मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिमा बाढी पहिरोको घाउः मल्हमको आशामा किसान

कृषिमा बाढी पहिरोको घाउः मल्हमको आशामा किसान

सुदूर आज

होम साउद, अछाम ।

२०७७ भाद्र २ को निष्ठुरी रात । राती १२ बजे कैलाशखोलामा एक्कासी आएको बाढिले धर्म सिंह साउदको कागज उद्योग र ३५ रोपनी खेत सहित सुन्दर सपना पनि बगायो । अछामको रामारोशन-६ का धर्म सिंह साउद कैलाश खोलाको बाढिले वितण्डा मच्चाएको ४ महिना वितिसक्दा पनि पीडामै टोलाउछन् ।

“ज्याँन मात्रै बच्यो बाँकी त मेरो सर्वनाश भएको छ,” साउदले भने- “उद्योगका ८ वटा घर सहित १५ रोपनी जग्गा र ४० मुरी धान फल्ने खेत गरि ३५ रोपनी खेत बगर बनेको छ ।”आफ्नो सर्वस्व बाढीले लगेपछी हाल भोकमरीको समस्या भैसकेको उनले बताए । गाउँपालिकाले क्षतीको तथ्यंक लिने बाहेक राहतका लागि आफुलाई कुनै निकायबाट पहल नभएको उनले गुनासो गरे । क्षतीको पिडाले कतिबेला मन उदास हुने र गाउँ नै छोडेर जाउँ जस्तो लाग्ने तर सरकारले हेरेपछी यतै केह गरेर देखाउन सक्छुं भन्ने आँट पनि आउने गरेको उनले सुनाए ।  

खेतीपाती बगरमा परिणत भएपछिको अवस्था

कैलाशखोलामा अचानक आएको बाढीले १७ जनाको ज्यान मात्रै लगेन सिंगो रामारोशन गाउँपालिका सहित मंगलसेन नगरपालिका र बान्नीगढी जयगढ गाउँपालिकाको कैलाश किनारका उर्वर फाँटहरु पनि उजाड बनायो । कैलाश किनारमा बाढी र माथिल्लो क्षेत्रमा पहिरोले खाद्यान्न बाली सहितको उर्वर भूमि सखाप बनाएसंगै सयौं किसानको सर्वस्व लुटिएको छ ।

मंगलसेन नगरपालिका-१४ कालागाउँका स्थानीय सुरत भण्डारीका अनुसार कैलाश किनारका अधिकाँश खेतहरु बगाएपछि किसानहरु निकै चिन्तित छन । यो वर्ष गाउँमा भोकमरीको समस्या आउनसक्ने उनको भनाई छ । “किसानको खेतहरु भएको ठाँउमा तटबन्धन र सिँचाई नहर बनाईनुपर्छ” भण्डारीले भने- “स्थानीय देखि केन्द्र सरकारले किसान आत्मनिर्भर हुने खालका कार्यक्रम ल्याउँन जरुरी छ ।”

खेतीपाती बगरमा परिणत भएपछिको अवस्था

बान्नीगढि जयगढ गाउँपालिकाको सबैभन्दा बढी वडानम्वर-६ दर्नामा किसानहरु पीडित छन । कैलाशखोलामा आएको बाढीले १७ मुरी धान फल्ने खेत बगाएर बगर बनाएपछि दर्नाका हितेश थापाको परिवारले हाल चामल किनेरै गुजारा गर्नुपरेको छ । बगेको खेत बाहेक आफ्नो अन्यत्र कतैपनी खेती गर्ने ठाँउ नभएकोले निकै समस्यामा परेको थापाले दुःखेसो गरे । मुख्यतः रामारोशन गाउँपालिका र अन्य ४ वटा स्थानीय तहमा बाढि पहिरोका कारण बालिनाली र घरखेत नष्ट भएपछि  पीडित बनेका किसानहरु सरकारबाट कुनै राहत नपाउदा निरास छन ।

रामारोशन-६ का नरेन्द्र साउद भन्छन “पेट पाल्ने एक मात्रै बिकल्प खेति किसानी भएकाहरु अहिले समस्यामा छौं, हाम्रो पीडामा मल्हम लगाउन सबै तहका सराकारले पहल गर्नुपर्छ ।” कैलाशले माटो बगाएर लगेपनी ठाउँ त्यही भएकाले तटबन्धन र खेत भएको ठाँउमा खेत पुनःनिर्माणका लागि कार्यक्रम पाउनुपर्ने साउदको माग छ । 

बाढीपहिरोले पाक्नै लागेको वर्षेबाली र खेतीयोग्य जमिन ध्वस्त भएपछी सबैभन्दा बढी क्षती भएका ५ स्थानीय तहमा एक हजार ६ सय ७६ घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन । कृषि ज्ञान केन्द्र अछामका अनुसार रामारोशन गाउँपालिका, मंगलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकामा गरि जम्मा ४ हजार ५ सय ४२ रोपनी खेतीयोग्य जमिनमा क्षती भएको छ । कैलाशखोला र बुढिगंगामा आएको बाढिले उक्त क्षती गरेको हो । बाढिले  करिब ७ हजार ५ सय २० क्विन्टल बराबरको बालिनाली नष्ट गरेको कृषि ज्ञानकेन्द्र अछामका कार्यालय प्रमुख छपेन्द्र शर्माले बताए । उनले भने “यी ५ वटा स्थानीय तहमा मात्रै २५ करोड ८१ लाख ४ हजार ८ सय २० रुपैयाँ बराबरको क्षती भएको छ ।”

खेतीपाती बगरमा परिणत भएपछिको अवस्था

सबैभन्दा बढी रामारोशन गाउँपालिकामा सबै ७ वटै वडामा ८ सय ९० परिवार प्रभावित छन । उनीहरुको २ हजार ८ सय २९ रोपनी खेत ध्वस्त हुदा ६ हजार ५ सय ४३ जनालाई भोकमरीको अवस्था आएको छ । सबै खेतहरु कैलाशले बगाएपछि गाउँपालिकामा खाद्यान्न अभाव हुने गाउँपालिकाका कर्मचारी दल बहादुर साउदले बताए । बिभिन्न ब्यक्तिको करिब ९ सय रोपनी पाखोबारी समेत पहिरोले सखाप बनाएको गाउँपालिकाको तथ्यंक छ ।

यस्तै मंगलसेन नगरपालिकामा २ सय ४५ घरपरिवारको एक हजार ९ सय ६० रोपनी जमिन र त्यहाँ लगाईएको खाद्यान्नबाली नष्ट भएको छ । नगरको वडानम्वर ३, ४, ९, १०, १२ र १४ मा बाढी तथा अन्य वडाहरुमा पहिरोले क्षती गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले बताए । नगरभरिमा बाढि तथा पहिरोले खेतीबाली र भौतिक संरचनामा गरि ३ करोड ४५ लाख बरावरको नोक्सानी भएको सोडारीको भनाई छ।

साँफेबगर नगरपालिकाका बिभिन्न वडामा ४ सय ५० रोपनीमा लगाइएको खाद्य बालि नष्ट भएको छ । किसानको ४०० रोपनी खेतीयोग्य जमिन बुढीगंगाले कटान गरेको छ । वडानम्वर ४, ७, ८, ११ र १३ को बुढीगंगा किनारमा बाढीले बालिनाली सहित खेतीयोग्य जमिन नष्ट गरेको नगर प्रमुख कुल बहादुर कुवरको भनाई छ । साँफेबगर नगरपालिकामा ६ करोड १० लाख बरावरको क्षती भएको कुवरले बताए ।

खेतीपाती बगरमा परिणत भएपछिको अवस्था

यस्तै, बान्नीगढी जयगढ गाउँपालिकाको वडानम्वर ६, ३ र ४ मा १८० परिवारको ६ सय १४ रोपनी खेत पूर्ण क्षती भएको छ । त्यसबाट करिब ६ लाख ३९ हजार ५ सय बरावरको धानबाली नष्ट भएको गाउँपालिकाका एम आई एस अपरेटर बल बहादुर साउदले बताए । जिल्लाको मेल्लेख गाउँपालिकामा पहिरोले स्थानीयको १२ रोपनी धानखेत र कोदोबारी नष्ट भएको छ । गाउँपालिकाका कर्मचारी नमराज भण्डारीका अनुसार १६ परिवारका ९२ जना पहिरोबाट प्रभावित भएका छन भने ३६ लाख ७४ हजार बराबरको बालि नोक्सानी भएको छ ।

बाढी पहिरोले तुर्माखाँद गाउँपालिका पनि अछुतो रहेन । वर्षायाममा बिभिन्न स्थानमा आएको पहिरोबाट ५५ घरधुरीको ७५० रोपनीमा लगाईएको बालिनाली सहित जमिन नष्ट भएको गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले बताए । भौगोलिक बनावट र कतिपय मानविय त्रुटिका कारणले पनि पहिरोको जोखिम हुने गरेको छ । तुर्माखाँद गाउँपालिकामा पहिरोका कारण ६ करोड २५ लाख बराबरको नोक्सानी भएको अध्यक्ष शर्माले बताए । कमलबजार नगरपालिकामा भने पहिरोले २ हजार ९ सय १५ वर्गमिटर खेतीयोग्य जमिन बगाएको छ । बिभिन्न ब्यक्तिहरुको खेतबारीमा स-साना पहिरो लागेर उक्त क्षती भएको प्रमुख प्रशासकीय अधिकृत खडक बिष्टले बताए । यस्तै पञ्चदेवल बिनायक नगरपालिकामा १७ घरपरिवारले पहिरोले बालीनाली नष्ट भएको भनी निवेदन पेश भएका छन भने चौरपाटी गाउँपालिका-४ को बुढीगंगा किनारका खेतहरुमा पनि बाढी पसेर बालि नष्ट गरेको छ । सो वडाको बुढिगंगा किनारमा ४५ घरपरिवारको धानखेतमा बाढि पसेर बालि नोक्सान गरेको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताए । किसानको खेतको सुरक्षाका लागि रु ३० लाख बराबरको तटबन्धनको योजना अगाडि बढिसकेको अध्यक्ष साउदको भनाई छ ।

खेतीपाती बगरमा परिणत भएपछिको अवस्था

यसरि हेर्दा जिल्लामा बाढी पहिरोका कारण १ हजार १७६ परिवार प्रत्यक्ष प्रभावित भएका छन । कुल ८ हजार ५ सय ७२ जनालाई बाढीपहिरोले भोकमरीको समस्यामा पारेको छ । ‍‍‍करिब ६ हजार ९ सय रोपनी जमिन र त्यहाँ लगाईएको खाद्यबाली नष्ट भएको तथ्यंकले देखाएको छ ।

कैलाशको बाढी पश्चात घट्नास्थल पुगेर संघीय सरकारका गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री र अर्थमन्त्री समेतले पीडितका लागि राहतको विशेष कार्यक्रम ल्याईने प्रतिबद्दता जनाएका थिए । तर बाढी पहिरोले वितण्डा मच्चाएको ४ महिना बितिसक्दा पनि कुनै ठोस कार्यक्रम नआउदा स्थानीय निराश छन । मानविय, भौतिक, कृषि र पशुवस्तुमा भएको क्षतीको पीडाले विछिप्त बनेका यहाँका किसान स्थानीय, प्रदेश तथा केन्द्र सरकारबाट राहत र आयमुलक कार्यक्रमको पर्खाईमा छन । खेतीबाली र खेतीयोग्य जमिन समेत नरहेपछी किसानहरु आयआर्जनमुलक र पुनःस्थापनाका कार्यक्रम पाए जीविकोपार्जनमा सहज हुने बताउछन । रामारोशनका पीडित किसानका लागि गाउँपालिकाबाट बिउबिजन वितरण सम्म पनि गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले बताईन । आफ्नो पालिकामा ठुलो मानविय र भौतिक क्षती भएका कारण कृषि क्षेत्रमा भएको नोक्सानी प्राथमिकता मै पर्न नपाएको उनको भनाई छ ।

मंगलसेन नगरपालिकाले भने बाढिपहिरोबाट पीडित किसानका लागी राहत स्वरुप खाद्यान्न सहयोग गर्ने निर्णय गरिसकेको छ । “किसानलाई राहत दिने निर्णय भैसकेको छ,” नगरप्रमुख पदमबहादुर बोहराले भने- “कोभिड -१९ को संक्रमण जोखिमका कारण बितरण गर्न रोकिएको छ, अव छिट्टै वितरण हुनेछ ।” नगरबाट किसानलाई सान्त्वना स्वरुप खाद्यान्न राहत दिईने र नोक्सानीको क्षतीपूर्ती नगरको क्षमताले नसकिने बोहरा बताउछन् ।  क्षतीपूर्ती र दीर्घकालिन ब्यवस्थापनका लागि प्रदेश र संघीय सरकारमा अनुरोध गरिएको नगरप्रमुख बोहराको भनाई छ ।

उता सुदूरपश्चिम प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री बिनिता चौधरीले भने विपद्ले कृषि क्षेत्रमा गरेको क्षतीको दीर्घकालिन ब्यवस्थापनका लागि मन्त्रालय लागिरहेको बताईन । उनले भनिन् “अछामलाई प्राथमिकता दिएर कार्यक्रम अघि बढाईएको छ, निःशुल्क बिउ वितरण र पशुचौपाया क्षतीको राहत उपलब्ध गराउन जिल्लामा कार्यक्रम पठाईसकिएको छ ।”

मन्त्री चौधरीले आगामी दिनमा कृषि क्षेत्रमा भएको क्षती बिर्साउने गरि किसान केन्द्रित आयमुलक र आवश्यकता अनुसारका अन्य कार्यक्र अगाडि बढाईने बताईन । खाद्य असुरक्षालाई न्यूनिकरण गर्न पनी बाँझो जमिन सदुपयोग गर्नेगरि सामूहिक खेतीमा प्रोत्साहन र आयमुलक कार्यक्रम अघि बढाईने मन्त्री चौधरीको भनाई छ । पीडित किसानको लागि प्रदेश सरकारबाट रु ५ लाख बराबरको कार्यक्रम गर्न भनि परिपत्र आएपनी रकम निकासा नआएको कृषि ज्ञानकेन्द्र अछामका कार्यालय प्रमुख शर्माले बताए । रकम आएमा स्थानीय तहसंग समन्वय गरि काम गरिने उनले बताए ।

प्राकृतिक विपत्तिले खेतियोग्य जमिन नष्ट भएपछि जिल्लामा खाद्य संकट हुने र खाद्य असुरक्षाको चिन्ता बढेको छ । वातावरणीय क्षयीकरण, बाढि पहिरो, असिना आदिले खाद्यान्न उत्पादनमा ह्रास आएपछि खाद्य उपलब्धता अपर्याप्त हुने निश्चित छ । तर नागरिकको खाद्य अधिकार सुनिश्चित गर्न कुनैपनि निकायले ठोस योजना अगाडि सारेको पाईदैन । कृषि ज्ञान केन्द्र अछामको गत आर्थिक वर्ष २०७६।७७ को तथ्यंक अनुसार जिल्लालाई १० हजार मेट्रिक टन खाद्यान्न अपुग छ । प्रतिकुल मौसम र प्राकृतिक विपद्जन्य घट्नाका कारण उत्पादनमा ह्रास आउने गरेको कृषि ज्ञानकेन्द्र अछामका प्रास रामसिंह बोहराको भनाई छ । बढ्दो आवश्यकता र घट्दो उत्पादनलाई मध्यनजर गर्दै अछाम जिल्लामा रहेको ११ हजार २ सय ३४ हेक्टर बाँझो जमिन प्रयोगमा ल्याँउन जरुरी रहेको उनले बताए । जिल्लाको कुल ५३ हजार ६ सय ४३ हेक्टर खेतीयोग्य जमिन मध्ये ४२ हजार ४ सय १३ हेक्टर जमिन मात्रै प्रयोगमा आएको छ । त्यसमा पनि प्राकृतिक प्रकोप जंगली जनावरले नोक्सान पुर्याउने हुँदा खाद्यान्न उत्पादनमा ह्रास आउने गरेको छ । क्षती भएको जमिन र बालिनालीको परिपूर्तीका लागि बाँझो रहेको खेतियोग्य भू-भाग सदुपयोग गर्न सके जिल्लालाई खाद्यान्नमा आत्मनिर्भर पनि बनाउन सकिने बोहराले बताए ।

सरकारले कृषियोग्य भूमिको प्रयोग बढाउने तथा बिउबिजन र प्रविधि आवश्यकता अनुसार किसानलाई उपलब्ध गराई ठोस कार्यक्रम अघि सार्नुपर्ने मंगलसेन नगरपालिका कृषि विकास शाखाका प्रास तर्क भूलकोभनाई छ । उनले भने “प्रकोप रोकथाम त गर्न सकिदैन, तर किसानलाई क्षतिपूर्तीका लागि बालि तथा पशु बिमामा जोड दिईनुपर्छ ।” उत्पादन बढाउन उन्नत बालि लगाउन प्रोत्साहन गरिनुपर्छ । यस्तै लेकाली भेगको बाँझो जमिनमा स्थानीय रैथाने बालि, दलहन, मसलाबाली र फलफुल खेती गरि घरेलु तथा लघु उद्यम विकासका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा उनको जोड छ ।     

स्वस्थ जीवन, सक्षम जनशक्ति उत्पादन र समृद्द राष्ट्र निर्माणका लागि कृषि क्षेत्रको समुचित विकास जरुरी छ । प्राकृतिक विपत्ति र रोग किराको प्रकोप जस्ता कारणले निरास भएका किसानलाई यस्तै बेला हौसलाको जरुरी हुने सामाजिक अभियन्ता रतन रावलको भनाई छ । उनले भने “जुन ठाउँमा जस्तो उत्पादन हुन्छ त्यस्तै खेती गर्नका लागि स्थानीय सरकारले विशेष पहल गर्नुपर्दछ ।” “बाँझो पाखोबारीमा बैकल्पीक खेती गर्ने र त्यसको बजारीकरणमा पनि जोड दिईनुपर्छ” रावलले अघि भने “किसानलाई उत्साहित बनाई उर्जाशील भएर उत्पादन बढाउन प्रेरित गर्ने जिम्मा सरकार र यस सम्वद्द सरोकारवालाको हो ।”

लेखक साउद नेपाल पत्रकार महासंघ अछाम शाखा सचिव हुन्।