मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मानव बेचबिखन रोक्ने सरोकारवालाको प्रतिबद्धता

मानव बेचबिखन रोक्ने सरोकारवालाको प्रतिबद्धता


धनगढी- सुदूरपश्चिम प्रदेशमा मानव बेचबिखनका घटना रोक्न सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन्। मानव बेचबिखन प्रभावितहरुको प्रदेशस्तरीय सञ्जाल निर्माण र मानव अधिकारमूखी पद्धतिको अवधारणा विषयक अभिमूखीकरण कार्यक्रममा सरोकारवालाहरुले सो प्रतिबद्धता जनाएका हुन्।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका उप-सभामुख निर्मला बडालले प्रदेशमा प्रथाजन्य कुरिती, अन्धविश्वास र मानव बेचबिखन रोक्न प्रदेश सकारले कार्यक्रम सञ्चालन गरिरहेको बताइन्। उप–सभामुख बडालले प्रदेशको सीमानाबाट मानव बेचबिखन तथा ओसारपसारमा परेकाहरुको उद्धार गरेर उनीहरुको सुरक्षा तथा पुनस्र्थापना गर्ने दायित्व राज्यको भएको बताउँदै प्रदेश सरकारले आफ्नै सुरक्षित आवास गृह सञ्चालनको तयारी गरिरहेको बताइन्। 

उनले पढेलेखेका युवती नै यौन हिंसाको शिकार भइरहेकोले यसबाट बच्न सचेत हुनुपर्नेमा जोड दिइन्। उनले सरकारले गर्न नसकेको काम गैरसरकारी संघ संस्थाले गरिहरको हुँदा हिंसा प्रभावितहरुको आत्मबल बढाउन महत्वपूर्ण योगदान रहेको बताइन्।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशका संयोजक मोहन जोशीले पछिल्लो समय इच्छाविपरित श्रममा लगाउने घटना बढिरहेको बताए। उनले प्रलोभ देखाएर, डरधम्की देखाएर यौन शोषण गर्ने जबरजस्ती करणी जस्ता जघन्य अपराध बढ्दै गएकाले त्यो रोक्न सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी निरीक्षक जगदिशसिंह देउजाले मानव बेचबिखनका घटना नरोकिएको बताए। उनले प्रहरी कार्यालयले गाउँ टोल र विद्यालयमा पुगेर विभिन्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आए पनि बेचबिखनका घटनामा कमी हुन नसकेको बताए। उनले प्रदेशमा आ.व. ०७४/०७५ मा ३१, आ.व. ०७५/०७६ मा ३६ र चालू आ.व. ०७६/०७७ को पुस मसान्तसम्ममा १८ वटा मानव बेचबिखनविरुद्धको मुद्दा दर्ता भएको बताए।

उनले मानव बेचबिखन तथा कुरीतिजन्य प्रथा रोक्न सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए।  जिल्ला प्रहरी कार्यालय कैलालीको महिला सेलका इन्चार्ज प्रहरी नायव निरीक्षक खेमराज पन्तले सीमानाकाबाट दिनदिनै जोखिममा परेका महिला तथा बालबालिकाहरुलाई उद्धार गरिरहेको बताए।

उनका अनुसार उद्धार भएका व्यक्तिलाई सुरक्षित स्थानमा राख्न सरकारले नसकिरहेको बताए। उनले सरोकारवाला निकायसंग समन्वय गरेर काम गरिरहेको बताए। 

शक्ति नेपालका अध्यक्ष चरीमाया तामाङले अहिले पनि देश भरमा २९ हजार बढी मान्छे विभिन्न नाममा बेचबिखन परिरहेको बताइन्। उनले बेचबिखनमा परेकाहरुलाई समाजले हेर्ने दृष्टिकोण, उनीहरुको सामाजिक पुनर्मिलन तथा सम्मानमा परिवर्तन ल्याउन सबैको साथ र सहयोगको लागि सुदूरपश्चिममै नेटवर्कको जरुरी रहेको बताइन्।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका सदस्य भिम चौधरी, ओरेक नेपाल धनगढीकी संयोजक बिनु राना लगायतले सबैले हातेमालो गरेर मानव बेचबिखन बिरुद्धको अभियानमा लाग्नुपर्ने बताए। – नेपालसमय