मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दशैको सातौं दिन : कालरात्रिको आराधना सहित फूलपाती भित्र्याइँदै

दशैको सातौं दिन : कालरात्रिको आराधना सहित फूलपाती भित्र्याइँदै


आश्विन शुक्ल षष्ठी शारदीय नवरात्रोत्सवको सातौं दिन हो। यस दिन दुर्गा भवानीका नौ शक्तिमध्ये कल्याणमयी देवी कालरात्रिको आराधना गरिन्छ।

पौराणिक मान्यताअनुसार ब्रह्माको एक दिन अर्थात् चौध मन्वन्तरको अवधि सकिएपछि ब्रह्माण्डमा महाप्रलय हुन्छ। त्यस बेला सबै प्राणी जगत्को संहार हुन्छ। सृष्टिको त्यो भयंकर रातलाई कालरात्रि भनिन्छ। त्यस रातकी अर्थात् संहारकी अधिष्ठात्री देवी हुनाले यिनलाई कालरात्रि भनेको देखिन्छ। दक्षयज्ञ विध्वंश गर्ने भद्रकाली यिनैको रूप मानिन्छ। 

नवदुर्गाकी सातौं शक्ति कालरात्रिको विग्रह भयानक मानिएको छ। यिनी कालो वर्णकी छिन्। शरीर तेल लगाएजस्तो टलक्क टल्कने कालो छ। यिनी लामालामा केश फिँजेकी, ठुलाठुला गोलाकार तीन आँखा भएकी लामो जिब्रो र ठुलाठुला दाँत भएकी घोररूपा छिन्। यिनका ओठ लाली लगाएजस्ता प्राकृतिक रूपमै राता छन्। यिनका आँखाबाट बिजुली चम्केजस्तो तेज निस्कन्छ। यिनी वस्त्रहीन छिन्। कतै बाघाम्बरले र कतै मुण्डमालाले यिनका अंग ढाकिएको वर्णन गरिन्छ। 

कालरात्रिले फलामका काँडेदार गहना लगाएकी छन्। यिनका श्वासमा नाक र मुखबाट आगाका भर्भराउँदा लप्का निस्किन्छन्। यिनी चतुर्भुजा देवी हुन्। यिनका दायाँ हातमा वरमुद्रा र अभयमुद्रा छन् भने बायाँ हातमा फलामको काँडेदार हतियार र खड्ग छन्। यिनको वाहन गधा हो। यिनी तमोगुण प्रधान देवी मानिएकी छिन्। 

आधाशक्ति जगज्जननीले आसुरी शक्तिलाई परास्त गर्नका लागि कालरात्रिको विग्रह धारण गरेकी हुन्। यिनको स्मरण मात्रले पनि दैत्य, दानव, भूत, प्रेत, पिचास आदि दानवी शक्ति भयभीत हुन्छन्। भक्तका लागि भने यिनी शुभफलदायिनी देवी हुन्। यिनले भक्तका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यजस्ता नकारात्मक प्रवृत्तिको नाश गरिदिन्छिन्। ग्रहबाधा, शत्रुबाधा, भूतप्रेत आदिको बाधाबाट आफ्ना उपासकलाई सधैं संरक्षण गर्ने भक्तवत्सला कालरात्रिको उपासनाबाट आत्मबल, अभय र आन्तरिक ऊर्जा प्राप्त हुन्छ।