मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओझेलमा खप्तडको नैनी, एकपटक पुग्नै पर्ने पर्यटकीय ठाउँ (फोटो फिचर)

ओझेलमा खप्तडको नैनी, एकपटक पुग्नै पर्ने पर्यटकीय ठाउँ (फोटो फिचर)


नैनी क्षेत्रमा फूलेका फूल। तस्बिर : गीता कुँवर

अछाम : साँफेबगरबाट ३० किलोमिटर मोटर बाटो गुडेर फेरि ३ किलोमिटर पैदल हिँडेपछि नैनी पुगिन्छ । धार्मिक तथा पर्यटकीय स्थलको रुपमा परिचित नैनीलाई अझै सडकले छुन सकेको छैन । साँफेबगर नगरपालिका-१२ मा रहेको नैनीले अछामलगायत सुदूरपश्चिमका विभिन्न जिल्लालाई चिनाउने गर्दछ ।

गंगा दशहरा मेलामा खप्तड जाने श्रदालु भक्तजनहरु नैनीहुँदै पदमार्गबाट खप्तड जाने गर्दछन् । खप्तडको काखैमा रहेको नैनी एकदमै सुन्दर र मनमोहक छ। पूर्वतिर बडिमालिका मन्दिरको सुन्दर दृश्य, पश्चिममा धार्मिक तथा पर्यटकीयस्थल खप्तड रहेको छ । करिब ३ सय रोपनी क्षेत्रफल ओगटेको नैनीमा विभिन्न भगवानका शिला, मूर्ति तथा शालिक राखिएका छन् ।निर्माण गरिएका  हेलिप्याड र खेलमैदानले नैनीको थप सुन्दरता थपिदिएको छ।

स्थानीय सरकार गठन भएको ३ वर्ष पुगिसकेको छ। तर पनि नैनीमा सडक पुग्न सकेको छैन । खप्तड गाउँमा यसै वर्ष भर्खर सडक पुगेको छ । नैनीसम्म भने अझै सडक पुग्न सकेको छैन । 

सतीयुगमा भगवान शिवले आफ्नी पत्नी सतीदेवीलाई खप्तडबाट मालिका लैजाने क्रममा यस ठाउँमा बास बस्दा सतीदेवीको एक नेत्र (आँखा) यो ठाउँमा खस्दा उक्त ठाउँको नाम नेत्र रहेको भन्ने विश्वास छ । यही नामको अपभ्रन्सहुँदै अहिले यो ठाउँलाई नैनी भन्ने गरिन्छ । नैनी भन्ने वित्तिकै उज्जल रानाको नाम जोडिन आउँछ । नैनीलाई स्वर्ग बनाउन रानाको हात छ । २०६५ सालबाट रानाले आफ्नै लगानीमा यस ठाउँलाई  धार्मिक तथा पर्यटकीयस्थल बनाउन लागेका हुन् ।

आफ्नै लगानीमा डेढ करोडको लागतमा निमार्ण कार्य सुरु गरेको रानाले बताए । उनले भने, ‘धनगढीमा रहेको घर र जग्गा बिक्रीबाट आएको डेढ करोड रकमले काम सुरु गरे।यसका साथै पर्यटन बोर्डबाट २७ लाख प्राप्त भयो। स्थानीय तहबाट भने कुनै सहयोग पाएको छैन।अन्य ठाउँबाट आर्थिक जुटाउने काममा लागिपरेको छु।’
 
नैनीमा सानो घर छ । राना त्यही बस्ने गर्छन् । त्यहाँ गएका पर्यटकलाई नैनीको बारेमा उनी जानकारी गराउँछन्।अछाम, बाजुरा, डोटी र बझाङको संगमस्थलमा अवस्थित खप्तड पुग्न सबैभन्दा छोटो मार्गका रूपमा रहेको खप्तडको नैनीबाट पाटन पुग्न करिब चार घण्टा पैदल हिँड्नुपर्छ। 

खप्तड घुम्न जाने पर्यटकलाई खानबस्न सजिलो होस् भनेर खप्तडको तल्लो तुका गाउँमा होमस्टे सञ्चालनमा ल्याइएको थियो । ०७४ सालमा स्थापना गरिएको होमस्टे सडक नपुगेका कारण खाली छन् । पर्यटकलाई खान बस्न सजिलो होस् भनेर होमस्टे सञ्चालनमा ल्याइएको खप्तडका अध्यक्ष प्रकाश रानाले बताए।

भूकम्पप्रतिरोधी छुट्टै पाँच घर निर्माण गरेर यहाँका स्थानीयको जीविकोपार्जनका लागि होमस्टे सञ्चालनमा ल्याइए पनि सडकका कारण पर्यटक पुग्न सकेका छैनन्।