अन्तरवार्ता / विचार

बीपीकी सुशीला

  • जगत नेपाल

बीपी भन्ने गर्थे ‘‘मेरो सफलताको पछाडि परिवारको ठूलो सहयोग छ ।’’ कोइराला परिवारमा हरेक विहान हुने पारिवारिक जमघट र चिया सेसनमा बीपी भन्ने गर्थे ‘‘परिवारको सहयोग, समर्थन र नैतिक वल नपाएको भए म राजनीतिमा यसरी टिकी रहन सक्ने थिइन ।’’ यो प्रसंग सुनाउदै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसँगको अन्तवार्तामा भनेका छन् ‘‘सान्दाजुलाई सिंगो परिवारको हात थियो । उहाँ भन्नु हुन्थ्यो मेरो लागि सारा जनताले साथ दिए तर मानिसलाई सफलता पाउन परिवारको समर्थन सबै भन्दा महत्वपूर्ण हुन्छ । मैले त्यसको कमी कहिल्यै महसुस गर्नु परेन ।’’

बीपीलाई मुलुककै सर्वाधिक लोकप्रिय राजनेताका रुपमा स्थापित गराउन पत्नी सुशीला कोइरालाको सबैभन्दा बढी योगदान छ । प्रथम जननिर्वाचित प्रधानमन्त्रीकी पत्नी र तीन तीन प्रधानमन्त्री जन्माउने कोइराला परिवारकी बुहारी भएर पनि उनले न कहिल्यै राजनीतिमा चासो राखिन्, न कुनै प्रकारको हस्तक्षेप नै गरिन् । सुशीलाको जीवनकालमै जेठाजु मातृका, पति बीपी र देवर गिरिजाप्रसाद कोइराला मुलुकको प्रधानमन्त्री भए । तर पनि नृत्य पाठशाला खोल्ने उनको धोको पूरा भएन । विसं २०६२ ताका कान्तिपुर टेलिभिजनका लागि लेखकलाई दिएको एउटा अन्तर्वार्तामा सुशीलाले भनेकी थिइन् — ‘‘जीवनमा एउटा नृत्य पाठशाला खोल्ने धोको थियो । त्यति पनि गर्न सकिन ।’’

सुशीलाले राजनीतिमा हस्तक्षेप गरेको एउटै घटना छ । त्यो पनि नेपाली कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि बीपीलाई प्रधानमन्त्री हुन नदिन गरेको अनशन । कुनै पत्नीले आफ्ना पतिलाई प्रधानमन्त्री बन्न नदिन अनशन गरेको घटना नेपालमात्र होइन विश्व राजनीतिमै बिरलै होला । विसं २०१६ वैशाख दोस्रो साताको कुरा हो । नेपाली कांग्रेसको विजयले समस्त कार्यकर्ता उत्साहित थिए । मन्त्री बन्ने होडमा, सांसदहरुलाई नेताका ढोका चोटा धाउँदैमा फुर्सद थिएन । यस प्रसंगमा बीपी पुत्र प्रकाश कोइरालाले लेखकलाई सुनाएका छन् — ‘‘त्यो बेला म आठ कक्षमा पढ्दै थिएँ । हाम्रो घरमा एकाएक चहलपहल बढेर आयो । हिजोसम्म सामान्य देखिने  मानिसहरुको बोली र व्यवहारमा अचानक परिवर्तन आएको देखेर म छक्क थिएँ । अहिले आएर सोच्छु, त्यो त सत्ताको कमाल रहेछ । मन्त्री बनाइदिनुपर्‍यो भनेर मेरी हजुरआमा (दिव्या) को चाकडी गर्ने सांसदहरुको कमी थिएन ।’’

एकातिर पार्टीमा सत्ता र शक्तिको होडबाजी चलेकै थियो अर्कोतिर चुनाव परिणाम सार्वजनिक भएको तीन महिनासम्म पनि राजा महेन्द्रले सरकार बनाउन आमन्त्रण नगर्दा के हुने हो, कसो हुने हो भन्ने संशय । कुनै पनि दलको बहुमत आउँदैन भन्ने गुप्तचरको रिपोर्टमा भर परेर चुनाव गराएका राजा कांग्रेसको अपार सफलताबाट तर्सिएका थिए । पूर्वअनुमानविपरीत कांग्रेसले दुईतिहाइ बहुमत पाएकै दिनदेखि काठमाडाैंमा हल्ला सुरु भयो, राजाले आज सत्ता हातमा लिन्छन्, भोलि लिन्छन् । यो वातावरणले राजनीतिमा खासैै चासो नराख्ने बीपी पत्नी सुशीला एकदमै चिन्तित भइन् । 

त्यो बेलाको काठमाडौं वारे भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले २०१० बैशाख १५ गते राजा त्रिभुवनलाई लेखेका पत्रमा भनेका छन् — ‘‘काठमाडौं हल्लै हल्लाको सहर हो, जहा“ महिनौसम्म हल्ला चल्छन् । तर तिनको सत्यता के हो थाहा हुँदैन । विश्वसनीय सञ्चार माध्यमको अभावमा पनि त्यस्तो भएको हुन सक्छ ।’’ दिनहुँ हल्ला चल्थे, सनसनी फैलिन्थ्यो । फेरि एकएक हल्ला फैलियो राजा बीपी हैन, सुवर्ण प्रधानमन्त्री भएको हेर्न चाहन्छन् । त्यसैले सरकार बनाउन बीपीलाई आमन्त्रण नगरेका हुन् । कांग्रेसका नेता सुवर्णशमशेर राणा नेतृत्वको सरकारले चुनाव गराएको थियो । तीन तीन क्षेत्रमा जितेका राणा प्रधानमन्त्रीका स्वाभाविक दाबेदार थिए । त्यसमाथि पार्टीलाई विजयी बनाएकोमा सभापति बीपीलाई हैन, मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णलाई राजाले बधाई सन्देश पठाएका थिए । त्यसैले पनि राजा सुवर्णलाई नै प्रधानमन्त्री बनाउन चाहन्छन् भन्ने अर्थ लगाइएको थियो । 

सुवर्ण निकट कांग्रेसीहरु पनि उनैलाई प्रधानमन्त्री बनाउने लबिङमा थिए । ललिता निवास (सुवर्णको दरबार, हाल नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय बालुवाटार रहेको भवन)को गेटमा जर्नेल साहेब प्रधानमन्त्री हुने भनेर साइतको कलश राखिएको थियो । यस प्रसंगमा कांग्रेस संसदीय दलका सचिव अच्युतराज रेग्मीले सुनाए — ‘‘सुवर्णजीका नातेदारहरु भन्ने गर्थे, हाम्रै पैसाले चुनाव लडेर सबै कांग्रेसीले जितेका छन्, जरसाहेव नै हुनुपर्छ ।’’ उता पार्टीका अर्का नेता गणेशमान सिंह कुनै हालतमा सुवर्णलाई प्रधानमन्त्री बनाउन नहुने अडानमा थिए । सुवर्ण प्रधानमन्त्री हुनु भनेको राणा शासनकै निरन्तरता हो भन्ने उनको धारणा थियो । रेग्मीले लेखकलाई सुनाए ‘‘बीपीले दाबी छोडे सुवर्णविरुद्व आफूले उम्मेदवारी दिने घोषणा गणेशमानले गरिसकेका थिए ।’’ 

तिनताका नागपोखरीस्थित एउटा भाडाको घरमा बीपीसँगै डा. तुलसी गिरी र विश्वबन्धु थापा पनि परिवारकै सदस्य सरह बस्थे । कांग्रेसभित्र बीपीको नेतृत्वलाई चुनौती दिने कोही थिएन । तैपनी दरबार र शक्ति केन्द्र उनलाई प्रधानमन्त्रीका रुपमा हेर्न चाहँदैनन् भन्ने कुराले पत्नी सुशीला एकदमै चिन्तित थिइन् । सत्ताको विषयमा कांग्रेसमा कलह बढ्यो भने प्रजातन्त्र नै संकटमा पर्छ, अनि देश र जनताले दुःख पाउँछन् भन्ने डर उनमा थियो । त्यसैले बीपीलाई प्रधानमन्त्री नहुन उनले दबाब बढाई रहेकी थिइन् । यस प्रसंगमा पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीले लेखकलाई सुनाए — ‘‘एक दिन सुशीला भाउजुले भन्नुभयो पार्टीमा विवाद आउने गरी बीपी प्रधानमन्त्री बन्नु हुँदैन । तपाईहरुले सम्झाएर रोक्नुपर्छ ।’’ 

कांग्रेस महामन्त्री रहिसकेका राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापाले लेखकलाई सुनाए — ‘सुशीला भाउजुको अडानले सान्दाजु अप्ठेरोमा हुनुहुन्थ्यो ।’ पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने चाहना भए पनि राजा महेन्द्रको अवरोध र सुशीलाको दबाबले बीपी चेपुवामा थिए । कांग्रेसका तत्कालीन महामन्त्री श्रीभद्र शर्मा लेख्छन् — “बीपीले मसँग भन्नुभयो, साथी हो ! मलाई नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्ने अवसर दिनुपर्छ ।’’ 

ठीकविपरीत धारणा थियो सुशीलाको । यस प्रसंगमा विश्वबन्धु थापाले लेखकलाई सुनाए — “सुशीला भाउजु भन्नुहुन्थ्यो राजाले सुवर्णलाई चाहेका छन्, बीपीले छोडिदिनुपर्छ । नत्र फेरि राजनीति अस्थिर हुनसक्छ । पार्टीमा संकट आए त्यसले प्रजातन्त्रमाथि खतरा निम्त्याउन सक्छ । त्यसैले सुवर्णजीलाई प्रधानमन्त्री छोडेर, अभिभावकका रुपमा बीपीले पार्टी चलाउन उचित हुन्छ ।’’ 

सुशीलाले जति नै जोड गरे पनि पार्टीभित्र बीपी नै प्रधानमन्त्री हुनुपर्छ भन्ने बलियो जनमत थियो । अर्कोतिर सुवर्णलाई बनाउनुपर्छ भन्ने आवाज पनि थियो । यस्तो अवस्थामा सुशीला बीपीलाई प्रधानमन्त्री हुनबाट रोक्नै पर्ने निष्कर्षमा पुगिन् र आफ्नो माग पूरा गराउन निवासमै भोक हडताल सुरु गरिन । त्यसपछि बीपी र सुशीलाका बीचमा भएको वार्तालाप राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्वबन्धु थापाले लेखकलाई यसरी सुनाए —  

सुशीला : महात्मा गान्धी कहिल्यै प्रधानमन्त्री भएनन् । जयप्रकाश नारायण र राममनोहर लोहिया सत्ता राजनीतिका कारण नेता भएका होइनन् । त्यसैले तपाईँ पनि पार्टीको सभापति भएर बस्नुस्, सुवर्णजीलाई प्रधानमन्त्री हुन दिनुस् । बीपी :  के गरौँ सुशीला ! सारा कार्यकर्ता तपाइँबाहेक कसैलाई पनि प्रधानमन्त्री स्वीकार गर्दैनौ भन्दैछन् । सुशीला : सत्तामा जान अस्वीकार गर्नुभयो भने तपाईको उचाइ बढ्नेछ । जनताको सेवा गर्न सत्ताभन्दा अरु राम्रा माध्यमहरु छन् भन्ने सन्देश तपाईका सहकर्मी र कार्यकर्ताहरु जानेछ । त्यसभन्दा पनि तपाईँको कदमले सत्ताको होडबाजीमा रोक लगाउनेछ । बीपी : ठीक छ सुशीला, तिम्रो चित्त दुखाएर म कुनै निर्णय लिन्न । तिमी भन्छ्यौ भने म प्रधानमन्त्री हुन्न ।

अनी बीपीले सुशीलालाई सम्झाउने जिम्मा डा. तुलसी गिरी र विश्वबन्धु थापालाई दिए । विसं २०७० साल फागुनको एक दिन (पत्रकार जिवराम भण्डारीका साथ) बूढानिलकण्ठ स्थितमा निवासमा पूर्वप्रधानमन्त्री डा. गिरीले सुशीलाको अनशन प्रसंग बारे लेखकलाई सविस्तार सुनाएका थिए — 

डा. गिरी : “भाउजु !, तपार्इँले यो के गरेको ? सिङ्गो देश के सोचिरहेको छ भने नेपालको सारा समस्याको समाधान गर्ने व्यक्ति कोही छ भने विश्वेश्वरप्रसाद कोइरालामात्र छ । तर, तपाईं ‘उहा“ प्रधानमन्त्री हुनुहुन्न’ भन्नुहुन्छ । यो माग समयको गति विपरीत छ । तपाईँको यस्तो कुरामा कसले समर्थन गर्छ ? किन यस्तो गर्नुभएको ?” सुशीला : यत्रो संघर्षपछि बल्लबल्ल चुनाव भएको छ । अहिले पनि पार्टीमा सत्ताका लागि होड गर्ने हो भने राजनीतिक अस्थिरता हुन्छ । प्रजातन्त्र जान सक्छ । बीपी प्रधानमन्त्री नहुँदा के हुन्छ ? 

डा.गिरी र थापा दुवैले लेखकसँग भनेका छन् ‘‘हामीले धेरै सम्झाएपछि भाउजुले आफ्नो निर्णय सुनाउनु भयो । बीपी सर्वसम्मत भएमात्र प्रधानमन्त्री बन्न सक्नुहुन्छ संसदीय दलको चुनाव लडेर हैन । प्रधानमन्त्री भए पनि पहिलो एक वर्षका लागिमात्र । त्यसपछि सुवर्णलाई छाडिदिनुपर्छ ।” 
विश्ववन्धु थापाले सुनाए ‘‘सुशीला भाउजुलाई खुसी बनाउन सान्दाईले भन्नु भयो एक वर्षभित्र सरकार सञ्चालनको मार्गचित्र बनाएर सुवर्णजीको पक्षमा छोडिदिन्छु । अनि म पार्टी संगठन बनाउनतिर लाग्छु ।’’ 

त्यसपछि मात्र सुशीला अनशन तोड्न तयार भइन् । अनि २०१६ वैशाख २१ गते ललिता निवासमा कांग्रेस संसदीय दलको पहिलो बैठक बस्यो प्रतिनिधि सभामा विजयी एकमात्र महिला सदस्य द्वारिकादेवी ठकुरानीको अध्यक्षतामा । तिनताका बीपी, सुवर्ण, गणेशमान र सूर्यप्रसाद उपाध्याय कांग्रेसका चार शीर्ष नेता मानिन्थे । बैठक कक्षमा चारै नेताका तस्बिर एउटा टेबलमा लहरै राखिएका थिए । 

सुशीलाको सर्तका कारण विश्वबन्धु जसरी पनि बीपीलाई सर्वसम्मत नेता बनाउने अभियानमा जुटेका थिए । बैठकको प्रारम्भमै उनले भने ‘‘ल ल नेताहरुबीच सहमति हुनुप¥यो । तपाईहरु सल्लाह गरेर आउनुस् ।’’ विश्वबन्धुको कुरा सुनेर गणेशमान कराए — ‘‘हैन, विश्वबन्धु जी के कुरा गरेको ? बीपीबाहेक संसदीय दलको नेता हुने अरु को छ र ?” त्यो दिनको घटना गणेशमानले आफ्ना भतिजा डा. दुर्गेशमान सिंहलाई यसरी सुनाएका थिए — ‘‘बीपीसमेत त्यतिन्जेल राजाले आफूलाई सहयोग नगर्ने भएकाले सुवर्णलाई नै संसदीय दलको नेता बनाउनु पर्छ कि भन्ने दोधारमा हुनुहुन्थ्यो । टेबलमा राखिएका नेताहरुका तस्बिर देखाउँदै मैले जोडले भने बीपीको फोटो भए, भै हाल्यो नी । मेरो फोटा राखी राख्नुपर्छ र ? टेबलबाट आफ्नो तस्बिर उठाएँ । त्यसपछि सुवर्ण र सूर्यप्रसाद जीले पनि आआफ्नो फोटो निकाले । बीपी सर्वसम्मत भइहाल्नु भयो ।’’ 

यसरी बीपीका लागि पहिलो जननिर्वाचित प्रधानमन्त्री हुने बाटो खुल्यो । ‘फेरि सुन्दरीजल’ पुस्तकमा बीपीले सुशीलाको इच्छाविपरीत आफू पहिला गृह मन्त्री र पछि प्रधानमन्त्री बनेको उल्लेख गरेका छन् । बीपी जस्तो उच्चकोटीका राजनेताकी पत्नी  सुशीलाका लागि राजनीति सौताजस्तै थियो पतिलाई टाढा राख्ने । बीपी राजनीतिविना बाँच्नै नसक्ने । जीवनका हरेक पल उनले देश र जनताको हितका पक्षमा सोचेरै बिताए ।

अर्कोतिर सुशीला राजनीतिमा खासै चासो नराख्ने । त्यसैले दुवैको सम्बन्ध पतिपत्नी भन्दा पनि प्रेमीप्रेमिकाको जस्तो । चार दशक लामो दाम्पत्य जीवनमा एकदमै कम समय सुशीला बीपीको साथ बस्न पाइन् । भारतीय स्वतन्त्रता संग्रामका क्रममा तीन वर्ष भारतमा थुनिएका बीपीले राणा र पञ्चायतकालमा झन्डै दश वर्ष नेपालको जेलमा बिताए । अनि राजा महेन्द्रले २०१७ साल पुष १ गते निर्वाचित संसद् र सरकार भंग गरेपछि आठ वर्ष सुन्दरीजल बन्दीगृहमा बसे ।

त्यसपछिका आठ वर्ष भारत प्रवासमा । विसं २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि फेरि बन्दी भए । क्यान्सर पीडित बीपीको २०३९ साल साउन ६ गते निधन भइहाल्यो । त्यसैले त बीपीका घर आएका बखत विश्वबन्धु सुशीलालाई जिस्क्याउँदै भन्ने गर्थे — ‘‘भाउजु, दो दिन की चाँदनी फिर अँधेरी रात ।” – बारह्खरी

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बुद्ध जन्मभूमिबारे विवाद छैन : परराष्ट्र
नेकपा महासचिव पौडेल आइसोलेसनमा
देशभर साढे ६ हजार सक्रिय संक्रमित
नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२