मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सातवटै प्रदेशमा आज कोरोना विरुद्धको भ्याक्सिन पठाइँदै

सातवटै प्रदेशमा आज कोरोना विरुद्धको भ्याक्सिन पठाइँदै


काठमाडौं– भारत सरकारले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि देशका सातै प्रदेशमा पठाइने भएको छ।

लक्षित वर्गका व्यक्तिलाई खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन्।  

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। प्रदेशबाट भ्याक्सिन जिल्ला अस्पतालमा आवश्यकताका आधारका वितरण गरिनेछ। आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। मन्त्रालयका अनुसार सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाइने बताए। काठमाडौमा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ।

उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्र्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताए। खोप लगाउन सुरु गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ।–रासस