मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘चौध वर्ष पिसाबमा डुबेर बिते, अब नर्स बनेर सेवा गर्ने धोको छ’

‘चौध वर्ष पिसाबमा डुबेर बिते, अब नर्स बनेर सेवा गर्ने धोको छ’


अस्मिता रिजाल, काठमाडौं । “अनि, डाक्टर मनोज तपाईंलाई यति बेलासम्म भोक लागेन त ?” पेटको घाउ सफा गर्दै गरेका डाक्टरलाई बिरामी बालिका शय्याबाटै सोध्छिन् । “ओहो ! तिमी त अब सबैको ख्याल गर्न थालिसक्यो है ?” डाक्टर दंग पर्दै जवाफ फर्काउँछन् ।

तीनपटकको सर्जरीपछि गंगा पहिलो फलोअपमा आएकी छन् । ७ साताअघिकी निराश, कसैसँग नबोल्ने, एक्लै उभिइरहने बिरामी होइन हँसिली, सबैसँग बोलिहाल्ने अनि फुर्तिली गंगा अर्थात् गंगा बास्कोटा ।

तेह्रथुमको विकट फेदाप गाउँमा जन्मिएकी गंगा सामान्य व्यक्तिझैँ पिसाब फेर्न सक्दिन थिइन् । “थाहा हुन्थ्यो । तर, पिसाब रोक्न सक्दिनथेँ । जहाँ जति बेला लाग्यो, त्यहीँ चुहिन्थ्यो । घरभित्र, बाहिर, दाउरा-घाँस जाँदा ओछ्यानमा सुत्दासमेत पिसाबमै डुबिरहेकोजस्तो लाग्थ्यो । घरमा फल्याकको छुट्टै ओछ्यान थियो म सुत्ने । छिमेकतिर गए पिरामा नबस्, मुढामा नबस् ऊ… त्यहाँ बस् भन्दै छिःछि दुर्दुर गर्थे ।”

गंगा विगत् सम्झिँदै भन्छिन्, “मलाई स्कुल जान पढ्न साह्रै रहर थियो । आमाले लिएर पनि जानुभयो । तर, केही दिन स्कुल गएपछि मलाई शिक्षक-शिक्षिकाले नै निकाले, भोलिदेखि नआउनू भने । म त्यो दिन रातभर रोएर सुतिनँ ।” आर्थिक अवस्था कमजोर रहेको बास्कोटा परिवारमा न उपचार खर्च थियो न अस्पतालसम्मको पहुँच नै । पिसाबले भिजेरै बिते गंगाका १४ वर्ष ।

काठमाडौं मोडल अस्पतालसम्मको यात्रा
गंगाकी जेठी दिदी कमला खड्का, जसलाई बहिनीको यो अवस्थाले सधैं मन भारी भइरहन्थ्यो । काठमाडौं ल्याएर उपचार गराउन पाए त ठीक हुन्थ्यो कि ? धेरै सोचिन् । तर, परिवारमा कसैले काठमाडौं ल्याउने आँट देखाएनन् । जसोतसो उनैले लिएर आइन् । सुरुमा महिलासम्बन्धी रोग भन्ठानेर प्रसूतिगृह थापाथली पुर्‍याइन् । तर, प्रसूतिका चिकित्सकले त्यहाँ उपचार नहुने बताउँदै काठमाडौं मोडल अस्पताल लैजान सुझाए । बहिनीलाई लिएर मोडल अस्पताल पुग्दा उपचार हुने आशा त जाग्यो । तर, उपचारमा लाग्ने खर्चबारे सुन्दा रुनु न हाँस्‍नु भइन् कमला । शल्यक्रियाका लागि आवश्यक डेढ लाख रुपैयाँ उनले बिहान-बेलुका ठेलागाडामा तरकारी बेचेर गरेको जोहोभन्दा निकै ठूलो रकम थियो । कमलाले काउन्सिलिङ रुममै बिन्ती बिसाइन्, “हामीसँग त त्यति पैसा छैन, डाक्टर’साब के गरौँ त बहिनीलाई ?”

गंगाको पीडाले जगाएको डा. मनोजको आँट 
प्रसूतिगृहले गंगालाई रिफर गरेका डाक्टर थिए, काठमाडौं मोडल अस्पतालका वरिष्ठ बाल शल्यचिकित्सक मनोजकृष्ण श्रेष्ठ । गंगाको केस हिस्ट्रीले नै डा. मनोजलाई झस्काइसकेको थियो । अर्थात् ३० हजारमध्ये एक बालबालिकामा हुने समस्या बोकेर आएकी थिइन्, गंगा । जन्मिँदै उनको पिसाबनली र पिसाबथैली दुवै बन्द आकारमा हुनुपर्नेमा खुलै थिए, जसलाई चिकित्सकीय भाषामा एक्स्ट्रोफिभेसिके भनिन्छ । यही कारणले उनको पिसाब बाहिर चुहिने र फैलिने हुन्थ्यो । यो समस्या देखिएका बालबालिकालाई जन्मिएको दुई दिनभित्र शल्यक्रिया गरेर पिसाबथैलीलाई आफ्नो आकारमा ल्याउन सकिन्छ । 

तर, १४ वर्ष पुगिसकेकी गंगाको शल्यक्रिया डाक्टरहरुका लगि चुनौती मात्रै थिएन, उत्तिकै जोखिमपूर्ण पनि थियो । डा. मनोजको हकमा शिशु अवस्थाबाहेकका बालबालिकामा देखिएको यो समस्या तेस्रो केस मात्रै थियो । गंगाको कम्मरमुनि दुईतिरको हड्‌डी (हिपबोन) पनि फाटिएको अवस्थामा थियो । यसले शल्यक्रियामा थप जटिलता निम्त्याउन सक्थ्यो । तर, यी सबै जोखिम मोलेर शल्यक्रिया गर्ने हिम्मत जुटाए डा. मनोजले ।

शल्यक्रिया र अर्थोपेडिक टोलीलाई उपचार प्रक्रिया थाल्न भने र गंगाको शल्यक्रियामा लाग्ने खर्च जोहो गर्न जुटे । सुरुमा पिसाबथैलीको शल्यक्रिया गरियो । सानो आन्द्रा (आइलिन) को ३० सेन्टिमिटर भाग काटेर कृत्रिम पिसाबथैली जडान गरियो । एन्टिरिफ्ल्क्स मेकानिजम (पिसाब फर्किएर माथि जान नसक्ने उपाय) सहित नाभीबाट पाइप जडान गरी पिसाब बाहिर निकाल्ने बाटो बनाइयो । हड्‌डी र पिसाब थैलीको गरी १० घण्टा लामो शल्यक्रिया सफल भयो । तर, गंगाको पिसाब नियमित भएन । कारण, हिप बोनलाई मिलाउन गरिएको शल्यक्रियाले गंगाको पिसाबनली दोब्रिएको रहेछ । पिसाबनली सोझ्याउन तेस्रो दिनमा फेरि शल्यक्रिया गरियो । यसरी दोस्रो चरणको शल्यक्रियापछि पाइपमार्फत गंगाको नियमित पिसाब हुन थाल्यो । र, गंगा अहिले सामान्य बालबालिकासरह हिँड्न, बस्‍न र पिसाब गर्न सक्छिन् ।

पाइप नै उनको जीवनभरको सहारा बनेको छ । तर, उनको गर्भावस्थामा समस्या हुनसक्नेमा डा. मनोज डराएका छन् । अनि, बर्थ क्यानल (पाठेघरबाट बच्चा निस्कने बाटो) साँघुरो भएकाले गंगाको सामान्य प्रक्रियाबाट बच्चा हुन भने गाह्रो हुने डा. श्रेष्ठ बताउँछन् ।

पढाउन पाए हुन्थ्यो 
गंगाको ६ साताको उपचारमा अनुमान गरेभन्दा बढी दुई लाख ८५ हजार रुपैयाँ खर्च भयो । कमजोर आर्थिक अवस्था भएको गंगाको परिवारले यो शल्यक्रियाको क्रममा कुनै पनि शुल्क तिर्नु परेन । जसमा मोडल अस्पतालकै प्रोजेक्ट नेपालले डा. मनोजको नेतृत्वमा शल्यचिकित्सक टोली र अर्थोसर्जन डा. राम बाराकोटीको प्रयासलाई साथ दिए । तर, गंगाको केस हेरेकै दिनदेखि डा. मनोजको मनमा खड्किएको एउटै कुरा छ, कुनै पनि बालबालिका यस्तोखाले शारीरिक समस्याकै कारण शिक्षाको अधिकारबाट वञ्चित हुनु हुँदैन ।

१४ वर्षसम्म खोसिएको उनको शिक्षाको अधिकार दिलाउन यतिखेर डा. मनोज चौतर्फी प्रयास गरिरहेका छन् । विभिन्न संघ-संस्था अनि व्यक्तिमार्फत पहल गरिरहेका छन् । उनी भन्छन्,  “हामीले गर्नसक्नेसम्मको उपचार गरेका छौं । अब उसलाई शिक्षित बनाउन पाए, आत्मनिर्भर हुन्थी नि यो छोरी ।”

नर्स बनेर अरुको सेवा गर्ने गंगाको धोको
एक्स्ट्रोफिभेसिकेले १४ वर्षपछि फर्काएको खुसी गंगाको मुहारमा जो कोहीले सहजै पढ्न सक्छन् । अस्पतालको शय्याबाट विस्तारै उठ्दै गंगा खुल्छिन्, “म बुझ्‍ने भएदेखि सबैभन्दा धेरै रहर लागेको कुरा नै पढ्न हो । साथीहरु स्कुल जाँदा साह्रै मन नरमाइलो लाग्थ्यो । पढ्न पाए के के न गर्थेंजस्तो लाग्थ्यो ।

अब म आफैँ पिसाब फेर्न र मज्जाले हिँड्नसक्ने भएकी छु । मछेउमा जाँदा अब कसैलाई गन्हाउँदैन नि है ! अब त म काठमाडौं नै बस्ने हो, धेरै पढ्नु छ । ऊ… दिदीहरुजस्तै नर्स बनेर अरुको सेवा गर्ने धोको छ ।” – बारह्खरी