मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभापतिको दौडमा रहेका कांग्रेस नेता को कुन अवस्थामा ?

सभापतिको दौडमा रहेका कांग्रेस नेता को कुन अवस्थामा ?

सुदूर आज

काठमाडौं । मुलुकका प्रमुख दुई ठूला दलभित्र देखिएको नेतृत्व होडबाजीले अहिले नेपालमा कोरोना संक्रमण भुलाइदिएको छ । दैनिक भेला, बैठक, कोठेगफ सामान्य भैहाले । प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसमा आसन्न महाधिवेशनमा नेतृत्वमा पुग्ने होडमा अहिले दोस्रो पुस्ताका नेताहरु पनि त्यतिकै सक्रियरुपमा लागेका छन् ।

केन्द्रीय समितिको निर्णयअनुसार महाधिवेशन सम्पन्न भएमा फागुनमा कांग्रेसले नयाँ नेतृत्व पाउँछ । तर, फागुनमा महाधिवेशन हुने सम्भावना निकै कम छ । किनभने अझै पनि क्रियाशील सदस्यता र समायोजनको प्रमुख काम कांग्रेसमा सकिएको छैन । तर, कार्यालय खोल्नेदेखि लिएर जिल्लाजिल्लाका प्रतिनिधिलाई दैनिक फोन गर्ने काम भने जारी छ ।

कसको अवस्था के छ ?

कांग्रेसमा अहिले पनि देखिएको त स्पष्ट दुई गुट हो । एउटा गुटको नेतृत्व सभापति शेरबहादुर देउवाले गर्छन् भने अर्को गुटमा रामचन्द्र पौडेलदेखि नेतृत्वमा जान चाहेका नेताहरु पर्छन् जहाँ गुटभित्र पनि उपगुट बढी देखिन्छ । नेपाली कांग्रेसको वर्तमान अवस्था हेर्ने हो भने विगतदेखि चल्दै आएको ६० र ४० भागबन्डाकै अवस्था छ । अहिले ४० प्रतिशतको नेतृत्व वर्तमान सभापति शेरबहादुर देउवाले गर्छन् भने बाँकी ६० प्रतिशत उनका विरोधी छन् ।

सभापति देउवा गुटमा अहिले पनि उनलाई चुनौती दिने नेता निस्किएको छैन । भलै पछिल्लो समय उपसभापति विमलेन्द्र निधिले नेतृत्वको तयारी थालेको समाचार आउन थालेका छन् । निधिले देउवा विरोधी खेमामा रहेका नेताहरुसँग निरन्तर संवाद बढाएका छन् ।

देउवाका विश्वासपात्र र मुख्य सहयोगी नेताका रुपमा चिनिएका नेता निधि र देउवाबीच पछिल्लोसमय केही राजनीतिक विषयमा समेत मनमुटाव भएको कांग्रेस नेताहरुको बुझाइ छ । निधिले सरकारले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र नागरिकताका सवालमा फरक धारणा राखेको कांग्रेसकै नेताहरु बताउँछन् ।

उनका अनुसार अहिले कांग्रेस यसमा तटस्थ बस्नुपर्ने धारणा निधिले राखेका थिए ।   त्यसबाहेक नागरिकताका सवालमा पनि निधिको फरक धारणा थियो । एकजना कांग्रेस नेताको बुझाइमा देउवा र निधिको सम्बन्ध पहिलेको जस्तो छैन । त्यसैले पनि निधि अब आफू अहिले सभापति नभए कहिले हुने ? भनेर छलफलमा छन् । देउवाले निधिलाई उपसभापतिमै चुनाव लडाउने तयारी गरेका छन् ।

देउवाको समूहमा रहेका केही नेता भने निधिलाई सभापतिको उमेदवार बनाएर देउवा पत्नी आरजु राणालाई उपसभापतिको उमेदवार बनाउनुपर्ने पक्षमा छन् । त्यसो गर्दा देउवा पनि सहजै नेतृत्वको दौडबाट पछि हट्न सक्ने आकलन ती नेताहरुको छ । तर, सभापति देउवाको अहिलेसम्मको तयारी हेर्दा उनी कुनै पनि हालतमा नेतृत्व छाड्ने अवस्थामा देखिँनन् ।

जम्मा ४० प्रतिशत मतमात्रै रहेका देउवाले कसरी जित्लान् त ?

नेतृतवमा पुग्न ५१ प्रतिशत महाधिवेशन प्रतिनिधि अर्थात् मत आवश्यक पर्छ । यसैले ४० लाई कसरी ५१ पुर्‍याउनुपर्छ भन्ने ध्यानबाहेक देउवालाई अरु कुनै पनि मतलब देखिँदैन । कांग्रेसका एकजना नेताका अनुसार पार्टीभित्रको समीकरण मिलाउन, अर्को पक्षमा खेल्न देउवाजत्तिको सिपालु कांग्रेसमा अर्को कोही छैन ।

“अघिल्लो निर्वाचनमै हेर्नुस् न !,” उदाहरण दिँदै ती नेता भन्छन्, “अर्को गुटमा रहेका अर्जुननरसिंह केसीलाई ल्याएर महामन्त्रीको उमेदवार बनाइदिए । त्यो पनि उनकै ज्वाईँ गगन थापाको विरुद्धमा । त्यतिमात्रै होइन देउवाले आफू निकटका व्यक्तिहरुलाई महामन्त्रीमा शशांक कोइरालालाई मत दिन लगाए । यो नै देउवाको खुबी हो ।”

अहिले केसीले देउवालाई छाडिसकेका छन् । तर, देउवाले अन्तिम समयसम्म अर्को समूहमा रहेका एकजना प्रभावशाली नेतालाई जसरी पनि आफ्नो कित्तामा पार्ने प्रयास गर्नेछन् । अर्को समूहमा रहेका दुईजना नेताहरु यतिबेला देउवाको रोजाइमा हुनसक्छन् – ती हुन् महामन्त्री कोइराला र अर्का नेता गगन थापा ।

परन्तु, यी दुवैजना देउवागुटमा जाने सम्भावना निकै कम छ । शशांक जाने भए अघिल्लै महाधिवेशनमा जान्थे भने थापा देउवाको कार्यकालभर नेतृत्वको विरोध गर्नेमात्रै होइन अर्ली महाविधेशनको एजेन्डा चर्काउनेमध्येका एक नेता पनि हुन् । 

कोइरालालाई देउवा समूहमा लैजानका लागि कांग्रेसमा अहिले पनि एउटा समूह लागिपरेको छ ।  अन्तिम समयमा देउवाले विरोधी गुटका कोही न कोही प्रभावशाली नेता ल्याउन नसके उमेदवार नै तीन वा त्योभन्दा बढी हुने वातावरण तयार पार्न लाग्नेछन् । त्यस्तो अवस्थामा पहिलो चरणमा कसैको पनि बहुमत आउनेछैन अघिल्लो महाधिवेशनमा जस्तै । दोस्रो चरणमा जाँदा कम मत ल्याउनेलाई आफ्नो पोल्टामा पार्न सकिने आकलन नै देउवाको रणनीति हो ।

अर्कोतिर अहिले पछिल्ला उनका गतिविधि हेर्ने हो भने देउवा त्योभन्दा फरक लाइन र रणनीतिमा छन् । त्यो हो अर्को पार्टी छाडेर आउनेलाई फटाफट पार्टीमा स्थान दिने । ल्याउने बेलामा नै केन्द्रीय सदस्य र क्रियाशील सदस्यता दिने प्रतिवद्धता व्यक्त गरिदिने ।

क्रियाशील सदस्य अहिले नै भनेजति आफ्नो गुटमा वितरण गर्न सकियो भने भोलि तलैबाट आउने महाधिवेशन प्रतिनिधिले सभापतिमा चयन गर्नेछन् भन्नेमा देउवा विश्वस्त छन् । तलैबाट प्रतिनिधि ल्याउन सकियो भने सबै पदाधिकारी र केन्द्रीय सदस्य आफ्नै गुटका हुने रणनीतिमा देउवा छन् । तर, उनलाई पनि उपसभापति, महामन्त्रीलगायतका पदमा सही व्यक्ति सही ठाउँमा छनोट गर्न नसके गुट परिवर्तन गर्ने चेतावनी आफू निकटकै नेताहरुले दिइसकेका छन् । 

अर्कोतर्फको गुटमा हेर्ने हो भने उनीहरु रक्षात्मकमात्रै बनेका छन् । देउवाले गरेका गतिविधिमा विरोधमात्रै गर्ने तर रोक्न नसक्ने । देउवा विरोधी समूहलाई के कुरा राम्रोसँग थाहा छ भने अहिले देउवाको विरुद्धमा एकजनाभन्दा बढी उमेदवार भए कसैले पनि जित्ने अवस्था आउँदैन । तर, एकले अर्कालाई स्वीकार गर्न सक्ने अवस्था अहिलेसम्म छैन ।

यो कुरा सभापतिका एकजना आकांक्षी प्रकाशमान सिंहले पनि स्वीकार गरिसकेका छन् । “सभापतिको आकांक्षी म पनि हो,” सिंहले भनेका छन्, “तर अहिले कांग्रेस सभापतिकै कारण समस्या आएको हो । उहाँको विकल्प अब खोज्नैपर्छ । उहाँकाविरुद्धमा हामीमध्ये एकजनाले उमेदवारी दिनुपर्छ भनेका छौं ।”

आजको दिनसम्म उक्त गुटमा रहेका पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतका नेताहरु सभापतिको आकांक्षी हुन् । पौडेलले जसलाई आफ्नो गुटका नेता मानेका छन् उनै नेताहरु पौडेलको विकल्प आफैँ भएको भन्दै नेतृत्व तयारीमा छन् । पौडेलले यतिबेला सबैभन्दा बढी विश्वास गरेका नेताहरु हुन् – डा. रामशरण महत र अर्जुननरसिंह केसी ।

उनीहरुले अहिलेसम्म पौडेलको विकल्प नभएको भन्दै उनकै नेतृत्वमा सहमति जुटाउन लागिपरेका छन् । शशांक कोइराला आफैँ टिम बनाउन लागिपरेका छन् । उनले महाधिवेशन केन्द्रित कार्यालय पनि खोलिसकेका छन् । डा. मिनेन्द्र रिजालसहित युवा नेताहरुको साथ लिएर आफू अघि बढ्ने तयारीमा लागेको कोइरालाले आफूनिकटका नेताहरुलाई बताउँदै आएका छन् ।

कतिपय कांग्रेस नेताहरुले महामन्त्री हुँदा र संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बेलामा कोइरालाले नगरेको भन्दै आलोचना गरिरहेका छन् । कार्यकालको आधाभन्दा धेरै देउवालाई नै साथ दिएका कोइरालाले भनेको समयमा ‘पर्फर्मेन्स’ देखाउन सकेनन् । सभापतिका अर्का आकांक्षी हुन् – प्रकाशमान सिंह ।

उनी सभापतिमा शेखर र शशांकको चर्चा हुने तर आफ्नो किन नहुने भन्नेमा दृढ छन् । अघिल्लो निर्वाचनमा देउवासँगैको नेता रामचन्द्र पौडेल भएकाले आफूहरुले साथ दिएको बताउँदै अब महाधिवेशनमा आफू नेतृत्वको दौडमा रहेको स्पष्ट सन्देश दिएका छन् ।

उनले दैनिक भेटवार्ता पनि जारी राखेका छन् । उनले पौडेललाई पनि लगातार साथ दिँदै आएको हुनाले अब आफूलाई साथ दिनुपर्ने तर्क गर्छन् । गणेशमान सिंहको छोरा र देशव्यापी नेटवर्क भएका कारणले पनि देउवाको विरुद्धमा एक्लो उमेदवारी दिन सकिए चुनाव जित्न सहज भएको अनुमान पनि उनको छ ।

अर्का आकांक्षी हुन् – शेखर कोइराला । केन्द्रीय सदस्यमात्रै रहेका डा. कोइराला जिल्लामा सबैभन्दा बढी पुग्ने नेता हुन् । उनी केन्द्रीय समितिको यस अवधिमा सबैभन्दा बढी जिल्ला पुग्ने र कार्यकर्तासँग अन्तरक्रिया गर्ने नेताका रुपमा परिचित छन् । तर, उनी एक्लै हिँडिरहेका छन् । उनको अहिले सम्मको सफलता भनेको केन्द्रीय सदस्यबाट सिधै सभापतिको प्रतिस्पर्धी हुनु नै हो ।  उनको कमजोरीे शीर्ष र प्रभावशाली भनिएका नेताहरुलाई सँगसँगै हिडाउन नसक्नु हो । देउवासँग सीधै टक्कर लिने नेतामध्येका एक हुन् शेखर ।

कांग्रेसमा अघिल्लो महाधिवेशनका बेला उदाएको टिम अर्थात् तेस्रो धार भनेर चिनिएको कृष्णप्रसाद सिटौला नेतृत्वको समूह अहिले एकठाउँमा छैन सिटौलासँग रहेका नेताहरु नै उनलाई छाडि सकेका छन् । बेला बेलामा सिटौलाले गगन थापा, प्रदीप पौडललगायतका नेताहरुलाई बोलाएर छलफल नगर्ने होइनन् तर थापा र पौडेल सिटौलाबाहेक पनि आफ्नै तरिकाले पार्टीमा अघि बढेका छन् । यद्यपि, उनै सिटौलाले केहीदिनदेखि सम्पर्क कार्यालय खोलेर आगामी महाधिवेशनमा आफ्नो गुटबाट उमेदवार बन्ने संकेत गरेका छन् ।

उनले छलफललाई तिव्रता दिए पनि धेरैले अहिले सिटौला उमेदबार बन्ने कुरामा शंका नै रहेको बताउँछन् ।  सिटौला समूहमा रहेका गगन थापा अहिले सभापतिमा देउवाको विकल्पमा जसरी पनि एकजना नेता उभिनुपर्छ भन्नेमा छन् । त्यो रणनीतिमा लागेका छन् पनि । कुनै पनि टिममा बलियो उपस्थिति कायम भएन भने आफैंले नेतृत्व गरेर नयाँ समूह बनाउने रणनीतिमा पनि थापालगायतका नेता छन् जसमा पार्टीका केही युवा नेताहरुले साथ दिएका छन् । 

आफ्नो गुटसमेत कायम राख्न नसकेको आरोप सिटौलामाथि छ । उनलाई गुट चलाउने तर पार्टीमा प्रभाव जमाउन नसकेको आरोप छ । आफ्नो गुटमा रहेका नेता प्रदीप पौडेललाई समेत उनले संघमा टिकट दिलाउन सकेनन्, नेविसंघमा त केही भागबण्डा लिन सफल भए तर तरुण दलसहित विभागमा असफल देखिए । कहिले देउवासँगै त कहिले पौडेलसँगै रहने गरेको आरोप पनि उनलाई लागेको छ । – बारह्खरीबाट साभार