मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानिय तहमा कोरोना खर्च मात्रै ११ करोड भन्दा बढी

अछामका स्थानिय तहमा कोरोना खर्च मात्रै ११ करोड भन्दा बढी


अछाम – जिल्लामा चार महिनामा कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ । संघ र प्रदेशबाट प्राप्त रकम समेत गरी स्थानीय तहलेयो अवधिमा ११ करोड २ लाख ७ सय ६३ रुपैयाँ खर्च गरेका छन् । यो खर्च चैतदेखि असार महिनासम्मको मात्र हो ।

अछाम जिल्लामा गत जेठमा पहिलो कोरोना संक्रमित देखिएका थिए । चौरपाटी गाउँपालिकाका भारतबाट आएका एकजना पुरुषमा जिल्लामै पहिलो पटक जेठ ९ गते कोरोना संक्रमण देखियो । उनलाई तत्काल जिल्ला अस्पतालको आईसोलेशनमा राखियो । दुई पटक पिसिआर परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि उनी घर फर्किए । आफुलाई कोरोना पोजेटिभ भएको सुन्दा सुरुमा निकै डर लागेको उनले बताए । उनले भने ‘कोरोना लागेको सुन्ने बित्तिकै निकै डराएँ । जिल्ला अस्पतालको आईसोलेशनमा बस्दा स्वास्थ्यकर्मीहरुले निकै हेरचाह गरे, त्यति बेला म एकजना मात्रसंक्रमित थिएँ । तर क्वारेन्टाईनमा बस्नेहरुले खानेपानी समेत पाएनन् ।’

कोरोना महामारीको कहरमा भारतबाट फर्किनेहरु ठुलो संख्यामा रोजगारी गुमाएर फर्किन्छन् भन्ने आंकलन् जनप्रतिनिधिहरुले पनि गरेका थिएनन् । जनप्रतिनिधिहरु ठुलो संख्यामा जिल्ला भित्रिएकाहरुको व्यवस्थापनले गर्दा पनि खर्च बढेको दाबी गर्छन् । चैत ११ गते पछि मात्रै १६ हजार भन्दा बढी जिल्ला भित्रिएर क्वारेन्टाईनमा बसेको स्वास्थ्य कार्यालयको तंथ्थाक छ । एकैपटक सोचे भन्दा बढी व्यक्तिहरु पालिकामा भित्रिएपछि स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा समेत निकै हम्मेहम्मे पर्याे । स्थानीय तहहरुले ठुलो रकम खर्च गरेपनि क्वारेन्टाइन स्थलमा खानेपानी, शौचालय जस्ता आधारभुत सेवाहरु समेत नहुँदा कैयौँ व्यक्ति क्वारेन्टाईनबाटै रातारात भागेर घर पुगेका घटना पनि बाहिरिएका थिए । ‘क्वारेन्टाइनमा बस्दा आफुले ठुलै अपराध गरेको जस्तो लाग्यो’ एक जना संक्रमितले भने, ‘पानी छैन, शौचालय छैन । भोक भोकै बस्दा समेत हेर्न कोहि पनि आएनन् । आईशोलेशनमा समेत उस्तै समस्या भयो ।’

पहँुच भएकाहरुले आफन्तलाई ल्याएर सिधै घरमा राखे तर कोरोनाले रोजगारी गुमाएर भारतबाट फर्किएकाहरुलाई पानी समेत नभएको क्वारेन्टाईनमा राखिएको साँफेबगर नगरपालिकाका उमेश कुँवरले बताए । उनले भने ‘कोरोनामा करोडाँै खर्च भएको छ, सुरुमा क्वारेन्टाईनमा कैदीलाई राखिए जस्तो गरियो, त्यसपछि व्यापक गुनासो आउन थालेपछि केहि व्यवस्थापन त भयो तर धेरै मानिसहरु क्वारेन्टाइनमै बिरामी हुने अवस्था आयो । कोरोनाका नाममा कति खर्च भयो भन्ने कुरा त्यहि पालिकाका नागरिकलाई नै थाहा छैन ।’

नगरपालिकामा भन्दा गाउँपालिकामा खर्च धेरै

अछामका ६ गाउँपालिका र ४ नगरपालिका मध्ये गाउँपालिकाले कोरोनाका नाममा बढी रकम खर्च गरेको देखिएको छ । प्रदेश सरकारबाट कोरोना संक्रमणपछि लकडाउनका बेला असहाय र विपन्न वर्गलाई राहत बितरणका लागि मात्रै दश स्थानीय तहलाई २ करोड २ लाख ९० हजार रकम प्राप्त भएको थियो ।

सबै भन्दा बढी ढकारी गाउँपालिकाले एक करोड ४८ लाख, ५८ हजार ३ सय ८९ रुपैँया खर्च गरेको छ । अन्य गाउँपालिकाहरु चौरपाटी गाउँपालिकाले एक करोड ४७ लाख ७९ हजार ३ सय ६५ रुपैयाँ, रामारोशन गाउँपालिकाले एक करोड ३२ लाख ७४ हजार ३० रुपैँया, बान्नीगढी जयगढ गाउँपालिकाले १ करोड ९ लाख ३४ हजार ३ सय ५ रुपँैया ९५ र तुर्माखाद गाउँपालिकाले १ करोड ६ लाख ६२ हजार २ सय १६ रुपैँया खर्च गरेका छन् । सबै भन्दा कम रकम खर्च गर्नेमा मेल्लेख गाउँपालिका रहेको छ, जसले ८६ लाख ४४ हजार १ सय ९२ रुपैया खर्च गरेको छ । त्यसैगरी मंगलसेन नगरपालिकाले ९४ लाख २४ हजार ५५ रुपँैया, साँफेबगर नगरपालिकाले ९३ लाख ४२ हजार ६ सय ८८ रुपैँया, पञ्चदेवल बिनायक नगरपालिकाले ९२ लाख ८६ हजार ७ सय ७१ रुपँैया र कमलबजार नगरपालिकाले ८८ लाख ८ हजार ३९ रुपैँया खर्च गरेका छन् ।

सबैभन्दा बढी खर्च गरेको ढकारी गाउँपालिकामा २ हजार ९५ जना नागरिक भारत तथा अन्य जिल्लाबाट भित्रिएर क्वारेन्टाइनमा बसेका थिए । यस पालिकाकाले ८ सय ८४ घरधुरीलाई राहत वितरणमा १६ लाख रुपैँया खर्च गरेको छ । भारत तथा देश भित्र रहेका ब्यक्तिहरुलाई ल्याए बापत गाडी भाडामा मात्रै ५ लाख ९३ हजार ३ सय १० रुपैँया र मास्क तथा अन्य मेडिकल सामाग्री खरिदमा १९ लाख १४ हजार १ सय ८० रुपैँया खर्च भएको छ । त्यस्तै आईसोलेशन व्यवस्थापनमा ५ लाख, करिब २१ सय जनाका लागि ओढ्ने ओच्छ्याउने सहितको क्वारेन्टाईन व्यवस्थापन खर्च १४ लाख ८२ हजार रुपैँया लगायतको खर्च भएको गाउँपालिकाले जनाएको छ । कतिसम्म भने हेरालु खर्च, भान्छे खर्च, स्वयंसेवक खर्च समेतले गर्दा पालिकाको खर्च बढाएको देखिन्छ ।

यस्तै चौरपाटी गाउँपालिकाले १ करोड ४७ लाख ७९ हजार ३ सय ६५ रुपैँया खर्च गरेको छ । यो पालिकाले वडा अनुसारको खर्चको रेकर्ड समेत छुट्टाछुट्टै राखेको त छ तर प्रदेश सरकारबाट राहत वितरणका लागि प्राप्त २२ लाख ३० हजार रकम राहत बितरणै नगरेर क्वारेन्टाईनमै खर्च गरिएको छ । राहत बितरण गर्नुेपर्ने मापदण्ड अनुसारका गाउँपालिकामा मजदुरहरु कोहि नभएकाले राहत बितरण नगरेर क्वारेन्टाईन व्यवस्थापनमा खर्च गरिएको पालिकाको भनाइ छ ।

रामारोशन गाउँपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै करिब एक करोड ३२ लाख भन्दा बढी रकम खर्च गरेको छ । यहाँ पनि राहत वितरणदेखि बिजुलीको बिल, औषधी खरिददेखि क्वारेन्टाइन स्थल, आइसोलेसन स्थल निर्माणदेखि खानेपानीको पाइप खरिद समेतका शिर्षकहरुमा रकम खर्च भएको छ । यस पालिकामा संचारका लागि मात्रै करिब ५७ हजार रुपैँया खर्च भएको पालिकाको रेकर्डमा देखिन्छ ।

बान्नीगढी जयगढ गाउँपालिकाले १ करोड ९ लाख ३४ हजार ३ सय ५ रुपैया ९५ खर्च गरेको छ । यो पालिकाले प्रदेश र संघीय सरकारबाट समेत प्राप्त ३६ लाख रुपैँया समेत गरी उक्त बजेट कोरोनामा खर्च गरेको हो । पालिकाको रेकर्ड हेर्दा क्वारेन्टाइनमा पाईप खरिद गरिएको देखि खानेपानी ट्यांकी खरिदसम्म, पि फोम खरिददेखि फर्निचर खरिदसम्म र एम्बुलेन्सका लागि इन्धन खरिददेखि भाँडाबर्तन खरिद सम्मको शिर्षकमा रकम खर्च भएको देखिन्छ ।

यस्तै तुर्माखाद गाउँपालिकाले १ करोड ६ लाख ६२ हजार २ सय १६ खर्च गरेको छ । यो पालिकाले अन्य पालिकाले भन्दा फरक साबुन वितरणदेखि सन्देशमुलक सामग्री प्रसारणमा समेत रकम खर्चिएको पालिकाको रेकर्डमा देखिन्छ । मंगलसेन नगरपालिकाले भने ९४ लाख २४ हजार ५५ रुपैँया खर्च भएको रेकर्ड राखेको छ । यस पालिकामा अन्य पालिकामा भएजस्तै शिर्षकका अलावा आकश्मिक खर्च भनेर नखुलेको शिर्षकमा समेत ६ लाख ४१ हजार २ सय रुपैँया खर्च भएको पाइएको छ ।

साँफेबगर नगरपालिकाले ९३ लाख ४२ हजार ६ सय ८८ रुपैया खर्च गरेको रेकर्ड राख्दैगर्दा जनप्रतिनिधि र कर्मचारीको कोरोना विमा बापत २ लाख ५५ हजार रुपैँया देखि फर्निचर, कपडा र भाँडाकुँडा खरिदका लागि मात्रै २४ लाख ६४ हजार २ सय ४१ रुपैँया खर्च गरेको पाइएको छ ।पंञ्चदेवल बिनायक नगरपालिकाले ९२ लाख ८६ हजार ७ सय ७१ रुपैया खर्च गरेको छ । यो पालिकाले पनि अन्य पालिकाले जस्तै क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, इन्धन खरिद, साबुन वितरण जस्ता शिर्षकमै ठुलो रकम खर्चिएको छ । पञ्चदेवल नगरपालिकाले सन्देशमुलक सुचना प्रसारण र एसइइको लागि रेडियो कक्षाका लागि समेत करिब २ लाख रुपैँया यहि बजेटबाट खर्च गरेको छ ।

कमलबजार नगरपालिकाले ८८ लाख ८ हजार ३९ रुपैया खर्च गरेको छ । यस नगरपालिकाले ५६ जना स्वास्थ्यकर्मीका लागि जोखिम भत्ताबापत मात्रै ५६१९ लाख ७० हजार रुपैँया खर्च गरेको छ । सबैभन्दा ठुलो 犀利士 रकम क्वारेन्टाइनमा खानाका लागि ३७ लाख ५७ हजार रुपैँया र राहत वितरणका लागि २२ लाख ५७ हजार रुपैँया खर्च गरेको छ । मेल्लेख गाउँपालिकाले ८६ लाख ४४ हजार १ सय ९२ रुपँैया खर्च गरेको छ । गाउँपालिकाले ४ सय १७ घर परिवारलाई राहत वितरण गरेको यस पालिकाले सबैभन्दा धेरै रकम क्वारेन्टाइन व्यवस्थापनमा करिब ३६ लाख रुपैँया र स्वास्थ्य सामग्री खरिदमा २२ लाख ३९ हजार रुपैँया खर्च गरेको देखिन्छ ।