मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुल्यो अहिलेसम्मकै ठूलो ८ अर्बको आईपीओ, किन र कति लगानी गर्ने ?

खुल्यो अहिलेसम्मकै ठूलो ८ अर्बको आईपीओ, किन र कति लगानी गर्ने ?


काठमाडौं । नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुल्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो ।

जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् । आज बिहान १० बजेदेखि आवदेन दिन पाइन्छ ।

कति कित्ता माग गर्ने ?

बैंकको आईपीओ हालसम्मकै ठूलो हो । यसमा आवेदन दिनेहरु खाली हात फर्कनु पर्दैन । त्यसका लागि बैंक खातामा आवेदन रकम बराबरको ब्यालेन्स अनिवार्य छ । हाल नेपालमा २४ लाख डिम्याट खाता खुलेका छन् । सबैले आवेदन दिएको खण्डमा एक आवेदकलाई ३० कित्ता भाग पर्छ ।

तर, सबैभन्दा पछि खुलेको चन्द्रागिरि हिल्सको आईपीओमा साढे १२ लाखले आवेदन दिएको र त्यसभन्दा केही बढी अर्थात् १५ लाखले आवेदन दिने हिसाब गर्दा सबैलाई न्युनतम ५० कित्ता दिइने अनुमान लगाइएको छ ।

बैंकको मंसिर ३ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाबाट कम्पनीले आईपीओ निष्कासन प्रस्ताव पारित गरेको थियो । नबिकेको आईपीओका लागि प्रत्याभूतकर्ता (अन्डर राइटर) मा नागरिक लगानी कोष छ ।

बैंकले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले ‘बीबीबी’ को इस्युअर रेटिङ पाएको छ । इक्रा नेपालले बैंकलाई ‘ट्रिपल बी’ को इस्युअर रेटिङ प्रदान गरेको हो । यसले कम्पनीको आईपीओमा गरेको लगानी मध्यम जोखिम जनाउँछ ।

इक्राले कम्पनीहरुलाई ८ तहमा इस्युअर रेटिङ प्रदान गर्छ । जसमा ‘एएए’ सबैभन्दा उत्तम रेटिङ हो भने ‘डी’ सबैभन्दा कमजोर रेटिङ हो । बैंकले पाएको रेटिङ चौथो राम्रो हो । कम्पनीले निष्कासन गर्न लागेको आईपीओ धितोपत्र बजामा अहिलेसम्मकै ठूलो हो ।

अधिकृत पुँजी ३४० अर्ब जारी पुँजी २० अर्ब र हाल चुक्ता पुँजी १२ अर्ब रहेको बैंकले जारी पुँजीको ४० प्रतिशतबराबरको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न लागेको हो । आईपीओ बिक्रीपछि २० अर्ब रुपैयाँ चुक्ता पुँजी पुग्ने बैंकको संस्थापक र साधारण सेयर संरचना अनुपात ६०ः४० प्रतिशत हुनेछ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको वित्तीय कारोबार २०७५ फागुन २२ मा सुरु भएको हो । बैंकले माघ २८ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्ने इजाजत पाएको थियो  बैंकले गत आर्थिक वर्षमा ८४ करोड  र यो आर्थिक वर्षको प्रथम त्रैमासमा १८ करोडभन्दा माथि खुद मुनाफा आर्जन गरेको छ ।

 बैंकको आईपीओमा किन लगानी गर्ने ?

बैंक २०७५ जेठ २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो । राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रुपमा काम गर्ने यस बैंकले मुलुकको पूर्वाधार विकासमा लगानीको पहुँच सहज बनाउने उद्देश्यलाई केन्द्रविन्दुमा राखेर प्रचलित ऐन, कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही पूर्वाधारसम्बन्धी परियोजनामा कर्जा प्रवाह तथा सेयर लगानी गर्ने, स्वदेशी परियोजनामा लगानी गर्न रकम जुटाउन विभिन्न प्रकारका स्वदेशी वा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गर्ने तथा ऋण प्राप्त गर्ने, दीर्घकालीन प्रकृतिको निक्षेप स्वीकार गरी वा डिबेन्चर जारी गरी स्रोत परिचालन गर्ने कार्य गर्छ ।

बैंकले यातायात, कृषि, पर्यटन, ऊर्जा, सहरी पूर्वाधार, सूचनाप्रविधि क्षेत्रमा लगानी गर्छ । बैंकले एक सोलार परियोजना, चारवटा हाइड्रोपावर, एक सिमेन्ट उद्योग र एउटा पाँचतारे होटेलसहित आठ परियोजनामा आठ अर्ब ३५ करोड रुपैयाँ लगानी सम्झौता गरेको छ । जसमध्ये एक अर्ब १२ करोड लगानी भइसकेको छ ।

बैंकले स्रोत व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय बजारमा ‘बोन्ड’ जारी गर्नेछ । त्यसका लागि राष्ट्र बैंकबाट स्वीकृति पनि लिइसकेको तर केही समयमा पाँच वर्षका लागि पाँच अर्बको नेफ्रा बन्ड जारी गरिन्छ ।

बैंकले नेपालभन्दा पनि बाहिरबाट स्रोत जुटाउने गरी काम गरिरहेको छ । ५४ वर्षभन्दा बढी अवधिको स्रोत जुटाउने तयारी गरिएको छ । बैंकले अहिले पाँचवटा बिमा कम्पनीबाट पाँच करोडका दरले २५ करोड रुपैयाँ स्रोत संकलन गरेको छ । बैंकले नेपालभित्र संस्थागततर्फ पाँच करोडमाथिको पाँच वर्षभन्दा बढी अवधिको र व्यक्तिगततर्फ एक करोडमाथिको ६ वर्षभन्दा बढी अवधिको मात्रै निक्षेप लिन पाइन्छ ।

सेयर बजारमा दीर्घकालीन लगानी गर्नेलाई पूर्वाधार बैंक उपयुक्त विकल्प हो । इन्फ्रास्टक्चर बैंक नेपाल सरकारको समेत १० प्रतिशत र नेपाल राष्ट्र बैंकले नियमन गर्ने पाँच वाणिज्य बैंक, बिमा समितिले नियमन गर्ने ६ बिमा कम्पनी साथै कर्पोरेट हाउसको समेत लगानी छ ।

देशमा पूर्वाधार विकास गर्ने उद्देश्यले बैंक स्थापना भएको हो, पूर्वाधार बैंक भनेको पब्लिककै हुन्छ, यसले ठूलाठूला पूर्वाधारहरु हाड्रोपावर, सडक अथवा उद्योगमा लगानी गर्छ, पब्लिकसँग सरोकार राख्‍ने र पब्लिक क्षेत्रमै लगानी गर्ने भएको तथा नाफासँगै पब्लिकको हित पनि हेर्ने र नियमकीय व्यवस्थासहितको राम्रो व्यवस्थापन भएको र विदेशी लगानी भित्र्याउने मोडालिटी बैंकले लिएकाले दीर्घकालमा लगानीकर्ता राम्रो प्रतिफल पाउँछन् । यस्तो संस्थामा १०० रुपैयाँको आईपीओमा लगानी गर्दा दीर्घकालमा सेयरधनीले राम्रो प्रतिफल पाइन्छ ।