मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘मनमा शान्ति छैन भने संसारै पाए पनि केही हुँदैन’

‘मनमा शान्ति छैन भने संसारै पाए पनि केही हुँदैन’


काठमाडौं- आठौं शताब्दीमा तिब्बतका राजाको निम्तोमा पद्मसम्भव भारतबाट नेपाल हुँदै तिब्बत गए। नेपालमा रहँदा उनले विभिन्न ठाउँमा ध्यान तपश्या गरे र बौद्ध धर्मको प्रचार गरे। पद्मसम्भवले ध्यान गरेकोमध्ये एउटा ठाउँ हो, काठमाडौंको दक्षिण–पश्चिम कुनामा रहेको फर्पिङ।

हाल फर्पिङ बसपार्क रहेको त्रिभुवन आवासीय मावि पछाडिको डाँडोमा भएको असुर गुफामा पद्मसम्भवले ध्यान गरेका थिए। सो स्थान नजिक अहिले गुम्बा छ। वज्रयान सम्प्रदायका अनुयायीहरु पद्मसम्भवले ध्यान गरेको सो स्थानमा नियमित पूजा अर्चना गर्छन् ।

असुर गुफा रहेको डाँडोभन्दा उत्तरतिर डोल्लु क्षेत्रको एउटा गुफामा पनि पद्मसम्भवले ध्यान गरेका थिए भन्ने जनविश्वास छ। शक्ति गुफाका रुपमा परिचित यो गुफा नजिकै पद्मसम्भवको ठूलो प्रतिमासहितको अर्को गुम्बा बनेको छ। गुफाको हेरचाहको काममा १३ वर्षदेखि स्थानीय सुरेश तामाङ खटिएका छन्।

लामासँग त्यो भेट

१३ वर्षअघि एक जना लामा  गुफा रहेका ठाउँ नजिक ओहोरदोहोर गरिरहेको देखेपछि सुरेश तामाङले कहाँ जान लागेको भनी सोधे। ती लामाले गुफा खोज्दै हिंडेको भनेपछि सुरेशले उनलाई आफ्नो घर नजिकैको गुफा देखाइदिए।

लामा गुफाभित्र पसे र केही बेर ध्यान गरे। त्यसपछि उनले सुरेशलाई भने, ‘यो भगवान बसेको ठाउँ हो, यसको रक्षा गर्नु प¥यो । यहाँ पाप हुन दिनु भएन।’ ती लामाले सुरेशलाई पद्मसम्भवको ठूलो प्रतिमा भएको गुम्बामा लगेर छत्रल रिम्पोचेसँग भेट गराए।

‘त्यतिखेर छत्रल रिम्पोचेले सय वर्ष पार गरिसक्नु भएको थियो,’ सुरेश भन्छन्। रिम्पोचे र लामाबीच तिब्बती भाषामा भएको कुराकानी उनले बुझेनन्। पछि लामाले सुरेशसँग भने, ‘गुरुले तिमीलाई गुफाको संरक्षण गर्न भन्नुभएको छ।’

सुरेशले छत्रल रिम्पोचबाट प्रसादस्वरुप केही फलफूल र दक्षिणा पनि पाए। त्यो बेलादेखि बिहान उठेर गुफा सफा गर्ने, ध्यान गर्ने अनि मात्र आफ्नो काममा लाग्ने सुरेशको दैनिकी बनेको छ।

शक्ति गुफा रहेको डाँडाबाट तलतिर नियाल्दा।

ध्यान गर 

‘रिम्पोचेले मलाई गुफाको रेखदेख गर्नमात्र होइन ध्यान गर्न पनि अह्राउनुभयोे,’ १३ वर्षअघिको घटना सम्झिन्छन सुरेश, ‘त्यो बेला मलाई ध्यान गर्ने विधि पनि थाहा थिएन, लामाहरुले केही विधि सिकाइदिनु भयो।’

ध्यान गर्न थालेपछि कस्तो अनुभव भयो त?

‘मनमा शान्ति हुन्छ,’ उनी भन्छन्, ‘मनमा शान्ति छैन भने संसारै पाए पनि केही हुँदैन।’ आफूसँग धन सम्पत्ति केही नहुँदा पनि मनमा संतोषको भाव रहिरहने उनी बताउँछन्।

‘त्यो दिन म दोबाटोमा उभिनु, त्यही बेला लामा भेटिनु र उहाँलाई गुफा देखाउन पाउनु, रिम्पोचेले गुफाको रक्षा गर भन्नु… सोचेर ल्याउँदा यी सबै त्यसै भए जस्तो लाग्दैन। केही कारण त होला’ सुरेश भन्छन्।

कारण के होला त?   ‘त्यसको उत्तर अझै पाएको छैन,’ सुरेशले सुनाए। गुरु वचनलाई इमान्दारीका साथ पूरा गर्नेबाहेक आफूले अरु केही नजानेको उनी बताउँछन् ।

सुरेशको सानो चिया पसल पनि छ। कोरोना महामारीका कारण गुम्बा बन्द भएपछि बाहिरी चलहपहल कम भएको छ। त्योसँगै पसलको व्यापार पनि कम भएको छ ।

‘गुफामा आउने स्वदेशी विदेशीले धेरथोर दक्षिणा दिन्थे। अहिले कोही आउँदैन,’ सुरेश भन्छन्।त्यसैले उनी ज्याला मजदुरीको काम पनि गर्छन्। उनको दैनिकी गुफा, ध्यान, पसल र काममा बाँडिएको छ ।

कस्तो छ गुफा

‘बच्चामा आमाले जान हुँदैन, भूतले तर्साउँछ भने पनि लुकीलुकी जान्थ्यौं,’ स्थानीय शिवनारायण पौडेल भन्छन्। उनका अनुसार गुफा ओसिलो र साँघुरो छ। गुफाको पारीपट्टी भने अक्सिजन कम हुने उनी बताउँछन्। 

सय मिटर लामो र १५–३० फिट उचाइँको उक्त गुफा सांघुरो भए पनि २५ मिटर जतिको भागसम्म सजिलै जान सकिन्छ। त्यो भन्दा पर जान साँघुरो प्वालबाट घस्रिनु पर्छ। अलिकति घस्रिएपछि फेरि फराक ठाउँ छ।

पारी पट्टीको भागमा एउटा ठूलो खाडलमा प्रायः पानी जमिरहेको हुन्छ। खाडलको ठ्याक्कै माथि ठूलो गुम्बजजस्तो आकार छ। पहिले खुला रहेको उक्त गुफा  अहिले फलामे ढोका बनाएर बन्द गरिएको छ। ध्यानी, तपश्वी र दर्शनार्थीलाई गुफामा प्रवेश दिइन्छ।

दक्षिणकाली नगरपालिका– ५ डोल्लूको यो गुफामा दर्शनार्थीहरु आउने क्रम बढेपछि नगरपालिकाले यसको संरक्षणमा ध्यान दिन थालेको छ।

‘गाउँठाउँमा भएको ऐतिहासिक तथा पुरातात्विक सम्पदा संरक्षण गर्ने उद्देश्य अनुरुप दुई वर्षअघि गुफासम्म पुग्न भ¥याङ र रेलिङ बनाइयो,’ वडा नं. ५ का अध्यक्ष श्यामबहादुर खत्री भन्छन्। 

पद्मसम्भवको नेपाल साइनो

सिनासका पूर्व–प्रमुख प्राध्यापक निर्मलरत्न तुलाधरका अनुसार पद्मसम्भव तिब्बत जाने क्रममा केही समय नेपालमा पनि विताएको हुँदा यहाँ ठाउँठाउँमा उनको प्रभाव देखिन्छ।

‘बज्रयान बौद्ध परम्पराका संस्थापक आचार्य पद्मसम्भवलाई त्रिकाल बुद्ध, दोस्रो बुद्ध तथा गुरु रिन्पोचेको नामले चिनिन्छ,’ तुलाधर भन्छन्, ‘आठौं शताब्दीमा तिब्बती राजा ठ्रिसोङ देहु चेनको निम्तोमा उनी नेपाल हुँदै तिब्बत जाँदा नेपालमा पनि उनले बौद्ध धर्मको प्रचारप्रसार गरे। पद्मसम्भव तिब्बत पुगेपछि नै वज्रयान बौद्ध धर्मको व्यापक प्रचारप्रसार भएको हो ।’

तिब्बत पुग्नुअघि नेपालमा पद्मसम्भवले धेरै ठाउँमा ध्यान, तपश्या गरेको र आफ्नो शिक्षा विस्तार गरेको तुलाधर बताउँछन्। पद्मसम्भवले खोटाङको हलेसी गुफामा, फर्पिङको असुर गुफामा, दामनको ऋषेश्वर, काभ्रेको तिमाल, संखुवासभाको खेन्पालुङ, दोलखाको रोल्वालिङ, हेलम्बु, मुस्ताङलगायतका स्थानमा ध्यान साधना गरेको इतिहासमा उल्लेख छ । प्रकृतिको उपहार शक्ति गुफामा ध्यान गर्न हामी पनि जाने कि? – महेश आचार्यद्वारा लिखित यो लेख नेपालसमयबाट साभार गरिएको हो।