मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२०२० सकिएसँगै पृथ्वीको सबैभन्दा गर्मी दशकको पनि अन्त्य !

२०२० सकिएसँगै पृथ्वीको सबैभन्दा गर्मी दशकको पनि अन्त्य !


काठमाडौं । एकदम कम अन्तरले सन् २०२० पृथ्वीको सबैभन्दा गर्मी वर्ष बन्न पुगेको नासाले जनाएको छ । यो वर्षमा मानव समुदायले थुप्रै किसिमका जलवायु संकट : अधिकतम तापक्रम, धेरै संख्यामा हावाहुरी, आँधीबेरीलगायत प्राकृतिक प्रकोप अनि अप्रत्याशित वन डढेलोको सामना गर्नुपरेको हो ।

नासाका अनुसार विश्वव्यापी रुपमा जमिन अनि समुद्रको तापमान अध्ययन गर्दा २०२० मा, मापन गर्न थालिएदेखिकै उच्च तथ्यांक संकलित भएको हो । जसले २०१६ का सबै रेकर्ड तोडेको छ । यसरी विश्वका सात सबैभन्दा गर्मी वर्ष २०१४ पछिका भएकाले पनि सन् २००० को दशकलाई पृथ्वीको सबैभन्दा तातो दशक भनिएको छ ।

वैज्ञानिकहरुले यसका लागि धुवाँ फाल्ने इन्धन, वन फँडानीलगायत मानव क्रियाकलापलाई जिम्मेवार ठहर्‍याएका छन् । यसरी मानिसले दैनिक ठूलो मात्रामा फाल्ने गरेको ग्रिन हाउस ग्यासले आगामी वर्षहरुमा वातावरणलाई झन् अप्रत्याशित बनाउँदै लैजाने र तापक्रम लगातार वृद्धि भइरहने पनि उनीहरुले चेतावनी दिएका हुन् ।

२०२० मा महामारीका कारण जारी लकडाउनले विश्वव्यापी ग्रिन हाउस ग्यासको उत्सर्जन ७ प्रतिशतले घटाए पनि बढ्दो तापमानलाई प्रभावित गर्न पर्याप्त नभएको बताइएको छ । २०२० को तापमान पूर्वऔद्योगिक युगमाभन्दा बढी हुनु वास्तवमै चिन्ताको विषय भएको पनि विश्वविद्हरुले बताएका छन् ।

वातावरण आवश्यकताभन्दा बढी तातो हुँदा त्यसले हिमनदीहरु पगाल्ने गर्छ । जसपछि समुद्री सतह बढ्छ अनि परिणमा स्वरुप हामीले अझ विनाशकारी र भयानक प्राकृतिक प्रकोपहरुको सामना गर्नुपर्ने हुन्छ । गत वर्ष अमेरिकामा मात्र धेरै संख्यामा आएको आँधीहुरीले अर्बौं डलरको नोक्सानी गराएको थियो भने सयौं मानिसले ज्यान गुमाउनुपरेको थियो । त्यस्तै, अस्ट्रेलिया अनि अमेरिकामा उच्च तापमानका कारण महिनौं लागेको वन डढेलोले पनि धेरै ठूलो क्षेत्रमा नोक्सान पुर्‍याएको छ र जीवजन्तुसहित मान्छेको समेत ज्यान लियो ।

यस्ता घटना हुन नदिनकै लागि अन्तर्राष्ट्रिय रुपमा पेरिस जलवायु सम्झौता स्थापित गरिएको छ । जसमा सहभागी मुलुकले विश्व तापमानलाई १.५ डिग्रीभन्दा बढ्न नदिने प्रतिबद्धता जनाएका छन् ।

तर, यत्तिका वर्ष बितिसक्दा पनि यस विषयमा कुनै उल्लेखनीय प्रगति गर्न नसकिएको रिसर्चहरुले देखाउँछ । यसअघि, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुएटेरेसले पृथ्वी विस्तारै ३.५ डिग्रीको विनाशकारी तापमान वृद्धितर्फ अघि बढिरहेकाले २१औं शताब्दीको मुख्य लक्ष्य भनेकै प्रकृतिसँग शान्ति बनाइराख्ने रहेको बताएका थिए । उनले पृथ्वीका सबै ठाउँमा सबै मानिसहरुले वातावरण सुरक्षाको विषयलाई शीर्ष प्राथमिकतामा राख्न जरुरी रहेकोसमेत बताएका हुन् । -द गार्जियनबाट