शनिवार परेको छ ।

चैत्रशुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्रि पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्त्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 
 
वर्षमा चार पटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन ।

यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उहाँले जानकारी दिनुभयो ।