मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई प्रश्न ? अनशनकारी सँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ – कांग्रेस

प्रधानमन्त्रीलाई प्रश्न ? अनशनकारी सँग संवाद गर्न कुन साइत कुर्दै हुनुहुन्छ – कांग्रेस

सुदूर आज

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ भन्दै प्रश्न गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विभिन्न माग राखेर अनशनमा बसेको बीस दिन पूरा भईसक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद भएको बताएका छन्।

‘राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगतदेखि दल र सञ्चार माध्यमहरुले उठाउँदै आएका थिए,’ विज्ञप्तिमा भनिएको छ। सरकार स्वयम्ले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहे पनि सरकार संवेदनशील नभएको कांग्रेसको आरोप छ।

कोरोनाबाट नेपाल र नेपालीको रक्षा गर्न युद्धस्तरमा काम गर्न दबाबका लागि सडक प्रदर्शन र अनशनमा ओर्लनु पर्ने अवस्था आउनु सरकारका लागि लज्जास्पद घटना भएको प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले अनशनरत युवाहरूको भावनालाई अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गर्न र कोरोनाविरुद्धको संघर्षमा व्यापक बढेको चुनौती सामना गर्ने ढंगले नवीन रणनीति एवम् अपेक्षित गतिका साथ कार्य गर्न सरकार समक्ष माग र सार्वजनिक अपील गरेका छन्।

कोरोनाविरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुरुवातदेखिनै विभिन्न सुझाव र माग अघि सार्दै आएको छ। पर्याप्त स्वास्थ सामग्री व्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कारबाही, समुदायस्तरमा व्यापक पीसिआर परिक्षण, आरडीटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टिन व्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक व्यवस्था, विदेशमा अप्ठ्यारोमा परेकालाई निःशल्क उद्धार गर्न कांग्रेसले माग गर्दै आएको छ।

त्यस्तै सीमा नाकामा कडाइ, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू वक्तव्य, प्रत्यक्ष संवाद, संसदमा ध्यानाकर्षणदेखि स्वदेश–विदेशबाट एकसाथ ज्ञापनपत्र मार्फत् नेपाली कांग्रेसले निरन्तर सरकारसमक्ष प्रस्तुत गरेको छ।

तर जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको र परिणाममा सरकारविरुद्ध जनआक्रोश बढ्नु र प्रदर्शनहरु हुनु स्वभाविक भएको कांग्रेसले उल्लेख गरेको छ।