मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेस्रो जन-आन्दोलन !

तेस्रो जन-आन्दोलन !


  • एसपी कलौनी

किन अझै,
समाजमा व्याप्त विभेदको अन्त हुँदैन ?
यो शताब्दीमा पनि भोकमरी र गरिबी समाप्त हुँदैन ?
किन हाम्रोमा झगडा कहिल्यै सकिंदैन ?

हामीले त,
व्यवस्थाले बिगार्यो भनि व्यवस्था बदल्यौं,
संचरना पो समस्या हो भनि संचरना परिवर्तन गर्यौं,
मूल कानूनले काम गरेन भनि नयाँ संबिधान बनायौं ।

तर,
‘वाद’ले मात्र हुँदो रहेनछ,
संरचनाले मात्र सुल्झाउँदो रहेनछ,
संबिधानले मात्र समाधान दिँदो रहेनछ ।

सायद,
हाम्रो लडाईंको लक्ष्य पूरै स्पष्ट भएनछ,
हाम्रो आन्दोलनको मूल शत्रु चिन्नै सकिएनछ,
खास शत्रुको बिरुद्ध त लडाई लडिएकै रहेनछ ।

त्यसैले त,
जब काम गर्ने बेला आयो,
आफन्तको घेरा बाहिर देख्नै गाह्रो भो,
गुण र दोषलाई निर्णयको आधार मान्नै गाह्रो भो,
आफुले टेकेको धरातल सम्झिनै गाह्रो भो ।

अब कहिले सम्म,
अरु व्यक्ति र ‘वाद’लाई मात्र शत्रु मानेर बस्ने ?
प्रणाली र संरचनालाई मात्रै दोष दिंदै हिन्ने ?
अरुका कर्मलाई देखाएर आफु उम्किने ?

अहिले,
समयले रुपान्तरणको लय ल्याएको छ,
आपसी द्वेष र दुराशय हटाउ भनेको छ,
नबुझे यो सत्य, घर जलाएर खरानी बेच्ने बेला आउनेछ ।

आउनुहोस,
आफु भित्रकै मूल शत्रुलाई पहिचान र परास्त गरौँ,
घृणा, स्वार्थ, झुठ, र अहम् त्यागौं,
अबको आन्दोलन हरेकले आफु भित्रै गरौँ ।