मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ

प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ


काठमाण्डाै – प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने निर्णय आज हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदन दिने १३ जनामध्ये ११ जनाले बृहत पूर्ण इजलासमा सुनुवाइको माग गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएकोमा कार्कीले इजलासमा नबस्ने घोषणा गरिसक्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले आजको इजलासमा कार्कीको ठाउँमा अर्का न्यायाधीश तोक्नु हुने सर्वोच्च अदालतले जनाएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित प्रधानन्यायाधीशले तोकेका अन्य पाँच न्यायाधीश रहने व्यवस्था छ । यही १० पुस गते अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखबाट महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश भैसकेको छ । त्यस्तै अदालतले माग गरेको अदालतको सहयोगी अर्थात एमीकस क्युरीमा नेपाल बार एशोसिएशनले वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल र विजयकान्त मैनालीलाई सिफारिस गरेको छ भने सर्वोच्च बार एशोसिएशनले वरिष्ठ अधिवक्ताद्वय पूर्णमान शाक्य र गीता पाठकको नाम सिफारिस गरिसकेको छ ।