मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीर्थयात्री र पर्यटकको पर्खाईमा बूढीनन्दा

तीर्थयात्री र पर्यटकको पर्खाईमा बूढीनन्दा


सबै तस्विर: सृष्टि रेग्मी, उपप्रमुख बूढीनन्दा नगरपालिका

बाजुरा: पन्ध्र हजार फिटको उचाइको पहाड। जहाँ साउन भदौमा पनि सेताम्य हिउँ देखिन्छ। १० महिना सेतो हिउँको घुम्टोले नै ढपक्क ढाक्ने गर्छ। पहाडै पहाडको शहर जस्तो देखिन्छ। थप शोभा बढाएको छ, तालहरुले। जहाँ दर्जनको सङ्ख्यामा सानाठूला तालहरु छन्। ती तालहरुको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवान्का लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरु स्वर्गकै सङ्ज्ञा दिन्छन्। 

जनविश्वास अनुसार यस स्थानमा बूढीनन्दा भगवतीले बास गर्छिन्।  देवीको प्रत्येक वर्षको जनैपूर्णिमाका अवसरमा वर्षको एकपटक पूजा हुन्छ। धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बूढीनन्दा क्षेत्रको महिमा उच्च भागमा रहेका तालहरुले दिएका छन्। उक्त क्षेत्रबाट बाजुराका अग्ला पहाडहरुसँगै मुगु, हुम्ला, कालीकोटसहितका जिल्लाको दृश्य नियाँल्न सकिन्छ भने बझाङमा रहेको साइपाल हिमाल र जेठीबैरानीको मनमोहक दृश्य हेर्न सकिन्छ। 

तालमध्ये राक्षस दहमा दर्शनार्थीले नजरसमेत लगाउनु हुँदैन भन्ने धार्मिक मान्यता छ। सोही मान्यताअनुसार ताल देखिए पनि दर्शनार्थीले नदेखे झैँ गर्ने गर्छन्। त्यो तालमा राक्षसले मात्र नुहाउने गरेकाले दृश्य पनि निकै कालो देखिने गरेको, बूढीनन्दा दर्शन गर्न गएकाहरुले बताउने गरेका छन्।

राक्षस दहको दृश्य देखेमा परिवारमा पीडा थपिने, देवी रिसाउने र मागेको वर नपाइने गरेको किंवदन्ती रहेको छ। मन्दिर नजीकै रहेको अर्को तालमा दर्शनार्थीले नुहाउने गर्छन्। उक्त दहमा नुहाएमा पापबाट मुक्त भइने र देवी खुशी भएर मागेको वर दिने भनाइ छ। तर, त्यसको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा भने कसैको ध्यान जान सकेको छैन। १५ हजार फिट उचाइमा देवीको मन्दिर छ। त्यो पनी परापूर्वकालमा पुर्खाहरुले ढुङ्गाले बनाएको छ। संरचना राम्रो नभए पनि स्थान प्रकृतिकै उपमा हो, त्यहाँ गएर फर्केका तीर्थालु रामबहादुर कार्की बताउँछन्। 

तिलिचोपछिको दोस्रो उचाइमा रहेका तालहरु बाजुराको बूढीनन्दामा पर्छन् तर पनि राज्यले भने त्यसको कुनै खोजी गरेको छैन, कार्कीले गुनासो गरे। बूढीनन्दाको प्रचारप्रसार नहुँदा थाह भएकाहरु मात्र दर्शनका लागि जाने गरेका छन्। बाजुरालगायत सुदूरपश्चिम र भारतको उत्तर प्रदेशबाट भक्तजन आए पनि प्रचारको कमी छ। 

भक्तजनले सन्तान र धन प्राप्तिका लागि बूढीनन्दा देवीको दर्शन गर्ने गरेका छन्। बडिमालिका देवीले नदिएको वर बूढीनन्दा देवीले दिने धार्मिक विश्वास स्थानीयवासीमा छ। निःसन्तानलाई सन्तान, दुःखीलाई सुख तथा अन्न धन प्राप्त हुने विश्वास छ। 

मार्तडीबाट कालाजग्रा पाण्डुसैन हुँदै कुरुखोला पुगिन्छ। कुरुखोलाको बासपछि धनभण्डार लेकमा पुगिन्छ । त्यहाँ ओढारमा बस हुन्छ र सदरमुकाम मार्तडीबाट तेस्रो दिन बूढीनन्दा पुगिन्छ। नेपालगञ्जबाट कोल्टी विमानस्थल हुँदै गएमा दुई दिनमा पनि पुगिन्छ। तर, धार्मिक मान्यताअनुसार तीन दिन लगाएर पुग्नुपर्ने हुन्छ। सधैँको समयमा सो क्षेत्र जान सकिँदैन। जेठदेखि असोजसम्म मात्र सो क्षेत्रमा जान सकिन्छ। मागेको कुरा पाइने, धन लाभ हुने र बाँझोपन भएका वा सन्तान नभएकाका लागि सन्तान प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। 

सो क्षेत्रमा हकदाबी कोल्टी क्षेत्र नुरी र कुरुखोला क्षेत्रका स्थानीयवासीको छ। उनीहरुले बूढीनन्दा क्षेत्रको वन क्षेत्रको उपयोग र सदुपयोग गर्ने गरेका छन्। बर्सादका चार  महिना तल्लो क्षेत्रमा भेँडाच्याग्रा चरिचरनका लागि छोडिन्छ भने हिउँ पग्लिएपछि जडीबुटीका लागि पनि स्थानीयवासी बूढीनन्दा पाटन जाने गरेका छन्।

आकर्षक पाटनहरु तथा ताल वरिपरि रहेका आकर्षक झर्नाहरुले त्यहाँ जाने जो कोहीको पनि मन लोभ्याउने गरेको छ। खाली खुट्टाले एक दिनको पैदल यात्रा गरे पनि खुट्टामा कुनै प्रकारको कठिनाइ नहुने विश्वास छ। सोही बमोजिम बूढीनन्दा यात्रामा जाने भक्तजनले खाली खुट्टा दर्शनका लागि मन्दिर पुग्ने गरेका छन्। दलित समुदायले जानु हुँदैन, अनिष्ट हुन्छ भन्ने कुमान्यता रहिआएको थियो, त्यो गएको तीन वर्षयता मात्र तोडिएको छ। 

बुहुमूल्य जडीबुटीको खानी तथा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको बसोबास क्षेत्र पनि सोही स्थानमा पर्छ। रङ्गीचङ्गी फूलको मनमोहक दृश्य हेर्न पाउनु भक्तजनका लागि अर्को सौभाग्य पनि हो। यो क्षेत्र मानसरोवर क्षेत्रसँग पनि जोडिएकाले धार्मिक विशेषता बढी रहेको बूढीनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मीको भनाइ छ।

सरकारी प्रयास शून्य 
बाजुराको बूढीनन्दा क्षेत्रमा सरकारी प्रयास भने केही भएको छैन। प्रकृतिको उपमा बूढीनन्दा धार्मिक तथा पर्यटकीय क्षेत्र राज्यको नजरबाहिर छ। त्यसको न त प्रचार हुन सकेको छ, न त संरक्षण नै। २०७० सालमा तत्कालीन नेकपा एमाले बूढीनन्दा यात्रा गरेको थियो। जुन समयदेखि मात्र दलित समुदायले प्रवेश पाएको थियो। त्यस अभियानपछि मात्र बूढीनन्दाले बढी महत्व पाएको हो। 

त्योबाहेक नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बाजुराले ब्रोसर प्रकाशन गरेर बूढीनन्दाको प्रचारप्रसार गरेको पत्रकार महासङ्घ बाजुरा शाखाका निर्वतमान सचिव कृष्ण ओलीले बताए। हुनुपर्ने जति प्रचार नहुँदा पनि बूढीनन्दाको सौन्दर्य र महिमाले चर्चा पाएको छैन। यो वर्षबाट बूढीनन्दा नगरपालिकाले केही प्रचारका गतिविधि गर्ने तयारी गरिएको बूढीनन्दा नगरपालिका–४ वडाध्यक्ष राजन रोकायाले बताए। पर्यटकीय सम्भावना बोकेको क्षेत्रको प्रवद्र्धन गर्न सके स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने देखिन्छ। जसका कारण स्वर्ग जस्तै बूढीनन्दा ओझेलमा छ। रासस