मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले सुरु गर्यो क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण

कांग्रेसले सुरु गर्यो क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण


काठमाडौं- आगामी फागुनमा हुने १४ औँ महाधिवेशनका लागि कोरोना महामारीकै बीच नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण र वितरणका काम सुरू गरेको छ। संघीय संरचनाअनुसार आन्तरिक समायोजन सकिएका ६५ जिल्लामा कांग्रेसले क्रियाशील सदस्यता फारम भर्न लगाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माले आन्तरिक समायोजन सकिएका ६५ जिल्लाका वडा तहमा क्रियाशील सदस्यताको कामअगाडि बढिसकेको जानकारी दिए। ‘बाँकी रहेका जिल्लामा समायोजनको काम छिटै टुंग्याएर क्रियाशील सदस्यताको काम पनि सुरु हुन्छ’ शर्माले भने, ‘समायोज सकिएका जिल्लामा आइतबारदेखि काम सुरु भैसकेको छ।’

कांग्रेसको १३ औँ महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए। उपसभापति विजयकुमार गच्छदारबाट समायोजन भई आएकाहरूलाई २५ हजार क्रियाशील सदस्यता दिने सहमतिअनुसार हाल क्रियाशील सदस्यता पाँच लाख पुगेको छ।

यसपटक कम्तिमा दुई लाख क्रियाशील सदस्य थपेर सात लाख पुर्याउने तयारी रहेको कांग्रेसले जनाएको छ। सोही तयारीअनुसार वडा तहमा फारम भर्ने काम भइरहेको छ। समायोजन नटुंगिएका जिल्ला भने सदस्यता फारम पुगेको छैन। कांग्रेसले जिल्ला कार्यसमितिलाई गत फागुनमा पत्र पठाएर क्रियाशील सदस्यता साबिकको संख्याको ५० प्रतिशतसम्म बढाउन सकिने निर्देशन दिएको थियो।

कांग्रेसको वडा तहमा कम्तिमा ४२ जना क्रियाशील सदस्य हुनुपर्ने नियम छ। कांग्रेसले साधारण र क्रियाशील सदस्यता गरी दुई प्रकारका सदस्यता वितरण गर्छ। क्रियाशील सदस्यमध्येबाट क्षेत्रीय प्रतिनिधि बनेकाहरू महाधिवेशन प्रतिनिधिका रूपमा महाधिवेशनका मतदाता हुन्छन्। उनीहरूकै मतका आधारमा सभापतिदेखि केन्द्रीय समिति चुनिन्छन्।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिका रूपमा आउने ४ हजार १२५ प्रतिनिधि र साबिकका केन्द्रीय सदस्य तथा पदाधिकारी महाधिवेशनका मतदाता हुने व्यवस्था छ। गत फागुनबाट क्रियाशील सदस्यता वितरण सुरू गर्ने तयारी गरेको कांग्रेसले कोरोनाका कारण पार्टीभित्रका सम्पूर्ण काम चार महिना रोकेको थियो।

सभापति देउवाको नियमित कार्यकाल गत फागुनमै सकिएको छ। देउवाले विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थपेर फागुन १९ सम्म म्याद बढाएका हुन्। कांग्रेसले नसकिएका जिल्ला कार्यसमितिले भने क्रियाशील सदस्यता फारम केन्द्रीय कार्यालयबाट पाएका छैनन्।

अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन्। क्रियाशील सदस्यको अन्तिम नामावली केन्द्रीय कार्यालयबाट तल्ला तहमा पठाएपछि मात्रै अधिवेशनका काम सुरु हुन्छ। तोकिएकै समयावधि फागुन ७ देखि महाधिवेशन गर्न पार्टीभित्र दबाब छ।

सभापति देउवाका पछिल्ला कदमप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह असन्तुष्ट छन्। देउवाले क्रियाशील सदस्यता वितरणमा समेत चलखेल गरेको आरोप पौडेल पक्षले लगाउँदै आएको छ। कांग्रेसमा हरेक महाधिवेशनका बेला क्रियाशील सदस्यता विवाद देखा पर्छ। – नेपाल समय