कला साहित्य / मनोरञ्जन

नेपाली साहित्यको इतिहासमा सर्वश्रेष्ठ पुरुष : लक्ष्मीप्रसाद देवकोटा

काठमाडौँ – साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ । नेपाली साहित्यको इतिहास हेर्दा हामीलाई त्यत्तिको प्रभावकारी र सर्वप्रिय रचनाहरू अरू जँच्तैन, जत्तिको भानुभक्त कविको नेपाली रामायण । धेरै यस रचनालाई हेला पनि गर्छन् तर उनीहरू सम्झँदैनन्– यो रचना आफ्नै हृदयको कति नजिक छ ।

हामीहरू ज्यादाजसो साहित्यलाई खाली शृङ्गार देख्तछौँ, शब्दलाई फा लगाएको, लाली चढाएको, आधुुनिकता निकालेको, अथवा कालीदासको झैँ उपमाहरूले झल्लरी–मल्लरी बनाएको एउटा रङ्गिलो आडम्बर, एउटा रसगोले माधुर्य, अथवा संस्कृतको आडम्बर, या खिचातानी चमत्कार । हामी ‘अलङ्कार चन्द्रोदय’ लाई साहित्य सम्झन चाहन्छौँ । हामी बौद्धिक र बोक्रे रुचि देखाउँछौँ । हामीहरू अनुप्राशलाई किताप भन्दछौँ र भड्कलाई आधुनिकता । हाम्रो माग रुग्णको रुचि जस्तो छ । निःसारमा हामी सार देख्तछौँ, हाम्रो बीसौँ शताब्दी ज्यादाजसो कृत्रिमतामै रमाउँछ । हामी मुटु चाहँदैनौँ, भुलभुलावटको जरुरत छैन, सच्चा हृदयको स्वदेशी सौन्दर्यको कदर गर्नसक्ने शक्तिको न्यूनता हामीहरूमा अरू सबै दोषभन्दा ज्यादा टड्कारो छ ।

म चाहन्छु हृदय । कविको छन्द भुलभुलावट होस्, न कि तगण र औँलागनाइ । प्रसिद्धिप्रेमको प्रेरणा मलाई निको लाग्दैन । म चाहन्छु हृदयको ऐँडी । कविलाई त्यहाँबाट लेख्न मन लागोस्, जहाँ मानव आँसुहरू प्राकृतिक भावमा पग्लिन्छन्, जहाँ सत्यको आमन्त्रण आत्मामा सुन्दरको ध्वनिमा स्पष्टीकृत हुन्छ । कवि बोलोस्–जसरी चराहरू बोल्दछन्, न कि जसरी वस्तादहरू कसरत गर्दछन्, हृदयले हृदयलाई बोलाओस् कवितामा, न कि आडम्बरलाई । सोझो–सच्चा– नङ्गा पहाडको महत्त्व होस् कवितामा, जसबाट नालाहरू आफसेआफ भुलभुलाउँदै उठ्तछन् । धेरैजसो यी कुरा भानुभक्तमा पाउँछु, त्यसैले मलाई यी सच्चा स्वदेशी कविहरूउपर जत्तिको श्रद्धा लाग्दछ, उत्तिको अरू कम पुरुषमा लाग्ला जस्तो लाग्दछ । उनले लेखे हृदयको प्रेरणाले र नेपाली हृदयमा प्रेरणा दिन । उनमा नेपाली साहित्यको उत्पत्ति स्वदेशी डोको र घाँससँग सम्बन्ध राख्तछ । भानुभक्तले ढुङ्गाको तकियामा सुतेर ब्युँझँदा फूलको हृदय भेट्टाए । घाँसीमा उनको परमेश्वर बोल्यो, सच्चा नेपाली हृदयलाई ब्युँझाइदियो, सुन्दरको देशमा बोलाएर लग्यो । कविले त्यस बेलामा हार्दिक अनुभूति जुन श्लोकमा उद्गार गरेका छन्, त्यसमा भाषा र भाव सत्य झल्किने क्षणहरूको आँसुनजिक आउँदछन् । भानुभक्तको आत्मालाई हृदयको देशमा धारा बनाउन मन लाग्यो । संसारका आतपम्लान यात्रीहरूका निमित्त एउटा पाटीको पौवाली हुन मन लाग्यो । जुन भावले अशोकले बाटामा वृक्ष रोपे होलान्, त्यही भावनाले सच्चा कविहरूलाई पैलो एँडी मिल्दछ । घाँसीको कथा हामी सबै नेपालीको हृदयमा गड्दछ अनि हामी प्राकृतिक प्रेरणाहरू र मानवहृदयका प्राथमिक आभासहरूको मुहानतिर फर्कन्छौँ ।

भानुभक्तले त्यस बेला रामायण लेख्ने विचार गरे, जुन बेला नेपाली भाषा नेपालीको ओठैमा मात्र रहन्थ्यो, जब त्यसमा निश्चित आकार र उद्देश्य थिएन, जब व्याकरण गर्भमा थियो, जब पढेका अहमानी पण्डितहरू भाषाको नामलाई नाक चेप्राएर नफरत गर्दथे, जब उनीहरूको मनमा ‘नेपाली साहित्य’ नामक शब्दयोजना नै उपहासजस्तो लाग्यो । त्यस बेला जनताको हृदयलाई पुराण भन्ने चलनमा सिवाय अरू भावुक पोषण लिने आश्रय थिएन । हामी लेखकका कठिनाइहरू ज्यादै कम अनुभव गर्न सक्तछौँ । तर सबै निर्माणकर्ताहरू अँधेरामा झल्का पाउँछन्, सुनसानमा आह्वान सुन्दछन्, गोधूलिमा सुन्दर मन्दिरमा यात्री बन्दछन् । मानवात्मालाई पोल्ने भावहरू सजिलैसँग पहाड चढ्दछन्, किनकि उनको हृदयलाई सुनौला चुलीले भेटिसक्यो । अँधेरीमा आकार कुँद्नलाई दिइएको थियो । नयाँ सपनाले उनी छिनु लिएर बसे, पूर्वको स्वर्ण–प्रभात मृदुमुख र झङ्कार लिँदै आयो । उनले पहाडको नीलो मसीले लेखे । लेख्नलाई आडम्बर भएन, तर प्रेम र श्रद्धाको यात्रा भयो भने नेपालको हृदयकेन्द्रतिर । भारतका शिशुकालका मीठा कथाहरू सत्यझैँ झल्किएर पहाडी छातीमा भुलभुलावट लिएर बाला–नाला झैंँ गुनगुनाए ।

भानुभक्तले रामायण लेखे । उनको आत्मवृत्ति भविष्यलाई धाई बनी, हामीलाई केटाकेटी बनाएर काखमा हल्लाएर कथा सुनाउनका लागि । रामचन्द्र जाग्नुभयो, फेरि वनवास जानुभयो, फेरि हामी रोयौँ, फेरि सीता हरिनुभयो, फेरि रावण मारियो । हामीले झोलुङ्गाको भाषामा नवरस चाख्यौँ । भारतको आत्मा अक्षरारम्भसँग खुल्यो । सच्चा पहाडी आत्माहरूको पढ्दा–पढ्दै कोही हनुमान् लागेर उठ्ने भए । अपठितले पनि आँसु र हृदयको रोमाञ्चसँगै नयाँ पाठशालामा प्रवेश गरे । नेपालीले आफ्ना पुरुखा चिने, श्रम र सत्यले छोइएर बराबर झल्किँदै उनका राम्रा क्षणमा सपना देख्न लागे । यहाँ केही थियो– जो अघि थिएन– केही खँदिलो प्राप्ति । धेरैका हृदय कवि भएर अनौठो छविमय छन्द र लयमा प्राचीनको स्पर्शले मुखरित हुन लागे । यहाँ एउटा बस्ती थियो– देवता र दिव्यताको भारतको रस निचोरिएको थियो । नेपालको बारीमा एउटा सानो कल्पदु्रम रोपियो, जहाँ हाम्रा सर्वोच्च भावना र कल्पनाहरू हामी फुलेका र फलेका पाउँथ्यौँ । डाँडाको छातीमा उनको भाषा टक्कराउन लाग्यो, नालाको लोलीसँग लोलिन लाग्यो । घर–घरमा नयाँ दीपावली बले र हामी आधुनिकतारुढ, कृत्रिमताभिभूत, यन्त्रयुगी, शून्यहृदयी, प्रश्नयुगी, वैज्ञानिक प्रवृत्तिपरिकीर्ण आडम्बरपण्डित, मण्डूकगणहरू यी उनको विशाल प्रदानमा महत्त्व दूूरातिक्रमण बुझ्नदेखि सदा टाढा छौँ ।

साहित्यमा सर्वश्रेष्ठ पुरुष त्यही हो, जो राष्ट्रको हृदयमा सबभन्दा तीव्र भएर बस्तछ । भानुभक्त सदाचारी मात्र होइनन्, नेपाली हृदयको श्रद्धालु थिए । हामीलाई उनै एउटा बूढो केटाकेटी जस्तो लाग्छ, जसमा तोतेबोलीको माधुर्य र हृदयको सरलता थियो । उनी संसारको कारागारमा रामायण लेख्थे, तर उनको आत्मा जेलबाहिर थियो । उनको माधुर्य सरलतामा छ– त्यो सरलता जो श्रद्धालु हृदयमा र बालकको विश्वासमा हुन्छ । उनको महत्त्व नै उनको सीधापन हो । उनी आडम्बरबाट त्यति टाढा थिए, जति एक धु्रवबाट अर्को धु्रव । उनी सच्चा ब्राह्मण थिए र उनलाई सब नेपालीको घरमा सत्कार छ । उनले जानेनन् उनी के गरिरहेथे, तर हामी जान्दछौँ– उनीले हाम्रा निमित्त के गरेर गए । उनको भाषा नेपालीको जिभ्रोनजिकै आउँछ, उनी व्याकरणबद्ध थिएनन्, उनको व्याकरण नैसर्गिक बुद्धिको नियम थियो, उनका छन्द हाम्रो जिभ्रोमा सजिलोसँग बग्दछन् । उनका झल्ला हाम्रा आँखामा सजिलोसँग खुल्दछन् । उनी हृदयलाई आह्वान गर्दछन् । एउटा अज्ञात मोहनी हामीलाई उनको पङ्तीतर्फ डाक्तछ । हामीलाई प्राचीनकालमा घुसेजस्तो लाग्दछ, जहाँ रामराज्य छ, जहाँ रामका प्रजा सत्यलाई नै जीवन भन्दछन् । मान्छे उनलाई अनुवाद तुल्याउँछन्, त हामी अनुवादन देख्तछौँ– पुराना ऋषिहरूका प्रतिध्वनि । उनी भाषा त्यहाँ लैजान्छन् जहाँ बालकहरू रमाउँछन्, जहाँ नेपाली निख्खरा हुन्छ, जहाँ जननीहरू पुराना कथा सुनाउँछन् । उनका क्लिष्टता छैन, न कृत्रिमता, उनी शब्द बटार्दैनन्, उद्धत दृष्टिकोणको प्रदर्शनी उनी जान्दै–जान्दैनथे, उनको कलम सजिलोसँग चल्दछ, कविता नेपाली पहाड नाघेर कहिल्यै उड्दैनन् । उनको भाषा नलेख्ने कविहरूको भाषाजस्तो छ । हामी भानुभक्त पढेर शिक्षा सुरु गर्दछौँ र उनलाई हेला गरेर समाप्त गर्ने गर्दछौँ, तर बुझ्नेहरू आफ्नो घरको बत्तीमा अर्कै मोहनी देख्तछन् ।

नेपाली साहित्यिक क्षेत्रमा अरू कसैको त्यत्तिको प्रभाव परेको छैन, न त जीवनमा । उनी अतुलनीय छन् । धेरैले समग्र नेपालीको हृत्केन्द्र छुन खोजे उनकै अनुकरणमा, तर सकेनन् । उनी एक्ला छन् । अरूमा ज्यादा विभिन्नता पाउन सकिन्छ–ज्यादा रङ, ज्यादा प्रश्न, ज्यादा शङ्का, तर उनी आफूजस्तै छन्– एकै किसिमका निर्मल । उनले सब समस्या सरल तवरले समाधान गरिसकेका छन् । उनको भविष्यलाई सन्देश यही छ– सत्यको श्रद्धा र नेपाली हृदयको समीपवर्तित्व नै कविको पहिलो पानी हो ।

उनी हाम्रा आदर्श छन् । मिल्टनलाई वर्ड्स्वर्थले बोलाएझैँ धरणीधर कोइरालाको आत्मासँग मिलेर हामीहरू आजकलको युगमा आह्वान गर्न चाहन्छौँ । उनी रामायणले मात्रै जाचिन्नन्, यद्यपि त्यही उनको सर्वोत्तम रचना हो । उनकै फुटकर कविताहरू आफैँ बोल्दछन् । तिनमा सरल माधुर्य र सहृदयताको चमत्कार पाइन्छ । तिनमा पाण्डित्यप्रदर्शनी छैन, लवजहरू दिललाई सोधीसोधी निस्कन्छन् । उनको ‘बालाजु’मा चातुरीको नर्तन छैन, खाली हृदयको भुलभुलावट–सानो शीतल स्वर्ग देखे, हावामा अमृत थियो, लहरा र फूल परीझैँ नाच्थे । चरा मोहनी बोल्थे । जत्ति देखे, उत्ति लेखे । स्वानुभवको आनन्द स्वतः उद्गारित हुन्छ । उनी आधुनिक कवि झैँ कवि हुन बालाजु गएका थिएनन्, तर बालाजुमा आइपुग्दा कवि बनेका थिए । त्यस ठाउँले उनलाई छोएको थियो । उनी एकछिन इन्द्र बने । अनि लेखिदिए । उनको ‘कान्तिपुरी’ मधुरताको सानो झिलिमिली खानी छ, तर त्यो झिलिमिली सत्यबाट निस्कन्छ, यथार्थ रूप धारण गरेर । हाम्रो राजधानी उनलाई कान्तिकी पुरीजस्तो लाग्यो, जस्तो कहिले–कहीँ हामीहरू बिहान बेलुका पहाडचुलीमा देख्छौँ । उनी नेपाली स्त्री–पुरुष देखेर हार्दिक प्रेमको कवितात्मक प्रशंसा लेख्तछन् ।

गुनकेशरी लाएका अप्सरा र राम्रा रमाइला बन्धुहरूले सुन्दर सानी अमरावती पृथ्वीमा खडा हुन्छिन् । हामी त्यो कविता पढ्नासाथ बुझ्दछौँ – कति सरलतासँग उनी कान्तिपुरीको हृदयनजिकै पुगे । आजकलका कविहरू पनि लेख्छन्– विशाल विस्तार र अलङ्कारसँग । कोही–कोही छानबिनको अलौकिक चातुरी चाहन्छन्, तर हृदयले पाएका झल्काहरू त्यसै सुन्दर छन्, सचेत रोजाइको जरुरतै छैन । 

कवितामा गहिराइ केही छैन जस्तो छ, तर नेपाली नालाहरूमा कसले सागरको गहिराइ देखेन । गहिराइ नखोज्नेहरूले खाल्टा बनाए । उनकी कविता सरल भएर झल्किन्छिन् । नेपाली पहाडमा उदाउने घाममा, गम्भीरताको मौन लिन चाहन्छन्, तर कलकल बोल्दछिन् । झल्किन्छ हामी भन्न सक्तैनौँ, तर त्यहाँ सत्य र सत्यको मोहनी छ । उनका धेरै फुटकर कविताहरू हामी पाउन्नौ, तर अर्को एउटा यो सम्झना आउँछ, जहाँ आँसु हास्तछ र बिन्तीपत्र लेख्तछ । मलाई उनी प्यारा छन्, मेरा निम्ति नेपाली साहित्यको इतिहासमा उनी सर्वश्रेष्ठ पुरुष छन् । – बारह्खरी

(महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्धसँग्रह’बाट ।) 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

लकडाउनमा जान विज्ञको सुझाव
कोरोना संक्रमितको संख्या २१ हजार नाघ्यो
बिहीबारदेखि ‘नेपाल आइडल–३’ पुनः सुरु हुँदै
कोरोनाले विश्वमा ६ लाख ८६ हजार बढेको ज्यान गयो