मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा एक हप्ता निषेधाज्ञा

पोखरामा एक हप्ता निषेधाज्ञा


पोखरा- पोखरामा आज (सोमबार) राति १२ बजेबाट १ हप्ता निषेधाज्ञा लागू हुने भएको छ। पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको बैठकले निषेधाज्ञाको निर्णय गरेको हो।

समुदायमा कोरोना संक्रमित भेटिन थालेपछि पोखरामा १ हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको समितिका एक सदस्यले जानकारी दिए। चाडपर्व आउँदै छन्। बढी भीड हुने भएकाले जोखिम झन् बढ्ने निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको ती सदस्यले बताए ।

निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहने छन् । त्यसबाहेक घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन्।

मूल समितिमा छलफल गर्नुअघि राजनीतिक दलसँग महानगरपालिकाले छलफल गरेको थियो। बैठकमा सहभागीले संक्रमण तीव्र फैलिरहेकाले १ हप्ता कडा निषेधाज्ञा गर्न सुझाव दिएका थिए ।पोखरामा आइतबारमात्रै २२ जनामा कोरोना पुष्टि भएको छ। शनिबार पनि १२ संक्रमित भेटिएका थिए।

पोखरामा सोमबार बिहानसम्म कोरोना संक्रमितको संख्या २०४ पुगेको छ । संक्रमितमध्ये १२५ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । लकडाउन खुलेयता पोखरामा कोरोना संक्रमितको दर निरन्तर उकालो लागिरहेको देखिन्छ। – नेपालसमय