मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदको स्वीकृति

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदको स्वीकृति


काठमाण्डौ – सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको हो । 

भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्नका लागि स्वीकृति प्रदान गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्नुभएको थियो । आर्थिक वर्ष २०७५/७६ बाट सुरु भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सम्पन्न भएर घोषणा गर्ने चरणमा आएपछि सरकारले सगरमाथाको औपचारिक रूपमा घोषणाको तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो । उ#हाँले भन्नुभयो, ‘सरकारले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ । त्यो कार्य अहिले सम्पन्न भएको छ । अब हामी आफैले नापेको सगरमाथाको उचाइ औपचारिक रूपमा घोषणा गर्ने चरणमा आइपुगेका छौँ ।’

सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण देशको उत्तरी भूभागमा रहेका स्थानहरूको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । त्यही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपरघट भएको हुन सक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

मन्त्रिपरिषदबाट स्वीकृति प्रदान भइसकेपछि अब केही दिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रूपमा सगरमाथाको नयाँ उचाइ घोषणा गर्नेछ । 

सन् २०१९ मा चीनका राष्ट्रपति सी चिङपिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । त्यहीबमोजीम नेपाल र चीनका सरकारी टोलीले संयुक्त रूपमा काम गरेका थिए । 

यसअघि विभिन्न देशले सगरमाथाको उचाइ मापन गर्दै आएका थिए । पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरी उचाइ कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८८४८ मिटर कायम रहिआएको छ ।