मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के हो ब्रेन ट्युमर ? यस्ता हुन्छन् लक्षणहरु, जानी राखौँ

के हो ब्रेन ट्युमर ? यस्ता हुन्छन् लक्षणहरु, जानी राखौँ


ब्रेन भनेको मानव मस्तिष्क हो । साथै ट्युमर भनेको अंगमा अनावश्यक मासु पलाउनु हो । सामान्य भाषामा भन्दा मस्तिष्कमा अनावश्यक मासुको डल्लो पलाउनुलाई नै ब्रेन ट्युमर भनिन्छ । ब्रेन ट्युमरलाई हाम्रो समाजमा निकै भयावह रोगमा रुपमा लिइन्छ । यो मस्तिष्कमा लाग्ने रोग भएकाले पनि यसलाई आवश्यक्ता भन्दा भयावह रोगका रुपमा लिइएको हो ।

ब्रेन ट्यूमर एक गम्भीर समस्या हो । समयमै रोग पत्ता लागेर उपचार भएको खण्डमा यो रोग निको हुन्छ । उपचारमा भएको थोरै मात्र ढिलाइले ज्यानसमेत जानसक्छ । विशेषगरी, ब्रेन ट्युमर भएमा मस्तिष्कको एउटा कोषिका वा अन्य थुप्रै कोषिका असामान्य रुपले बढ्न थाल्छन्, जसका कारण अन्य कोषिका क्षतिग्रस्त हुन थाल्छन् ।

कुनै ब्रेन ट्युमर वंशाणुगत कारणले हुनसक्छ भने कुनै रेडियसनमा एक्सपोज हुनाले पनि हुनसक्छ । सुरुवाती अवस्थामै यसको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ ।

१. टाउको दुख्नु – टाउको दुख्नु ब्रेन ट्युमरको सबैभन्दा पहिला तथा सामान्य लक्षण हो । ब्रेन ट्युमर भएमा सुरु-सुरुमा टाउको दुख्ने समस्या बिहानको समयमा बढी हुने गर्छ र पछि लगातार हुने गर्छ । यस्तो दुखाइ कयौंपटक यति धेरै हुन्छ कि मानिसले आफ्नो मानसिक सन्तुलन नै गमाउन सक्छ । यदि तपाईलाई पनि लगातार टाउको दुख्छ भने एकपटक अवश्य चिकित्सकलाई जचाउनुस् ।

२. उल्टी आउनु तथा खान मन नलाग्नु -ब्रेन ट्युमरको अर्को लक्षण भनेको वान्ता हुनु हो । कहिलेकाहीँ टाउको दुख्नाले दिनभर केही खान मन लाग्दैन । टाउको दुख्ने समस्या झैं वान्ता हुने समस्या पनि सुरुसुरुमा विहानको समयमा धेरै हुने गर्छ । तर पछिपछि भएपछि यो समस्या बढ्दै जान्छ ।

३. शरीर असन्तुलित हुनु – ब्रेन ट्युमर भएमा अक्सर रिङ्गटा लाग्ने गर्छ । कहिलेकाहीँ धेरै रिङ्गटा लागेमा मानिस ढल्नेसमेत गर्छ । विशेषगरी ट्युमर सेरिबेलममा भएमा यसले शारीरिक सन्तुलनलाई प्रभावित पार्ने गर्छ, जसले गर्दा कयौंपटक हिँड्दा हिँड्दै शरीरको सन्तुलन विग्रेर मानिस ढल्ने गर्छ ।

४. मुर्छा पर्नु – ब्रेन ट्युमरका कारण जब कोषिकाले मस्तिष्कभित्र आफ्ना जालो विछ्याउन थाल्छ वा फैलिन थाल्छ तब यसले वरिपरिका कोषिकालाई समेत प्रभावित पार्ने गर्छ । जसका कारण विरामी बारम्बार मुर्छा पर्ने तथा बेहोश हुने गर्दछ ।

५. हात खुट्टामा ऐठन महसुस हुनु – ट्युमरको कोषिका जब प्याराइटल लोबमा हुन थाल्छ, तब मानिसको हात तथा खुट्टामा अचानक ऐठन हुन सुरु हुन्छ । उसलाई आफ्नो शरीरका सबै अंग निस्कृय हुन थालेको महसुस हुन्छ । यो प्यारालाइसिस हुनु पूर्वको अवस्था हो ।

६. प्यारालाइसिस महसुस हुनु – ब्रेन ट्युमरका कारण कयौंपटक मानिसको शरीरका विभिन्न अंगहरुबाट मस्तिष्कको कन्ट्रोल टुट्ने गर्छ । जसका कारण उसलाई ति अंगको संवेदनशीलता महसुस हुन सक्दैन । विरामीलाई प्यारालासिस वा पक्षघात भएजस्तो महसुस हुन्छ । यस्तो परिस्थितिमा हात तथा खुट्टाले काम गर्न बन्द गर्छ । यो स्थिति त्यतिबेला पैदा हुन्छ, जब मानिसको मस्तिष्कको प्याराइटल लोबमा ट्यूमर हुने गर्छ ।

७. बोल्नमा समस्या – मस्तिष्कले शरीरका हरेक अंगलाई नियन्त्रण गर्दछ । त्यसैले, ट्युमरको कोषिका जुनसुकै कोषिकाको सम्पर्कमा आएपनि त्यसले उक्त कोषिकालाई प्रभावित पार्ने गर्दछ । यसैगरी, जब यी कोषिका ट्यापोरल लोबमा प्रवेश गर्छन्, तब व्यक्तिलाई बोल्नमा समस्या हुन्छ । यही कारण व्यक्तिको आवाज हराउनुका साथै उनीहरुको मुखसमेत बाङ्गनिे गर्छ ।

८. स्वभावमा परिवर्तन – ब्रेन ट्युमरका कारण हाम्रो अंग तथा मानसिक अवस्थामा मात्र नभइ स्वभावसमेत प्रभावित हुने गर्छ । ट्युमर अगाडिको लोबमा पुगेमा त्यसले व्यक्तिको स्वभावमा समेत परिवर्तन ल्याउँछ । व्यक्तिले आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्दैन, जसका कारण उसमा चिडचिडापन तथा उदासी आउने गर्छ ।

९. सुन्नमा कठिनाइ – ब्रेन ट्यूमर जब व्यक्तिको ट्यापोरल लोबमा पुग्दछ, तब यसले बोल्नमा मात्र नभई सुन्नमासमेत समस्या उत्पन्न गराउँछ । कयौंपटक त कानको जाली पनि फाटे झैं महसुस हुन्छ ।

१०. कमजोरी महसुस हुनु – टाउको दुख्नुका साथै कमजोरी महसुस हुनथाल्छ । जब मस्तिष्कमा ट्युमर पलाउन थाल्छ, तब वरिपरिका कोषिका प्रभावित हुन थाल्छन् । जसका कारण टाउको दुख्नुका साथै सम्पूर्ण शरीर कमजोर भएको महसुस हुन थाल्छ ।

ब्रेन ट्यूमरको उपचार कसरी गरिन्छ ? – सबैभन्दा पहिला लक्षणको आधारमा सिटी स्क्यान,एमआरआई गरेर ब्रेन ट्युमर भए नभएको एवं कुन ग्रेडको छ यकीन गरिन्छ । ट्यूमरको सही उपचार भनेको शल्यक्रिया नै हो । तर केही ट्युमरको शल्यक्रिया नगरि पनि उपचार सम्भव हुन्छ ।

ब्रेन ट्यूमरबाट कसरी बच्ने ? मस्तिष्कका कुनै कोषको अनियन्त्रित वृद्धि भएर मासुको जस्तो डल्लो बन्दा ट्युमर हुने हुँदा यो यही नै सावधानी अपनाउँदा हुदैन् भन्ने हुदैन् । तर स्वस्थ वातवरणमा बस्ने ,विभिन्न प्रकारका रेडियसन,विकिरणहरुबाट जोगीने, मद्यपान,धुम्रपान नगर्नाले केही हदसम्म बच्न सकिन्छ । कुनै पनि लक्षण देखिएमा वा शंका लागेमा तुरन्त न्युरोलोजिष्ट (नशारोग विशेषज्ञ)कोमा परीक्षण गराउनुपर्छ ।

साबधान, बढी मोबाइल प्रयोगले ब्रेन ट्युमर हुनसक्छ । बच्चामा ब्रेन ट्युमर के हो ? चिकित्सा विज्ञानले अहिलेसम्म यसको ठ्याक्कै उत्तर खोज्न सकेको छैन । हालै भएको एउटा अनुसन्धानले बच्चाको कान नजिकैको मस्तिष्कमा क्यान्सरयुक्त ट्युमरको समस्या बढिरहेको छ । उक्त अनुसन्धानले अत्यधिक मोबाइल प्रयोगका कारण यस्तो समस्या देखिएको बताएको छ । चेन्नईका अपोलो प्रोटोन सेन्टरका चिकित्सक डा. राकेश जलालीले गरेको अनुसन्धानमा यस्तो देखिएको हो ।

डा. राकेशले बच्चालाई लामो समय मोबाइल प्रयोग गर्न नदिनका लागि सुझाब दिएका छन् । अहिलेको शोधले पनि त्यसलाई पुष्टि गरेको छ । उक्त अनुसन्धानले लामो समयसम्म मोबाइल प्रयोग गर्दा मस्तिष्कको क्यान्सर हुने सम्भावनालाई बढाउने निष्कर्ष निकालेको छ । यसरी लामो समय मोबाइलको प्रयोग गर्दा बच्चामा काननजिकै ट्युमरको खतरा बढेर जान्छ ।

६ देखि सात घन्टासम्म लगातार मोबाइलमा कुरा गर्दा ट्युमर हुन सक्छ । उनले भनेका छन्, ‘मोबाइलमा नेटवर्क कमजोर हुने समय मानिसले कानमा जोडसँग टस्साएर कुरा गर्छन् । जसलाई राम्रो मानिँदैन । यस्तो अवस्थामा रेडिएसन एक्सपोजरको खतरा बढ्दै जान्छ ।’
चिसो कपाल भएको अवस्थामा मोबाइलमा कुरा गर्नु हुँदैन ।

ब्रेन ट्युमरबाट वयस्क मानिस बढी पीडित हुन्छन् । बच्चामा हुने क्यान्सरको ब्रेन ट्युमर दोस्रो ठूलो कारण हो । तर, बच्चामा हुने ब्रेन ट्युमरको भने राम्रोसँग उपचार हुन्छ । धेरै मानिसमा ब्रेन ट्युमरबारे चेतनाको अभाव छ । यस्तो समस्या सुरुवाती चरणमा थाहा भएमा भने राम्रोसँग उपचार गर्न सकिन्छ । क्यान्सरपीडितमध्येका करिब दुई प्रतिशत मानिस ब्रेन ट्युमरबाट ग्रसित हुन्छन् । ब्रेन ट्युमरले बच्चाको आँखा देख्ने क्षमतामा ह्रास ल्याउँछ ।