मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैँमा सावधानी कसरी अपनाउने

दसैँमा सावधानी कसरी अपनाउने

सुदूर आज

नेपालीका लागि दसैँ पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो

प्रत्येक वर्षको दसैँ नयाँ हुन्छ । परन्तु, अहिलेसम्म उत्साह, उमङ्ग र आनन्दपूर्वक मनाइने दसैँ यसपटक भने संयम, सावधानी र सचेततासाथ मनाउनु परेको छ । कोभिड—१९ को संक्रमण नियन्त्रित हुँदो हो वा नहुँदो हो त नेपालीले आफ्नो यो साझा चाड मन फुकाएर मनाउँथे । देवीको पूजा, बलि र टीका दसैँका प्रमुख धार्मिक र सांस्कृतिक गतिविधि हुन् । तर, नेपालमा दसैँ देवीको पूजा नगर्ने, बलि नदिने र टीका नलगाउनेहरूले पनि उत्तिकै रमाइलोसँग मनाउने गर्छन् । यसैले दसैँ धार्मिक भन्दा पनि नेपालीको मौलिक पहिचानसहितको सांस्कृतिक पर्व हो । संसारभर नेपाली जाति जहाँ पुगे पनि दसैँ आफ्नै शैलीमा जो मनाउँछन् ।

पारिवारिक पुनर्मिलन र स्नेह तथा सद्भावको पर्व हो दसैँ । यसैले वर्षभर घरबाहिर भएकाहरू पनि आआफ्ना परिवारसँगै दसैँ मनाउन फर्कने चलन छ । यस वर्ष भने घरबाहिर रहेकाहरू परिवार भएका ठाउँमा फर्कन निकै सोचविचार गर्नुपर्ने देखिएको छ । यो पक्कै पनि सुखद अवस्था होइन । घर फर्केर पनि छरछिमेकी, इष्टमित्र, साथीसँगातीसँग भेटघाट र रमाइलो गर्न निकै सावधान हुनुपर्ने स्थिति छ । कोही पनि आफ्नो परिवार वा समुदायमा कोभिड—१९ को संक्रमण फैलाउने कारक बन्न त पक्कै चाहँदैन । परीक्षण नगरिएकाहरू मात्र हैन परीक्षणमा संक्रमण मुक्त देखिएको व्यक्तिसमेत कुनै पनि क्षण संक्रमित र संक्रमणको वाहक हुनसक्छ । यसैले दसैँका अवसरमा परिवार र समुदायमा आफ्नो कारणबाट संक्रमण फैलन नदिन कसैले पनि हेलचेक्य्राइँ गर्नु हुँदैन ।

परिवारमा बालबालिका, बूढापाका र दीर्घरोगी हुनेहरूले थप सावधानी अपनाउनु उचित हुन्छ । मान्यजनको आशीर्वाद त सधैँ पाइएकै हुन्छ । यस वर्षको दसैँमा पनि पाइन्छ । फरक, यत्ति हो यस वर्ष धेरै नजिक गएर, भिडभाड गरेर टीका नथापौँ । सार्वजनिक यातायातमा लामो दूरीको यात्रा गर्नुपर्ने भए यो वर्षको दसैँ बसिरहेकै ठाउँमा मनाऊँ । सञ्चार प्रविधिमा भएको उन्नतिले दिएको सुविधा प्रयोग गरौँ । सके अनुहार हेर्नेगरी भिडिया कुराकानी गरौँ । भेट्न नपाएको तिर्सना कुराकानी गरेर मेटौँ । त्यति पनि भएन भने सम्झना गरौँ र शुभकामना दिऊँ । तर, जसरी पनि दसैँ मनाउने भनेर संक्रमणको वाहक नबनौ । परिवारमा सबै सकुशल रहनसके त दसैँ अर्को वर्ष उल्लासपूर्वक मनाउन पाइहालिन्छ । जानी नजानी संक्रमणको वाहक भएर पछुताउनु भन्दा त इष्टमित्र, साथीसँगाती र घरपरिवार सबैसँग घुममिल हुन अर्को वर्षसम्म पर्खनु नै बुद्धिमानी हुन्छ । उल्लास, उमङ्ग र आनन्दपूर्वक मनाउने गरेको दसैँ यसपटक संयम, सावधानी र सचेततासाथ मनाऊँ ।
विजया दशमी, २०७७ को शुभकामना