मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलो दिनमै आधा बिक्यो इन्फ्रास्ट्रक्चर बैकको आईपीओ

पहिलो दिनमै आधा बिक्यो इन्फ्रास्ट्रक्चर बैकको आईपीओ


काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिन करिब पौने चार अर्ब रुपैयाँबराबरको आवेदन परेको छ । बैंकको आईपीओमा पहिलो दिन आज साँझसम्म दुई लाख ८५ हजार ३१८ आवेदकबाट तीन करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि तीन अर्ब ७० करोड ६२ लाख ६७ हजार रुपैयाँबराबरको आवेदन परेको छ ।

जुन कुल आवेदन माग गरेकोभन्दा करिब ५० प्रतिशत हो । कम्पनीको माघ २ गते आजबाट आठ अर्ब रुपैयाँ आठ करोड कित्ता आईपीओ बिक्री खुला गरेको थियो । जसमध्ये ०.२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ । बाँकी सात करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम दुई करोड कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउनेछन् ।

बैंकको मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो ।
नबिकेको आईपीओका लागि प्रत्याभूतकर्ता (अन्डर राइटर) मा नागरिक लगानी कोष छ । बैंकले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’ को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ‘ट्रिपल बी’ को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ ।

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ‘एएए’ सबैभन्दा उत्तम रेटिङ हो भने ‘डी’ सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो राम्रो हो । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो । अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्रीपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०:४० प्रतिशत हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो  बैंकले गत आर्थिक वर्षमा ८४ करोड  र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोडभन्दा माथि खुद मुनाफा आर्जन गरेको छ ।