अन्तरवार्ता / विचार

सम्झनामा अछाम

हेलिकोप्टर र प्रधानमन्त्री ल्याउने सिडिओ

  • कृष्णहरि बास्कोटा

२०५१ सालको अन्त्यतिरको कुरा हो । म भूमि सुधार मन्त्रालयमा उपसचिवमा कार्यरत थिए । अचानक सिडिओ बनेर जिल्ला हाक्नुपर्छ भन्ने अनौपचारिक सल्लाह प्राप्त भयो । त्यस्को केहि दिनमै एकलट सिडियोको सरुवाको हल्ला फैलियो । म जुम्लाको सिडियोमा परेछु । गृह मन्त्रालयमा प्रशासन शाखाको उपसचिवलाई भेट्न भए । उहांले जुम्लामा कार्यरत प्रजिअ शंकर पाण्डेसंग टेलिफोनमा कुराकानी गराई दिनु भयो । पाण्डे सिडिओ सापले निकै सहयोगी भावनाले मलाई जिल्लाको बस्तुस्थितिको ब्रिफिंग गर्नुभयो । यो जिल्लामा स्वागत छ भनी टेलिफोन राख्नु भयो ।

जुम्लाको होईन, अछामको सिडिओमा नियुक्ति : 
अर्कोदिन, गृह मन्त्रालयका उनै प्रशासन शाखाको उपसचिवले प्रजिअमा सरुवा भएको पत्र लिन आउन आग्रह गर्नु भयो । गृह मन्त्रालयबाट जारी भएको पत्रमा म अछाम जिल्लाको प्रजिअमा सरुवा भएको रहेछु । ती उपसचिव मित्रले पनि केहि हेरफेर भएको कुरा बताउनु भयो । सो पत्र बोकेर गृहमन्त्रीलाई भेट्न पुगे । सो बखत गृहमन्त्री के.पी.शर्मा ओली हुनुहुन्थ्यो । उहांले राम्ररी मलाई असल काम गर्न आग्रह गर्दै मन्त्रालयबाट आबश्यक सहयोग उपलव्ध हुने कुरा बताउनु भयो । म गृहमन्त्रीसंगको भेटबाट सन्तुष्ट र उत्साहि भए । त्यसपछि मेरा पाईला गृहसचिवको कार्यकक्षतर्फ मोडिए । सो बखत गृहसचिव भोजराज पोखरेल हुनुहुन्थ्यो । उहांले मलाई प्रजिअ हुनु भएकोमा बधाई भन्दै बिस्तृत कुराकानीका लागि भोलि बिहान निबासमा भेट्न आउन आग्रह गर्नुु भयो । म बिदा भए ।

गृहसचिबको अर्ति उपदेशमा चलेको सिडिओ :
म, भोलिपल्ट बिहान करिब साढेसात बजे भोजराज पोखरेलको घटृेकुलो खसीवजार नजिको घरमा पुगे । सामान्य एकतले घर भए झै लाग्छ । बाटोबाट घर अलिक मुन्तिर भएजस्तो संझना छ । घर अगाडि एउटा मोटर अट्ने सानो आंगन भएजस्तो संझनामा छ । गृहसचिवको घर भएपनि कुनै पाले पहरा, प्रहरी देखिन । भूईतल्लामा एउटा सानो कोठा नै बैठक कोठा रहेछ । सामान्य पुरानो सफा भएजस्तो लाग्छ । म पुगेपछि गृहसचिब बैठकमा आउनु भयो । उहांले मलाई युवा प्रजिअकारुपमा तपाई सफल हुनुपर्छ भन्नु भयो । सिडिओका केहि सीमा छन् भनी बताउनु भयो । जिल्ला हाँक्दाआफै रोलमोडेल हुनुपर्ने कुरा बताउनु भयो । सेना, प्रहरी लगायतको परिचालनमा गंभिर हुन सल्लाह दिनु भयो । राजनैतिक दलसंग समदुरीमा बसेर काम गर्न अथ्र्याउनु भयो । विकासको काममा दिलचस्पी दिन र जनतामा छाप छोड्न क्रियाशील हुन करिब १५ मिनेटको अर्तिउपदेश, निर्देशन दिनु भयो । पछि मैले आफैलाई फर्केर हेर्दा भोजराज पोखरेलका ती १५ मिनेटका प्रबचन नै मलाई अछामको सिडिओमा सफल हुन पर्याप्त भएको महशुस गरेको छु । यस्ता दामी प्रशासकप्रति नमन गर्दछु ।

साफेबगरमा सिडिओ पक्राउ :
काठमाण्डौंबाट अछाम जान नेपालगंजको उडान भरे । नेपालगंजमा एकरात बांस बसेर भोलिपल्ट बिहान नेपागंजबाट साफेबगर बिमानस्थलमा ओर्लिए । हवाई जहाज रोकिएपछि एयर होस्टेजले हवाई जहाजको ढोका खोलिन् । तब जहाजको ढोकैमा आएर एक प्रहरी चिच्याए, यहांहरु मध्ये कृष्णहरि बास्कोटा को हुनुहुन्छ ? म झसंग भए । किन मलाई प्रहरीले खोजे ? कतै मलाई पक्राउ गर्न आएका त होईनन् ?

यस्ता आबेगहरु मेरो मनमा करिब ५।१० सेकेण्ड मडारिए । तत् पश्चात आफैलाई सम्हाले । संझिए, म त प्रजिअ पो हु त । तब मैले आफुलाई परिचित गराउदै पालो अनुसार जहाजको ढोकाबाट अछामको पबित्र भूमिमा पहिलो पटक पाईला राखे । ती प्रहरीले खुट्टा बजारे, कराए, हात यसो उसो गरे । अगाडि जाउ हजुर भनेर एयरपोर्टको टावरतर्फ लगे । अहिले संझिदा उनले खुट्टाको ताल मिलाएर जय नेपाल भनी मलाई प्रहरीको अनुशासन अनुसार अभिवादन गरेका रहेछन् । उनी मेरो अंगरक्षकमा खटिएका हबलदार साप रहेछन् । मलाई तालीमको अभावमा कसरी अभिवादन फर्काउने भन्ने जानकारी नरहेको अनुभूति गरे । पछि उनै हवलदार सापले सेना वा प्रहरीले सलाम गरेमा टोपी लगाएको अबस्था भए सुरक्षाकर्मीले जस्तै सलाम गर्ने र टोपी नलगाएको अबस्थाभए दुबै हात तन्काएर शरिरलाई केहि तन्काए झै गरी अभिवादन फर्काउने भनी सिकाई दिए ।

साफेबगरमा सिडिओ जात्रा :
मेरो अंगरक्षकले मलाई टावरमा लिएर गए । साफेमा रहेका सरकारी कर्मचारीमध्ये टावरका हाकिम बरिष्ठ रहेछन् । तहां अन्य सरकारी कार्यालयका प्रमुख, स्थानीय नेता र स्थानीय व्यापारी भेला भएका रहेछन् । सबैले मेरो जिल्ला अवागमनको स्वागत गरे । चिया खाएर मंगलसेनका लागि प्रस्थान गर्ने गरी सबै उठियो ।

नेपालगंजबाट आएको हवाई जहाज फर्कीसकेकाले टावरको हाकिम साहेब लगातको फौज मेरो पछि लाग्यो । हामी साफेबगर बजारमा पुग्यौं । एयरपोर्टको सुरक्षामा खटिएका प्रहरी पनि पछि लागे । सबै पसलेहरु ग्राहकको वास्ता नगरी नयां सिडियोलाई हेर्ने र नमस्कार गर्ने काममा सक्रिय भए । बजारभरि एकाएक सिडिओ जात्रा आरम्भ भयो । ५०।६० जना केटाकेटी पनि पछि लागे । साफेबगर बजार अबाक भयो । सबैले सिडियोलाई हेर्ने, घेर्ने, छुने, नमस्कार गर्ने, हास्ने, टोलाउने लगायतको निकै आत्मिय स्थिति तयार भयो ।

अछाम जिल्लाको पबित्र भूमिमा पाईला टेक्ने बित्तिकै आम नागरिकबाट अभिनन्दन पाएको महशुस गरे । आखिर साफेबगर बजार कत्रो नै थियो र ३।४ मिनेटमा बजारको यात्रा टुगिंयो । सबैले, बिस्तारै सकुशल मंगलसेन पुग्नु होला भन्ने शुभेच्छा व्यक्त गरी बिदा भए । मैले संझे अनुसार अब, म, हबलदार, सेतो सिडिओको घोडा र शयस बयपाटाको उकालो चढन थाल्यौं ।

बाटोमा बयलपाटामा रहेको प्रहरी चौकीले सलामी दिएको थियो । सो सलामी फर्काउने बिधि जानकारी थिएन । के पो गरे, हाल याद छैन । बाटोमा सबै पसले र भद्रभलादमीहरुले हवलदार सापलाई सोध्थे, उहां नया सिडियो साप भनेर चिनाउनु हुन्थ्यो । अभिवादनको आदन प्रदान हुन्थ्यो । यसो गर्दा ८ वजेतिर बिहान साफेबगर उत्रिएको म करिब १।२ बजे मंगलसेन पुगे । ५।१० मिनेट पहिला शयस मंगलसेन पुगेर खबर गरेका कारण म मंगलसेन दरवार पुग्दा सिडिओको कार्यकक्ष खचाखच भरिएको थियो । मैले हार्दिकताबश स्वागत् पाए र बिधिवत् सिडिओको कुर्सीमा बसेर जीवनमा पहिलोपटक सिडिओ भए । यसरी, अछामले लगाएको गुन वापत सधै आफुलाई भाग्यमानी र श्रृणी संझिएको छु ।

दैनिक सलामी खाने सिडिओ :
मंललसेन दरवारमा रहेको जिल्ला प्रशासन कार्यालयमा सिडिओ भएर गएपछि जानकारी पाए, मेरो सुरक्षामा एकजना हबलदार सहित थप ४ प्रहरी खटिने रहेछन् । यिनलाई एक चार गार्ड भनिदो रहेछ । यिनले प्रत्येक दिन सिडिओलाई सलामी दिने रहेछन् । तर, बुझेर, नबुझेर, बुझ पचाएर वा अन्य कारणले सिडिओहरु कुन बखत यी प्रहरीको गौडो हुदै बाहिरिन्छन् र सलामी दिने भन्ने अन्यौल हुदोरहेछ भन्ने कुरा २।४ दिनमै लख काटे ।

तत् पश्चात करिब सवा छ बजेदेखि साढे छ वजे विहान म दैनिक निवासरुपी कोठाबाट निस्कन थाले । यसबाट एकातिर मैले नियमितरुपमा व्यबस्थितढंले पाचै जना प्रहरीको एकमुष्ठ सलामी खान थाले भने अर्कोतिर प्रहरीलाई पनि तयारी अबस्थामा बस्नु पर्ने र फुर्सद हुने समय एकिन हुन पुग्यो । यसबाट मेरो सुरक्षामा खटिएको प्रहरी म प्रजिअ हुन्जेल पूरै समय सरुवा नभई बसेको याद गरेको छु । आखिर जागिर आफुले मात्रै खाने होईन, अरुको जागिर पनि सजिलो बनाई दिनुपर्छ भन्ने मेरो मान्यता अघि सार्न चाहन्छु ।

सिडिओलाई हेर्ने अछामी पक्राउ :
एकदिन बिहान सिडिओ कार्यालयको फलैचामा बसीरहेको थिए । एकजना अछामीले मूलगेटबाट चिहाएर हेरे । मैले ए के हेरेको ?मात्र के भनेको थिए, ती बुर्कुसी मारेर भागे । मैले तत्कालै प्रहरीलाई पक्रन आदेश दिए । प्रहरी पछि पछि अछामी अघि अघि दोडादौड मच्चियो । केहि क्षणमै प्रहरीले प्रकाउ गरी ती अछामीलाई मेरो सामू प्रस्तुत गरे ।

मैले सोधे, अघि किन हेरेको ? उनले भने सिडिओ अफिस खुल्यो कि भनेर हेरेको । मैले सोधे, के काम छ ? यहि सवाल जवाफमा यावत कुरा जानकारी भयो । ती टाढाबाट नागरिकता लिन आएका अछामी रहेछन् । उनलाई पक्राउ गर्ने आदेश दिने म सिडिओ उनको कुरा सुनेर पानी पानी भए । चाडैनागरिकतापाए चाडै घर गएर एक गास टिपौंला, मंगलसेनको होटलमा पैसा भएपो खानु जस्तो भाव बुझेर म खत्रक्कै भए । मंगलसेन दरवारकै दुईवटा कोठामा बस्ने जोशी भन्ने सुव्वासाहेब र एैरे भन्न वहिदार साहेबलाई वोलाए । उनीहरुलाई यी अछामीको नागरिकता बनाई दिन भने । तर, तिनले अहिले साढे सात मात्रै बजेको, दश बजेपछि बनाउन सकिने जवाफ दिए । लामो समयको गलफत्ती पछि ८ बजे ती अछामीको नागरिकता बन्यो । हातमा नागरिकता पाएपछि औधि खुसी भएका ती अछामीले पबित्र हृदयले मलाई आर्शिवाद दिएर घरतिरकुदे ।

सोहि दिन मैले जोशी सुव्वासाहेब र एैरे वहिदार साहेबलाई बहसको दौरान दिएको बचन अनुसार १० वटा सुधारको काम आरम्भ गरे । जस्मा प्रमुख कुरा, जिल्ला प्रशासन कार्यालयमा हेल्प डेक्समा खडा भयो । यस्को ईन्चार्जमा एैरे नै खटिए । उनलाई नागरिकले दिनु पर्ने दर्खास्तरुपी फाराम भरिदिन मिल्ने गरी अधिकार प्रत्यायोजनको पत्र दिए । कर्मचारीको तर्क थियो, दुनियादारीको निबेदन कर्मचारीले लेखिदिन मुलुकी ऐनले निषेध गरेको छ । मैले उनीहरुको तर्कको बिपरित अधिकार प्रत्यायोजनाको लिखित पत्र नै दिने बचनबद्धता व्यक्त गरेको थिए, दिए पनि ।

रु एक को हुलाक टिकट हेल्प डेस्कबाटै विक्री हुने भयो । जिल्ला प्रशासन कार्यालयमा लेखापढि व्यबसायीलाई विशेष अनुरोध गरेर प्रबेश निषेध गरियो । यसरी बित्थामा नागरिक पक्राउ गरेको बदलामा म सिडिओले नागरिक मैत्री कार्यालयको आारम्भ गरेर आफ्नो कर्मको प्रायश्चित गरे । यसबाट सुधारवादी कहलाए । तर, भित्रभित्रै सुने, सिडिओ सापको श्रीमती काठमाण्डौं जानु भएकाले सिडिओ साप केहि सनकी हुनु भएको छ । आज, बिहान ८ बजे नागरिकता बितरण गर्न कर्मचारीलाई बाध्य गर्नु भयो । मैलै खासै वास्ता गरिन ।

सिडिओ साप बहूलाउनु भयो :
अछाममा म सिडिओ हुँदा मनमौजीढंगले सुधारको काम हाकें । सो बखत सांझ रेडियो नेपालबाट प्रशारण हुने घटना र विचार कार्यक्रम निकै लोकप्रिय थियो । सो कार्यक्रम रेडियोमा बज्नु पूर्ब नै कार्यालय प्रमुखहरु जिल्ला प्रशासन कार्यालयको चउरमा भेला हुने गर्थे । एकदिन रेडियो नेपालको उक्त कार्यक्रम सम्पन्न भएपछि सबै हाकिमहरु म संग बिदा भएर क्वाटरतिर लागे ।

त्यस मध्ये एकजना ठिंग उभ्भिएको देखे । सोधे, तपाई कुन कार्यालयको प्रमुख ? नयां आएको हो ? ती मानिसले लाज मान्दै भने, होईन हजुर, म अछामी हुं । नागरिकता वनाउन आएको । म रामारोशनबाट मंगलसेन आईपुग्दा साझ परेकाले कार्यालय बन्द भैसकेको थियो । तैपनि मन दह्रो गरेर हजुरसंग अहिले नागरिकता बनाई माग्न पर्खिएको हुं । मेरो भैसी एकहाते छ । अहिले नागरिकता पाए भोलि बिहान भालेको डांकसंगै घर फर्किन्थे र भैसी दुहुन्थ्ये । यी सबै कुराकानी पछि उनै जोशी सुव्वा साहेब र एैरे वहिदार साहेब डांकिए । ती वाध्य थिए । तिनले मेरो आदेश अनुसार नागरिकता बनाई दिए ।

ती अछामीले तिमी सिडिओको चाडैं बढुवा होस् भनी आर्शिवाद दिए । हुनपनि म अछामबाट फर्किएको एकदुई वर्षमै सहसचिबमा बढुवा भए । तर, भोलिपल्ट फेरी कार्यालयमा कानेखुसी भएछ, अब त साच्चै सिडिओ साप बहूलाउनु भएछ । हिजो राति ८ बजेपनि नागरिकता जारीभयो । यस्तो कुरा गृह मन्त्रालयमा थाहां भयो भने उहां सिडिओबाट हट्नु हुन्छ । यो कुरा पनि मिल्यो । म अछामबाट ७।८ महिनाको सिडिओको अनुभवछि गृह मन्त्रालयको पुल दरवन्दीमा फ्याँकिए ।

हेलिकोप्टर र प्रधानमन्त्री ल्याउने सिडिओ :
म अछामका सिडिओ हुँदा मोटर बाटो केबल डोटीसम्म आई पुगेको थियो ।हाल सडकमार्ग क्रमशः साफेबगर हुदै मंगलसेन र राकम कर्णाली, विनायक हुदै मंगलसेन पुगेको देखेरहर्षबिभोर भएको छु । साफेमा एयरपोर्ट भएपनि मंगलसेन र कमलबजारमा आबश्यक पहल गरेपनि एयरपोर्ट बन्न सकेको थिएन । यसर्थ, हप्तामा एकपटक मंगलसेनमा हेलिकोप्टर आउने प्रबन्ध मिलाएको थिए । यसबाट जनतामा निकै लाभ पुगेको अनुभूति गरेको थिए ।

यसैगरी, म अछामको प्रजिअ हुँदा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाले मंगलसेन र साफेबगरको स्थलगत भ्रमण गर्नु भयो । यस्मा मैलै स्थानीय नेता र सुरक्षाकर्मीबाट ठूलो सहयोग पाए । म उहांहरुप्रति श्रृणी छु । यसरी म अछाममा सिडिओ हुदा जिल्लामा हेलिकोप्टर ल्याउने र प्रधानमन्त्रीको भ्रमण गराउने सफल सिडिओ भनेर पनि टिप्पणी गरेको सुन्दा साहै खुसीको अनुभव गर्ने गरेको छु ।

अम्बा र दही चप्काउने सिडिओ :
एकदिन अछामको सिडिओको मेचमा बसेर काम गरिरहेको थिए । एक ज्येष्ठ नागरिक आउनु भयो । उहांले आफ्नो कोटको दुईतिरको खल्तीबाट एउटा एउटा अम्बा झिकेर सिडिओको टेबुलमा राख्दै लौ सिडिओ अम्वा खाउ भन्नु भयो । मैले स्वाद लिएर ती दुबै अम्बा खाए । त्यसपछि सोको कारण जान्न चाहे । उहां पुरानो मानिस, मंगलसेन दरबारका राजा संझेर घरको वारीमा फकेको अम्वा देउतालाई चढाउन ल्याउनु भएको रहेछ । अब सो अम्वाको बोटबाट अम्वा टिपेर खाना केटाकेटीलाई खुल्ला भएछ । यो कुरा सुनेर म आश्चर्यचकित भए । ती ज्येष्ठ नागरिकलाई सम्मानपूर्बक केहि खाजा खुवाएर बिदा गरे ।

एकदिन अछामको सिडिओ कार्यालयको फलैचामा बसी रहेको थिए । अर्का ज्येष्ठ नागरिकले एउटा लोटा लिएर आउनु भयो । मलाई अभिवादन गरेर लौ सिडिओ यो दहि खाउ भन्नु भयो । मैले कुनै कुरा नसोची सो दहि पिए । त्यसपछि सोको कारण सोधे । फेरी जवाफ पाए, भैसी व्याएर चोख्खिएपछि मोहिपार्न ठेकीमा हालेको दहि पहिला राजालाई खुवाउनु पर्ने रहेछ । हालका अछामी राजा सिडिओ नै हुन्, सोहि कारणले दहि खुवाउन आएको हुं भनैपछि म लाजले रातोपिरो भए । उहांलाई पनि गच्छै अनुसारको भोजन गराएर विदा भए । यस्ता सरल स्वभावका, राज्य प्रणालीप्रति आस्था भएका, आफ्नो परंपरा र संस्कृतिको जगर्ने गर्न लागी परेका मेरा आदर्णिय अछामीप्रति हार्दिक नतमस्तक छु ।

जनताको सिडिओ दशैंमा पाईयो :
बि.सं. २०५२ को दशै मैले अछामको मंगलसेन दरवारमा मगाए । सरकारी दरबन्दी अनुसार आठ दश वटा खसी वोकाको बली चढाए जस्तो लाग्छ । यी सबै पूजा प्रजिअले गर्ने परांपरा भएपनि बेलाबखतमा तलमाथि परेको रहेछ । म दशैमा ढुक्कसंग बसेपछि जनता खुसी भएको महशुस गरेको थिए । सरकारी दरबन्दीको बली सकिएपछि जनता जनार्दनको खसी बोकालाई पनि मैले पुजा गरिदिदा जनता खुसी हुने रहेछन् । यो वर्ष दशै साहै उत्साहपूर्ण भयो भन्ने जनताबाट सुन्दा म पनि दंग परे ।

दशैको टिकाको लागि ईच्छुकले प्रजिअबाट टिका लगाउन सक्ने गरी निमन्त्रणा गरे । करिब ४ सय जनाले टिका लगाए जस्तो संझना छ । यसरी टिका लगाउन आउनेलाई चिउरा, तरकारी, अचार, दहि लगायतको खाने प्रबन्ध गरिएको थियो । यसरी धुमधामसंग अछाममा दशै मनाएको संझना आज पनि मानसपटलमा ताज नै छ ।

मेरा बा आमाले पनि आफ्नो सिडिओ छोरालाई टिका लगाउने ईच्छा प्रकट गर्नुभएको थियो । ससुरालीले पनि सिडिओ ज्वाई आउनु होला भनी बाटो हेर्नुभएको थियो रे । अन्य आफन्तले पनि आशा गर्ने नै भए । तर मैले आमा बुबा लगायत आफन्तलाई टेलिफोनबाट चित्त बुझाएर आपूmले जिल्लाबासीको उत्साहमा कमी हुन दिन नहुने कुरा बताई सबैबाट सहयोग र समर्थन पाएको गर्वको अनुभूति गरेको छु ।

सिडिओलाई पखाला चलेछ :
पखाला लाग्ने रोगका बारेमा अछामका दुईवटा संझना छ । हरेक वर्ष अछाममा झाडा पखालाले महामारीको रुप लिने रहेछ । म प्रजिअ भएका बखत डा. श्रीकृष्ण गिरीलाई साथमा लिएर गाउ गाउमा गएर उपचारको प्रबन्ध गरे । केन्द्रबाट औषधि पनि मगाए । यसरी जनतालाई संक्रमणबाट बचाउन सकेकोमा अहिले पनि सन्तोष लागेको छ ।

अर्को घटना रोचक छ । भरत बहादुर स्वार, जिल्ला सभापति हुनुहुन्थ्यो । उहांले हरेक कार्यक्रममा मलाई छुटाउनु हुदैनथ्यो । एकपटक, जिल्ला समन्वय समितिमा परिषदको बैठक हो कि के हो, बिर्सिए, लगातार र दिनभरि ३/४ दिन बैठक भयो । स्थानीय जनप्रतिनिधिहरु अनेक विषयमा गर्मागर्मी छलफल गर्नु हुन्थ्यो मेरो भूमिका ठूलो थिएन । सुनेर बस्थे ।

एकदुई घण्टापछि मनमा चिन्ता लाग्थ्यो । नागरिकता लिनेहरु मलाई कुरेर बसेका होलान् ? तव, म सभापतिसंग शौचालय जाने अनुमति लिएर सभाहलबाट बाहिरिन्थ्ये र जिल्ला प्रशासन कार्यालय पुग्थ्ये । सिडिओ बिना रोकिएका सबै काम सकेर पुनः बैठकमा सहभागी हुन्थ्ये । यसरी ३।४ दिनको बैठकका प्रत्येक दिन २।३ पटक लामो लामो समय म बैठकबाट हराउथे । यसबाट जनप्रतिनिधि बीच हल्ला चलेछ, सिडिओ सापलाई पखाला चलेको छ ।

पछि सत्य कुरा सभापति भरत बहादुर स्वारले थाहा पाउनु भयो । उहांसधै यस्ता असल सिडिओ, जो जनता कुरीरहेका छन् भनी पटक पटक बैठक छोडेर पनि काम गर्दछन् भनी मेरो प्रशांसा गर्नु हुन्थ्यो । यसरी अछामी जनतालाई सेवा गर्न पाएको गर्ब लागिरहेको छ ।

अछाम दर्पणका सिडिओ :
मेले अछाम बारे जानकारी दिने पुस्तकको खोजी गरे पाउन सकिन । जस्को कारण अछाम बारे जानकारी दिने अछाम दर्पण तयार गरे । सानो पर्चा पम्पलेट जस्तो ढाचामा मुद्रित अछाम दर्पण कर्मचारी कल्याण कोष, अछामको नाममा प्रकाशित भयो । यस्को मूल्य दश रुपैंया राखिएको थियो । सो पुस्तिकाका प्रमुख अंश निम्नानुसार रहेको छ :

१. २०१८ साल बैशाख १ गते पूर्ब, नेपालमा ३७ जिल्ला थिए । सो बैशाख १ गते घोषणा भएका७५ जिल्ला मध्ये अछाम नयां जिल्ला हो । साबिकमा अछामको भूभाग दैलेख र डोटीभित्र पर्दथ्यो । आजभन्दा धेरैवर्ष अघि नाम चलेका डोटेली बाहुन गोपाल खटिवडा (भटृ) का नाति देबेन्द्र खतिवडाले जुम्लाका राजा अशोक मल्लकी छोरी हरमता मैयांसंग प्रेम बिबाह गरी राज्य र पछि उनका छोराले शाह उपाधि समेत पाई अच्चम भएकोले यस क्षेत्रको नाम बिस्तारै अपभ्रम्स हुदै गई अछाम रहन गएको जनश्रुति छ ।

२. अछामी राजाको राजधानी क्वालेक, वान्नेगढी आदि स्थान हुदै अन्त्यमा मंगलसेनमा रहेको हो । २०१८ सालमा अछाम जिल्लाको सदरमुकाम रिडिकोटमा कायम भएकोमा २०२८ सालदेखि मंगलसेनमा रहि आएको छ । यस जिल्लाको कूल क्षेत्रफल १,६९२ वर्ग कि.मि. छ ।

३. यस जिल्लाका मुख्य नदीहरुः बुढीगंगा, कैलास, सेती र कर्णाली हुन् । फलफुलतर्फ यस जिल्लामा सुन्तला, कागती, निबुवा आदिको अत्याधिक उत्पादन हुन्छ । यस जिल्लाको वनमा बाघ, चितुवा, भालु, बनेल, मृग (कस्तुरी), स्याल, घोरल, खरायो,, दुम्सी आदि पाइन्छ ।यसैगरी मुख्यपंक्षीमा कालिज, वनकुखुरा, भंगेरा, डाफे, मुनाल, च्याखुरा, तित्रा, परेवा, सुंगा, हलेसो आदि पाईन्छ भने यस जिल्लाको मुख्य वनस्पतिमा साल, सिसौं, सल्ला, खयर, काफल, उत्तिस, लालिगुरास, मेल,भिमल, कुटमिरो, कोईराला, साज, आँप आदि रहेको छ ।

मापासे बिरोधी सिडिओ :
अछाममा म प्रजिअ हुँदा यो जिल्लालाई ड्राई जिल्ला अर्थात् मदिरामुक्त जिल्ला घोषणा गरिएको थियो । मदिराका विषयमा म कठोर थिए । मदिरा सेवक, उत्पादक र विक्रीकर्ताबाट जरिवानास्बरुप असुली भएको रु पांचलाख मंगलसेनको क्याम्पस संचालनार्थ दिएको थिए । एकपटक म साफे नेपालगंज हुँदै काठमाण्डौ जानु पर्ने भयो । नेपालगंज एयरपोर्टमा काठमाण्डौं जाने हवाई जहाज कुर्नुपर्दा भोक लाग्यो । एयरपोर्टकोआसपासमा रहेकोको एउटा रेष्टूरामा गएर चाउचाउ बनाई दिन अर्डर गरे । चाउचाउ पाक्दै थियो, सो रेष्टूरामा मदिरा विक्रीका लागि सिसीहरु राखेको देखे । मनले धत् भन्यो । केहि नबोली सो रेष्टूराबाट जुरुक्क उठेर अर्को रेष्टूरामा गएर चाउचाउको अर्डर गरेर खाएर हिडे ।  पछि म प्रधानमन्त्री कार्यालयको सचिब भएर जिल्लाहरुको अनुगमन गर्दा पहिल्यै मेरो खाना खाने ठाउ मदिराबिहिन हुनुपर्छ भनेर निर्देश गर्दथे । वर्तमान दिनमा म मदिरा बिरौधी भै थुप्रै लेख प्रकाशित भएका छन् । यस्को प्रेरणाको स्रोत अछाम हो । मेरो असल कार्यको प्रेरणाको स्रोत अछामप्रति श्रृणी छु ।

अछाम फर्किएका सिडिओ :
कर्मचारीतन्त्रमा आफु सरुवा भएर बाहिरिएको मन्त्रालय,बिभाग, कार्यालय वा जिल्ला पुनः फर्केर नजाने प्रचलन हुन्छ । तर, मेरा लागि जन्मस्थलो धादिंग र कर्मस्थलो अछाम भएकाले यस जिल्लामा फर्केर आउने उत्कट अभिलाषा रहने गरेको छ । तथापी सजिलै मौका नपर्ने रहेछ ।

यूनिसेफले नै हो जस्ता लाग्छ, अछामलाई खुल्ला दिशामुक्त जिल्ला घोषणा गर्न भव्य कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा तत्कालीन उपराष्ट्रपति परमानन्द झा प्रमुख अथिति रहनु भयो । मलाई पनि आयोजकले अतिथिकोरुपमा आमन्त्रण गर्नु भयो । हामी दुबैजना काठमाण्डौं नेपालगंज बुद्ध एयरमा गयौं । नेपालगंजबाट मंगलसेन हेलिकोप्टरमा गयौं । सो समारोहमा मैले लौं तपाईको सिडियो जिल्ला फर्कियो भन्ने सन्देश प्रबाह गर्ने बित्तिकै ठूलो जनसमुदायबाट मेरो अभिवादन गरियो । मैले अछामका बारेमा जे बोल्दा पनि प्रत्येक बाक्यमा गडगडावट ताली पाउथे । पछि उपराष्ट्रपति झाले नेपालगंज एयरपोर्टमा मलाई देखाउदै उहां सचिवसंग हिड्न नहुनेरहेछ । उहांका प्रत्येक भाषणका बूदामा ताली बजाउने र हाम्रा भाषणमा हल्ला हुने गर्दोरहेछ भनी टिप्पणी गर्नु भयो । यसरी आम अछामीले म प्रति प्रदर्शन गरेको अपार मान सम्मानका लागि उहांहरुप्रति आभारी छु ।

यसैगरी अछामको तुर्माखाँद स्थित बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र बिकास समिति र बास नेपालगन्जले संयुक्त रुपमा तुर्माखाँदमा निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरेको जानकारी दिदै अछामी युवा मेरा चिरपरिचत असल शासनअभियानका अभियन्ता नमस्कार शाहले मलाई जानकारी दिई आमन्त्रण गर्नु भयो । सो भव्य समारोहको मैले उद्घाटन गरे । नेपालगन्जबाट गएका करिब १ दर्जन चिकित्सक र स्वास्थ्यकर्मी रहेको टोलीलेदुई दिनको शिबिर संचालन गरी हजारौं जनतालाई सेवा दिईएको थियो । यस्तो दूरदराजमा पनि बिशेषज्ञ चिकित्सक र औषधिसहितको निशुल्क सेवा प्रदान गर्ने कार्य साहै सह्राहनीय ठानेको छु ।

सोहि भ्रमणको सन्दर्भमा हाम्रो टोली पहिला मंगलसेन पुगेको थियो । मंगलसेनमा रहेको प्रजिअ निवासमा उच्च सम्मानका साथ पाहूना भएर बसे । अर्कोदिन, त्यहां प्रजिअ सहित कार्यालय प्रमुख र स्थानीय नेता, बुद्धिजिबी, व्यापारी, समाजसेवी लगायतलाईसुशासन, सुचनाको हक लगायतका बिषयमा भव्य समारोहमा सम्बोधन गरेको संझनामा ताजै छ । त्यसैगरी मंगलशेनको ठुलासैनमा रहेको रेडियो रामारोशनले मलाई अछामी संस्कृति अनुसारको पगडी लगाईदिएर सम्मान गर्नुका साथै अछामी जनताका नाममा रेडियोबाट सन्देश दिना लगाएर मलाई लगाएको गुन म कहिल्यै भुल्नेछैन ।

फेरी नमस्कार शाहकै अगुवाईमा अर्कोपटक अछाम फर्किए । तुर्माखाँद गाउँपालिकामा युवा अध्यक्ष पुष्पराज शर्माको अति नै आत्मिय आतिथ्यतामा तहांपुगी गाउँपालिकाका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई पालिकको भूमिकाकोबिषयमा प्रशिक्षण दिए । सोहि बखत तुर्माखाँद गाउँपालिका रहेको श्री कालिकेश्वरी मा.बि.का बिद्यार्थी र शिक्षकका लागि बिशेष प्रबचन दिएको थिए । सो बखत तुर्माखादमा रहेको नमस्कार शाहको घर पुगें । उहांका बुवा, मुवासँग परिचय भयो । बुबा लोकेन्द्र बहादुर शाहसंग बिभिन्न बिषयमा साक्षात्कार भयो । श्री कालिकेश्वरी उच्च मा.बि. तुर्माखाँदका पुर्व प्राचार्य शाह वागेश्वरी धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र विकास समितिको अध्यक्ष समेत हुनुहुन्छ ।

उहाँले तुर्माखाँद गाउँपालिका वडा नं ५ नागपर्वत, नाडामा रहेको वागेश्वरी मन्दिरको पुर्ननिर्माण, व्यबस्थापन र समग्र विकासमा खेल्नु भएको भूमिकाबाट म निकै प्रभावित भएँ । । जस्को कारण मैले पनि उक्त मन्दिरका निर्माता स्वर्गिय भगवती शाहीको स्तम्भ राख्न रु ५० हजारको सहयोग गर्ने अबसर पाएँ । भविष्यमा मंगलसेनमा पनि सार्बजनिक हितका लागि कुनै एउटा काममा सहयोेग गर्ने सोच बनाएको छु । यस कामको जिम्मा पनि नमस्कार शाहलाई दिएको छु । हेरौं, अछाममा सेवा गर्ने अर्को मौका कहिले जुर्ला ?

तुर्माखाँदकै भ्रमणको दौरान कमलबजार नगरपालिकाका मेयर साहेबले पनि जनप्रतिनिधि र कर्मचारीलाई म बाट प्रशिक्षण दिने मौका दिनु भयो । साथै, विनायक नगरपालिकका मेयरले पनि बाटो कुरेरै स्वागत गर्नु भयो । आम जनसमुदायबाट पाएको स्वागत त बेग्लै छ । यसरी, अब अछामको अर्को पटकको भ्रमणका लागि आतुर भएर बसेको छु । हेरौं, अछामी माताले कहिले अर्को साईत जुराउनु हुन्छ । अछाम र अछामी जनताको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । – अशलशासनबाट साभार

जय अछाम, जय अछामी जनता ।

– पूर्ब प्रमुख जिल्ला अधिकारी, अछाम

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जन्मदिनको अवसरमा बैधनाथ बेदविश्रामका बटुकलाई शैक्षिक सामाग्री वितरण
उद्योगीहरुको महासंग्राम आजबाट, संक्रमितले पनि मतदान गर्न पाउने
रहेनन् फुटबल लिजेन्ड म्यारोडोना
२४ घण्टामा २८ कोरोना संक्रमितको मृ’त्यु, मृ’तकको संख्या १,३८९ पुग्यो