अन्तरवार्ता / विचार

मृत्यु जितेका मीन– वीरमा बसेको भए मर्थें

काठमाडौं– महात्मा गान्धीको एउटा चर्चित भनाइ छ– जब म हरेक रात सुत्छु, मरेको हुन्छु। तर जब बिहान उठ्छु, पुनर्जन्म पाएको अनुभव गर्छु। 

गान्धीको यो भनाइको ठिक विपरीतको भोगाइ छ मीनबहादुर विश्वकर्माको। उनी एक रातमात्र निदाएका थिएनन्। न गान्धीले भनेझैं अघिल्लो बिहानीलाई पुनर्जन्मका रुपमा लिन पाएका थिए। गान्धीले भनेजस्तो हरेक बिहानलाई पुनर्जन्मका रुपमा लिन विश्वकर्माले ११ दिन मृत्युसँग संघर्ष गर्नुपर्‍यो। 

उनका लागि ११ दिन दिउँसो र राति समान बन्यो। कहालीलाग्दा ती दिन बितेपछि मात्रै उनले गान्धीले भनेजस्तो पुनर्जन्मको अनुभूति गर्न पाए। मृत्युको मुखमा पुगेर बाँचेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री विश्वकर्मा भन्छन्– ‘म बाँचेकोमा जति खुसी लागेको छ, शुभचिन्तकले देखाएको शुभेच्छा र गरेको सहयोगप्रति उति नै आभारी छु।’ 

कोरोना भाइरस संक्रमणले लामो समय थलिएका उनी अहिले पनि राम्ररी हिँड्न सक्दैनन्। भर्खरै फोनमा कुरा गर्न थालेका छन्। त्यो पनि लामो समय बोल्न सकस हुन्छ। पहिलाजस्तो स्फुर्ती छैन शरीरमा। हिँड्ने तागत छैन। सक्रियता अत्यन्तै कम छ। ३६ दिन अस्पताल बसेर घर फर्किएको दुई महिनाभन्दा बढी भइसकेको छ तर, दैनिकी सामान्य बन्न सकेको छैन। 

‘दिनमा २०० मिटरजति हिँड्न थालेको छु। छोटो दूरीमा कार चलाउन सक्ने भएको छु। केही दिनमात्रै भयो खोकी निको भएको। अक्सिजन लगाउन पनि छोडेको छु,’ मीनले सुनाए। पूरै विश्वलाई आक्रान्त पारेको कोरोना महामारीबाट नेपाल पनि अछूतो रहेन। दुई लाख ७० हजारभन्दा बढी नेपाली यो भाइरसबाट संक्रमित भए। तीमध्ये २ हजार ३३ जनाले ज्यान गुमाए। 

संक्रमितमध्ये कैयौं मृत्युको मुखमा पुगेर फर्किएका छन्। तिनैमध्येका एक हुन्, विश्वकर्मा। कैयौंका लागि त कोरोना संक्रमण सामान्य रुघाखोकी र ज्वरोजस्तो मात्र  भयो, कसैले आफू संक्रमित भएको सम्म थाहा पाएनन्। तर, विश्वकर्माको अनुभव भने निकै पीडादायी छ। उनी आफू त लामो समय थलिए नै, परिवारका सदस्यसमेत गुमाए। ‘म जति पीडामा थिएँ, त्योभन्दा बढी पीडा मेरो परिवारले खेप्नुपर्‍यो,’ विश्वकर्माले सुनाए।

कसरी भयाे संक्रमण ? 

कोरोना महामारीका बेला विश्वकर्मा एउटा सामाजिक अभियानमा सक्रिय थिए। रुकुम पश्चिममा नवराज विकसहित ६ जना युवकको हत्या भएको थियो। जाजरकोटबाट बेहुली लिन भनेर रुकुम गएका उनीहरु गाउँलेको कुटाइबाट मारिएका थिए। 

उता रौतहट र धनुषामा प्रहरी हिरासतमा दुई युवकको मृत्यु भएको थियो। दुवै घटनाका पीडितलाई न्याय दिलाउन उनी सक्रिय थिए। अभियानका क्रममा उनी धनुषा र रौतहट पुगेका थिए। त्यहीबेला उनका जेठा भिनाजु दुवै मिर्गाैला फेल भएर वीरेन्द्र सैनिक अस्पतालमा आउजाउ गरिरहेका थिए। डायलासिसका लागि भिनाजुलाई अस्पताल लाने–ल्याउने काम मीनकै थियो।

‘धनुषा र रौतहटमा ठूलो भीडको बीचमा काम गर्नुपर्‍यो। मानिसलाई कोरोनाको डर थिएन, मास्क लगाउने र दूरी कायम गर्ने कमै थिए। यता अस्पताल पनि जोखिमपूर्ण ठाउँ नै हो। मधेस वा अस्पताल कताबाट सर्‍यो यकिन भएन,’ उनले सुनाए। कोरोना संक्रमणका हिसाबले त्यो ‘पिक’ समय थियो। 

उनी कात्तिक १ गते मधेसबाट काठमाडौं फर्किए। ढुक्क हुन उनले भोलिपल्टै टेकु अस्पताल गएर पीसीआर परीक्षणका लागि स्वाब दिए। त्यतिबेलासम्म कुनै लक्षण थिएन। तर, रिपोर्ट पोजेटिभ आयो। 

वीरका स्वास्थ्यकर्मीको हेलचेक्र्याइँ

रिपोर्ट पोजेटिभ आएपछि लक्षण पनि देखियाे। ज्वरो आउन थाल्यो, खोकी बढ्दै गयो र सास फेर्न गाह्रो हुन थाल्यो। रिपोर्टको आएको एक साता त उनी सिनामंगलस्थित निवासमै बसे। तर, त्यही बेला शरीरमा अक्सिजनको मात्रा कम हुन थाल्यो।

निरन्तर चिकित्सकको सम्पर्कमा रहेका उनले घरमै हुँदा अक्सिजन प्रयोग गर्न थालिसकेका थिए। ज्वरो घटाउन औषधिसमेत सेवन गरिरहेका थिए। तर न ज्वरो ठिक भयो, न अक्सिजन नचाहिने भयो। उनलाई संक्रमणले च्याप्दै लग्याे।

त्यसपछि उनले अस्पतालमा बेड खोज्न थाले। केएमसी र वीर अस्पतालमा बेड उपलब्ध भयो। कात्तिक ९ गते बिहान आफैं सडकमा झरे र अस्पतालको एम्बुलेन्स चढेर वीर अस्पताल गए। वीरको क्याबिनमा उनको छातीको एक्सरे गरियो। छाती र फोक्सो दुवैमा संक्रमण देखियो। १० गते आईसीयूमा सरे। त्यतिन्जेल उनी ट्वाइटेल जाने, खानेकुरा आफैं खान सक्ने अवस्थामा थिए।

आईसीयूमा सरेपछि पो उनी सिकिस्तै हुँदै गए। डाक्टरहरु नियमित राउन्डमा आउन छाडे। नर्सहरुसमेत बेला–बेलामा मात्रै आउँथे। ‘डाक्टर त आउँदै नआउने। नर्सले पनि वास्ता नगर्ने। शौचालय जान गाह्रो भयो, सहयोग गरिदिनुस् भन्दा पनि छुन मिल्दैन भन्थे,’ उनले सुनाए, ‘डाक्टर र नर्समा मानवता त परको कुरा, ड्युटीसमेत पूरा गरेको देखिएन। यसरी त मरिन्छ भन्ने पर्न थाल्यो।’

शरीरमा अक्सिजनको मात्रा निरन्तर घट्दो थियो। उनले अक्सिजन मास्क लाउनुपर्‍यो। अर्कोतिर स्वास्थ्यकर्मीले बिरामीलाई गरेको व्यवहारले मन कुँडिँदै गयो। अस्पतालको लापरबाहीका कारण अन्य संक्रमितको मृत्यु भएको पनि सुनेका थिए उनले। उनलाई लाग्न थाल्यो– यहाँ बस्यो भने बाँचिन्न।

परिवारका सदस्यलाई अरु अस्पताल खोज्न लगाए।  ग्रान्डी जाने तय भयो। हिँड्ने बेला भने वीर अस्पतालले सहजै कागजात बनाइदिएको उनी सम्झन्छन्। कात्तिक ११ गते राति १० बजे ग्रान्डी पुग्दा उनको अवस्था नाजुक बनिसकेको थियो। त्यहाँ पनि आईसीयूमै राखियो। डाक्टरले उनलाई भनेका थिए– ‘तपाईंको स्वास्थ्य धेरै जोखिममा छ। भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ।’

ग्रान्डीमा उपचार सुरु भएको आधा घण्टापछि उनको होस गुम्यो। त्यसपछिका ११ दिन उनले केही थाहा पाएनन्। बेहोसीमै मृत्युसँग लडिरहे। त्यसबेला त उनको उपचारमा संलग्न चिकित्सकले आस नै मारिसकेका रहेछन्। उनको अवस्था नाजुक रहेको र भगवानको भरोसामात्रै बाँकी रहेको सुनाएका रहेछन् परिवारलाई। 

स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि परिवारले पशुपतिनाथमा महामृत्युञ्जय पाठसमेत गराएछन्। उनी आबद्ध पार्टी कांग्रेसले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताललाई आग्रह गर्‍यो। उनलाई भारत लैजाने तयारीसमेत भएको थियो।

‘पार्टीले भारत लैजाने तयारी गरेको रहेछ। तर, बेहोस अवस्थामा नलैजाने भनेछन् श्रीमती र अस्पतालले,’ उनले भने, ‘जीवनका सबैभन्दा कठिन अवस्थामा उपचार गर्ने चिकित्सकहरु, सरकार, आफ्नै पार्टी र नेताप्रति आभारी छु। मलाईजस्तो सहयोग पार्टीले सायदै अरूलाई गरेको होला।’ 

न कुनै दीर्घ रोग न अन्य स्वास्थ्य समस्या। जनताको बीचमा गएर क्रियाशील भइरहने मानिस एकाएक गम्भीर हुँदा परिवार र शुभचिन्तकमा जे–जे हुनुपर्ने हो, त्यो भएको उनी सुनाउँछन्।

‘म बाँच्दा खुसी त छु नै पार्टी, चिकित्सक, सरकार, शुभचिन्तक र परिवारप्रति त्यति नै आभारी र ऋणी छु,’ उनले भने। 

भिनाजु पनि बाँचेनन्

संक्रमण पुष्टि भएको २२ दिनमा मात्रै उनको रिपोर्ट नेगेटिभ आयो। तर, फोक्सोको संक्रमण निकै गम्भीर थियो। जसका कारण उनलाई तंग्रन अझै गाह्रो परिरहेको छ। ३६ दिन अस्पताल बसेर उनी मंसिर १४ गते घर फर्किए। घर फर्कंदा हिँड्न सक्दैनथे, बोल्ने तागत  थिएन। 

घर फर्किंदा उनी जति खुसी थिए, त्यति नै दुःखी पनि। उनी अस्पताल भर्ना भएपछि भिनाजुले डायलासिस गराउन छोडेछन्। उनी अस्पतालमै रहँदा भिनाजुको निधन भएछ। तर, त्यो खबर उनले घर फर्केपछिमात्रै पाए।

‘घर पुग्दा दिदीलाई सादा कपडामा देखें। र पो भिनाजु खसेको थाहा पाएँ,’ उनले भने। आफूले मुत्यु जिते पनि भिनाजु बचाउन नसकेकोमा ग्लानि छ उनलाई। 

डिस्चार्ज भएको एक महिनासम्म त उनी बोल्नै सकेनन्। सात हप्तासम्म खोकी निको भएन, अक्सिजन लगाइरहनुपर्‍यो। १५ दिनमात्र भयो खोकी निको भएको र अक्सिजन लगाउन छोडेको। 

कोरोनाले उनलाई कसरी गाल्यो भन्ने कारण खोज्न चिकित्सकले पटकपटक सिटिस्क्यान गरे। तर, कुनै अंगमा रोग देखिएन। कुनै रोग नभएकै कारण म बाँचेको हुनुपर्छ। नत्र धेरै गाह्रो थियो,’ उनले सुनाए। अहिले धरानमा रहेका उनी बिस्तारै सामान्य दैनिकीमा फर्कने कोसिसमा छन्।

धरानमा रहेका उनले भने, ‘अब बिस्तारै सामान्य जीवनमा फर्कने कोसिस गरिरहेको छु। फागुनमा काठमाडौं आउँछु। पुनर्जन्म पाएको जीवन जनताको सेवामा खर्चिन्छु।’ – नेपालसमय

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सांसदहरुले लगाए कोरोना विरुद्धको खोप
बीए पास हुनुहुन्छ ? उसो भए भन्सार एजेन्टको परीक्षा तयारी गर्नुस्
विप्लव समूहका वार्ता टोली काठमाडौंमा, आजै अनौपचारिक वार्ता
२ दिने प्रजनन् स्वास्थ्य एवंम नसर्ने रोग सम्बन्धी शिबिर सम्पन्न